काठमाडौं । अपराध अनुसन्धानका क्रममा सङ्कलन हुने बढ्दो परिमाणका डिजिटल प्रमाणहरूको विश्लेषण र आवश्यक सूचना छान्न कानुन कार्यान्वयन गर्ने निकायहरूले एआई उपकरणहरूको प्रयोग बढाउँदै गएका छन् । अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको हत्या प्रयासको अनुसन्धान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको खुलेको छ ।
गत अप्रिलमा आयोजित 'ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर' मा भएको आक्रमणको अनुसन्धानमा एआईमा आधारित 'डिजिटल फरेन्सिक प्रविधि' को प्रयोग गरिएको एक्सिओसको रिपोर्टमा उल्लेख छ ।
उक्त घटनाको अनुसन्धानमा डिजिटल अनुसन्धान कम्पनी एक्सटेरोको एफटिके सुइट प्लेटफर्म प्रयोग गरिएको बताइएको छ । एक्सटेरोका अनुसार एफबीआईले आक्रमणपछि ४८ घण्टाभित्र प्रमाण सङ्कलन र विश्लेषण गर्न उक्त प्रणाली प्रयोग गरेको थियो । यद्यपि, एफबीआईले एआईलाई अनुसन्धानमा कसरी प्रयोग गर्यो भन्नेबारे एक्सटेरोले सार्वजनिक रूपमा जानकारी गराएको छैन ।
अमेरिकी न्याय विभागका अनुसार अनुसन्धानकर्ताले बरामद गरिएका मोबाइल र कम्प्युटर, क्लाउड तथा इमेल खाताहरू, यात्रा र वित्तीय अभिलेख, होटलका सीसीटीभी फुटेज तथा मेटाडाटा लगायतका डिजिटल प्रमाणहरूको अध्ययन गरेका थिए । एआई प्लेटफर्मले यी सबै प्रमाणलाई एउटै सुरक्षित प्रणालीमा व्यवस्थापन गरी अनुसन्धानकर्तालाई प्राकृतिक भाषामा प्रश्न सोधेर आवश्यक जानकारी छिटो खोज्न सहयोग पुर्याएको कम्पनीले जनाएको छ ।
एक्सटेरोका उत्पादन व्यवस्थापन उपाध्यक्ष हर्ष बेहलले एआई प्रणाली ग्राहककै सुरक्षित सर्भरमा सञ्चालन हुने र अनुसन्धानसम्बन्धी डेटा बाहिर नजाने बताए । "हाम्रा धेरै ग्राहकले इन्टरनेट वा क्लाउड प्रयोग गर्न सक्दैनन्, त्यसैले हाम्रो प्रणाली उनीहरूको आफ्नै पूर्वाधारमा सञ्चालन हुन्छ र डेटा बाहिर जाँदैन" उनले भने ।
उनका अनुसार कम्पनीले ग्राहकको डेटा प्रयोग गरेर आफ्ना एआई मोडेललाई प्रशिक्षण दिँदैन । अन्तिम निर्णय भने अनुसन्धानकर्ताले नै प्रमाणको समीक्षा गरेर लिने भएकाले एआई केवल सहयोगी उपकरणका रूपमा प्रयोग गरिएको हो । साथै, प्लेटफर्ममा डीपफेक सामग्री पहिचान गर्न सक्ने छुट्टै सुविधा पनि समावेश गरिएको छ।
ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा भएको आक्रमणमा क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस एलेन माथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास तथा अन्य हतियारसम्बन्धी अभियोग लगाइएको छ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८३ १४:५६
