शोभा पाठकलाई अश्लील गालीगलौज गरेको आरोपमा मङ्गल थापा विरुद्ध मुद्दा, हाल प्रहरीको फरार सूचीमा
असार १४, २०८३ १०:३१
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी शोभा पाठकलाई अश्लील गालीगलौज, अपमान र चरित्र हत्या गरेको आरोपमा मङ्गलबहादुर थापा विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेको हो ।
बझाङ जिल्लाको साविक गडारया-१ (हाल खप्तडछान्ना गाउँपालिका वडा नं. ७) स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक-७ बस्ने ३२ वर्षीय थापा आरोपित थापालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । जसका कारण उनलाई प्रहरीको फरार सूचीमा राखिएको छ ।
तर टेकपानाको सम्पर्कमा आएका थापाले भने उक्त अपराधको कार्य आफूले नभई आफ्नो फेक आईडीबाट भएको दाबी गरेका छन् । "बुबा बितेका कारण म घर गएको थिएँ । त्यसैले फरार सूचीमा राखिएको हुनसक्छ," उनले भने, "त्यो फेक आईडीबाट भएको कुरा हो । मैले निवेदन मार्फत त्यसको जानकारी अदालतलाई दिइसकेको छु ।"
प्रतिवादी थापाले Mangal Thapa नामक फेसबुक प्रोफाइलबाट पीडित महिलालाई मेसेन्जर मार्फत निरन्तर दुःख, हैरानी दिने र चरित्र हत्या गर्ने कार्य गरेको अभियोगपत्रमा उल्लेख छ ।
उक्त आईडीबाट पीडितलाई पठाएका मेसेजमा अत्यन्तै गम्भीर र अपमानजनक लाञ्छना लगाइएको छ । यसका साथै उक्त फेसबुक अकाउन्टबाट अत्यन्त तल्लो स्तरका अश्लील र छाडा शब्दहरू लेखेर मेसेज पठाएको तथ्य अदालतमा पेस गरिएको अभियोगपत्रमा खुलाइएको छ । यस्तो अमानवीय र अमर्यादित कार्यले गर्दा पीडितको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा आँच पुगेको र ठुलो मानसिक यातना भोग्नु परेको जाहेरीमा उल्लेख छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धान अनुसार, पीडितले उजुरीका साथ पेस गरेका मेसेन्जरका स्क्रिनशटहरूलाई प्रमुख दसी प्रमाणको रूपमा लिइएको छ । अनुसन्धानका क्रममा कसुरमा प्रयोग गरिएको मोबाइल नम्बर मङ्गल बहादुर थापाकै नाममा दर्ता रहेको आधिकारिक पुष्टि भएको छ ।
अभियोगपत्रमा प्रतिवादी थापालाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कडा कारबाहीको मागदाबी गरिएको छ । यो दफा अनुसार कम्प्युटर र इन्टरनेटको प्रयोग गरी महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अमर्यादित कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
यसका साथै, सोही ऐनको दफा ५८ (क) र दफा ७६ बमोजिम प्रतिवादीबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क समेत जम्मा गराउन अदालत समक्ष माग गरिएको छ ।
साइबर ब्युरोले अनुसन्धानका क्रममा प्रतिवादीलाई पक्राउ गर्न बझाङ र भक्तपुरका जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरे पनि थापा हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनी फरार रहेका कारण मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम फरार प्रतिवादीकै रूपमा कारबाही अगाडि बढाउन र कानुन बमोजिम सजाय गर्न अदालत समक्ष अभियोगपत्र पेस गरिएको हो ।
पछिल्लो अध्यावधिक: असार १४, २०८३ १०:४१
