ब्याट्रीमा अनरको एकपछि अर्को रेकर्ड, पावर बैंक बोक्नै नपर्ने गरी १४,००० एमएएचको फोन ल्याउँदै
असार ११, २०८३ ८:४८
काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताका लागि ब्याट्री चाँडै सकिने समस्या सधैं टाउको दुखाइको विषय बन्ने गरेको छ । तर, यो ब्याट्री एन्जाइटीलाई सदाका लागि अन्त्य गर्न चिनियाँ प्रविधि कम्पनी अनरले एउटा असाधारण कदम चाल्दैछ ।
हालै बाहिरिएका विभिन्न अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूका अनुसार, अनरले हालसम्मकै विशाल १४,००० एमएएच ब्याट्री क्षमता भएको स्मार्टफोन निर्माण गरिरहेको छ । चर्चित चिनियाँ टिपस्टर 'डिजिटल च्याट स्टेसन'ले विबोमार्फत यो जानकारी बाहिर ल्याएका हुन् । टिपस्टरले सोझै कम्पनीको नाम नलिए पनि अनरसँग जोडिने विशेष इमोजी प्रयोग गरेका थिए ।
गिज्मोचाइनाको रिपोर्टलाई आधार मान्दा यो नयाँ डिभाइस हाल न्यु प्रडक्ट इन्ट्रोडक्सन (NPI) अर्थात् नयाँ उत्पादनको प्रारम्भिक परीक्षण र प्रमाणीकरण चरणमा पुगिसकेको छ । यसको अर्थ यो फोन केवल कन्सेप्टमा मात्र सीमित नभई व्यावसायिक उत्पादनतर्फ अघि बढ्दैछ ।
यद्यपि, फोनएरिनाले यो प्रारम्भिक चरणमै रहेकाले बजारमा आउन अझै समय लाग्ने र लन्च हुने बेलासम्म यसका स्पेसिफिकेसनहरू परिवर्तन हुन सक्ने सम्भावना पनि औंल्याएको छ । यसअघि अनर पावर-३ (Power3) मा ११,००० देखि १२,००० एमएएच ब्याट्री हुने चर्चा थियो, सम्भवतः कम्पनीले त्यसैलाई अपग्रेड गरेर १४,००० एमएएच पुर्याएको हुन सक्ने विश्लेषण गरिएको छ ।
कति होला तौल ?
१४,००० एमएएच सुन्दा यो फोन निकै गह्रौं र इँटा जस्तै मोटो होला भन्ने लाग्न सक्छ । तर, गिज्मोचाइनाको रिपोर्टले यसको तौल करिब २२० ग्राम मात्र हुने दाबी गरेको छ । यति विशाल हार्डवेयर बोकेर पनि यो तौल हुनुलाई आश्चर्यजनक र बोक्न निकै सहज मानिएको छ ।
क्षमताको हिसाबले कुरा गर्दा, यो ब्याट्री एप्पलको आईफोन १७ प्रो म्याक्स र सामसङको ग्यालेक्सी एस-२६ अल्ट्रा जस्ता लिडिङ फ्ल्यागशिप फोनहरू भन्दा झन्डै तीन गुणा ठुलो हो ।
अनरको ब्याट्री रेकर्ड
अनरका लागि ठुला ब्याट्री भएका फोन ल्याउनु कुनै नयाँ कुरा होइन । कम्पनीले यो क्षेत्रमा आफूलाई पटक पटक प्रमाणित गरिसकेको छ ।
अनरले अप्रिल २०२५ मै ८,००० एमएएच ब्याट्रीसहित अनर पावर ल्याएर बजारमा नयाँ ट्रेन्ड सुरु गरेको थियो । यसै वर्ष कम्पनीले १०,००० एमएएचको थ्रेसहोल्ड पार गर्दै अनर विन टर्बो ल्याएको थियो । १०,००० एमएएच र एक्टिभ कुलिङ फ्यानसहितका अनर विन र विन आरटी पनि बजारमा आइसकेका छन् ।
हालै मात्र कम्पनीले ११,००० एमएएच ब्याट्री भएको अनर एक्स-८० प्रो म्याक्स चीनमा सार्वजनिक गरेको छ । जसमा स्न्यापड्रयागन ६ जेन ५ चिपसेट र १०,००० निट्स ब्राइटनेस भएको असाधारण डिस्प्ले रहेको छ । यो फोनले लगातार २६ घण्टाभन्दा बढी लाइभस्ट्रिमिङ गर्न सक्ने बताइएको छ । १४,००० एमएएचको अपग्रेडले यो ब्याकअप क्षमतालाई अझै धेरै पर पुर्याउने निश्चित छ ।
जसरी अनरले डिभाइसभित्रै उच्च घनत्वका ब्याट्री राख्न सफल भइरहेको छ, यसले भविष्यका स्मार्टफोनका लागि छुट्टै पावर बैंक बोक्नुपर्ने झन्झटबाट सदाका लागि मुक्त गर्ने निश्चित छ । यो फोन बजारमा कहिले आउँछ र यसले कुन सिरिजअन्तर्गत डेब्यु गर्छ भन्ने कुरा आउन बाँकी नै छ । तर यसले प्रविधि बजारमा भने ठुलै हलचल ल्याइदिएको छ ।
कहाँ छन् अन्य कम्पनी ?
चिनियाँ स्मार्टफोन निर्माताहरू ब्याट्री क्षमतामा आक्रामक रूपमा प्रस्तुत भइरहँदा अन्य ग्लोबल ब्रान्डहरू भने पछाडि परेका छन् । एप्पल, सामसङ र गुगल जस्ता कम्पनीहरू आफ्ना फ्ल्यागशिपमा भर्खर ५,००० एमएएचको हाराहारीमा अड्किएका छन् ।
अर्कोतर्फ, चीनकै भिभो र ओप्पोले पनि ब्याट्री क्षमता बढाइरहेका छन् । उदाहरणका लागि भिभो एक्स-३०० अल्ट्रामा ६,६०० एमएएच र ओप्पो फाइन्ड एक्स-९ प्रोमा ७,५०० एमएएच क्षमताको ब्याट्री छ ।
यद्यपि, एउटा महत्त्वपूर्ण पाटो के छ भने यस्ता विशाल ब्याट्री भएका चिनियाँ फोनहरू अमेरिकी वा युरोपेली बजारमा विरलै मात्र पुग्छन् । उदाहरणका लागि, अनरको म्याजिक ८ प्रो युरोपमा जाँदा यसको ब्याट्री घटाएर ६,२७० एमएएचमा मात्र सीमित गरिएको थियो । त्यसैले पश्चिमी बजारका प्रयोगकर्ताहरू अझै पनि सिलिकन-कार्बन प्रविधिका ठुला ब्याट्रीहरूको पर्खाइमै छन् ।
ब्याट्रीको दौडमा चीनको अर्को कम्पनी ह्वावे पनि धेरै पछाडि छैन । उनै टिपस्टरका अनुसार ह्वावेले पनि स्याटलाइट कम्युनिकेसन, अत्यन्तै ठुलो ब्याट्री र विशेष पावर सेभिङ मोड भएका नयाँ स्मार्टफोन विकास गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८३ ८:४८
