close

निर्मला पन्त बलात्कार र हत्याबारे जथाभाबी फेसबुक र अनलाइनमा लेख्ने पत्रकार भण्डारी पक्राउ

टेकपाना टेकपाना

असार १८, २०८३ १०:४५

निर्मला पन्त बलात्कार र हत्याबारे जथाभाबी फेसबुक र अनलाइनमा लेख्ने पत्रकार भण्डारी पक्राउ

काठमाडौं । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा सामाजिक सञ्जाल र अनलाइन सञ्जार माध्यमको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा कञ्चनपुरका विवादित पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले पत्रकार भण्डारीलाई बिहीबार बिहान पक्राउ गरिएको जानकारी दिएको छ ।

उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो । यो घटना नेपालमा सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममार्फत गरिने चरित्रहत्या (डिजिटल गाली बेइज्जती) विरुद्धको कानुनी उपचारको सन्दर्भमा एक अत्यन्त महत्त्वपूर्ण नजिर समेत बनेको छ । पत्रकारिताको आवरणमा सामाजिक सञ्जालमा सम्प्रेषण गरिने सामग्री र त्यसको कानुनी दायराका विषयमा यस मुद्दाले बलियो कानुनी सिमाना कोरेको छ ।

उच्च अदालतको फैसलामा के छ ?

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशद्वय श्यामजी प्रधान र गोबिन्द जोशीको संयुक्त इजलासले गत २२ चैत २०८२ मा कञ्चनपुर जिल्ला अदालतको साविकको फैसलालाई केही उल्टी गर्दै भण्डारीलाई थप सजाय सुनाएको थियो ।

सुरुमा कञ्चनपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले १ जेठ २०८२ मा भण्डारीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६(१)(२) बमोजिम गाली बेइज्जतीको कसुरमा १ महिना कैद र १० हजार रुपैयाँ जरिबानाका साथै पीडित किरणराज विष्टलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

तर, उक्त फैसला चित्त नबुझेपछि दुवै पक्ष उच्च अदालत पुगेका थिए । उच्च अदालतले भण्डारीले फेसबुक जस्तो विद्युतीय माध्यम प्रयोग गरी बेइज्जती गरेको ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ३०७(१) को प्रतिबन्धात्मक वाक्यांश अनुसार थप सजाय गर्नुपर्ने फैसला गेको छ । उक्त बाध्यात्मक कानुनी व्यवस्था बमोजिम विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेमा थप सजाय हुने व्यवस्था छ ।

सोही आधारमा उच्च अदालतले भण्डारीलाई थप ७ दिन कैद र २,१०० रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । यससँगै उनले कूल १ महिना ७ दिन कैद, १२ हजार १०० रुपैयाँ जरिबाना र १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने कानुनी दायित्व सिर्जना भएको थियो, जसको कार्यान्वयनका लागि कञ्चनपुर प्रहरीले उनलाई अहिले पक्राउ गरेको हो ।

के थियो विवाद ?

कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा तत्कालीन जिल्ला प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टका १९ वर्षीय छोरा किरणराज विष्टलाई बिनाकुनै वस्तुनिष्ठ आधार र प्रमाण फेसबुक तथा अनलाइनमा जोडेर भण्डारीले शृङ्लाबद्ध चरित्रहत्या गरेका थिए ।

कञ्चनपुर प्रहरी प्रमुख रहेका बेला घटित घटनामा एसपी विष्टलाई विभागीय कारबाही भए पनि घटनासँग पूर्ण रूपमा असम्बन्धित रहेका उनका छोरा किरणराज विष्टलाई लक्षित गरी भण्डारीले आफ्नो फेसबुक वाल तथा आफू सम्पादक रहेको मानसखण्ड दैनिक र मानसखण्ड डटकमको फेसबुक पेजमार्फत निरन्तर अफवाह फैलाएका थिए ।

भण्डारीले आफ्नो फेसबुक आईडीबाट विभिन्न मितिमा सम्प्रेषण गरेका भ्रामक पोस्टहरू अदालतमा अकाट्य प्रमाणका रूपमा पेस गरिएका थिए । उनले फेसबुकमा लेखेका थिएः 'होटेल ओपेरामा भएको फोटो सुट र फेक वर्थडे पार्टीमा सामेल सबैलाई कडा अनुसन्धान गर्नुपर्ने', 'एसपी विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको DNA भिडाउन रगतको नमुना लिएको,' 'किरणले उच्चस्तरीय समितिलाई भनेछन् २०७५।४।१२ गते म कहाँ गए भन्ने थाहा छैन त्यो दिन होटल स्वीट ड्रिममा Talent Hunt थिएन र ?' "किरण यस्तो गल्ती गर्यो बाबु किन आफ्नो वर्थडे पार्टीलाई डिलिट गरेको फेसबुकबाट?'

पत्रकार भण्डारीले यस्ता तथ्यहीन, कोरा कल्पना र भ्रमपूर्ण स्टाटसहरू राखेर समाजलाई भड्काउने र पीडितलाई दोषीका रूपमा चित्रण गर्ने अनलाइन अभियान नै चलाएका थिए । आधिकारिक निकायबाट कुनै अनुसन्धान वा जाहेरी नै दर्ता नभएको अवस्थामा एउटा निर्दोष किशोरको मान प्रतिष्ठामा धक्का पुर्‍याउने नियतले यस्ता सामग्री सम्प्रेषण गर्नु प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता विपरीत भएको अदालतको ठहर छ ।

यो फैसलाले नेपालको अनलाइन पत्रकारिता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ठुलो पाठ सिकाएको छ । नेपालको संविधानको धारा १९ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्रत्याभूत गरे पनि त्यसको आडमा कसैको व्यक्तिगत इज्जत र मर्यादामा धक्का पुग्ने गरी अनर्गल प्रचार गर्न पाइँदैन ।

उच्च अदालतले आफ्नो फैसलाको व्याख्यामा स्पष्ट भनेको छ- "समाचार सत्यतामा आधारित हुनुपर्छ र कसैको चरित्र हत्या गर्ने नियतले हुनुहुँदैन । सामान्य रूपमा समाचारमा व्यक्त गरिएका कथन केवल सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्ने प्रयोजनसम्मका लागि हो तर कुनै व्यक्तिको इज्जतमा आँच आउने गरी हुँदै नभएको, प्रसङ्गविहीन, अतिशयोक्तिपूर्ण, कोरा कल्पनामा आधारित निकृष्ट अभिव्यक्ति दिने कार्य सधैँ र सबै अवस्थामा स्वीकार्य हुन सक्दैन ।"

पीडित किरणराज विष्टले अनलाइनबाट भएको चरित्रहत्याका कारण आफ्नो कलेज पढ्ने वातावरण बिग्रिएको, डेरा बस्ने ठाउँबाट निकालिनुपरेको र गम्भीर मानसिक तथा मनोवैज्ञानिक प्रताडना भोग्नुपरेको बकपत्र अदालतमा गराएका थिए ।

पछिल्लो अध्यावधिक: असार १८, २०८३ ११:१९