close

सरकारी प्रणालीमा कमजोरी देखाउने ह्याकरलाई सम्मान गर्न नेपालमा पहिलो पटक ‘हल अफ फेम’ सुरु

टेकपाना टेकपाना

असार १८, २०८३ १५:१७

सरकारी प्रणालीमा कमजोरी देखाउने ह्याकरलाई सम्मान गर्न नेपालमा पहिलो पटक ‘हल अफ फेम’ सुरु

काठमाडौं । सरकारले डिजिटल प्रणालीको सुरक्षालाई व्यवस्थित बनाउने उद्देश्यले पहिलो पटक सुरक्षा कमजोरी (भल्नरेबिलिटी) पत्ता लगाउने साइबर सुरक्षा अनुसन्धानकर्तालाई सम्मान गर्न ‘हल अफ फेम’ को सुरुवात गरेको छ ।

सरकारले ल्याउने तयारी गरेको ‘ह्वाट्सएप’ जस्तै भनिएको मेसेजिङ प्लेटफर्ममा विभिन्न सुरक्षा कमजोरी फेला परेपछि कमजोरीलाई जिम्मेवारीपूर्वक उजागर गर्नेलाई प्रोत्साहन गर्न यो पहल अघि बढाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २६ जुनदेखि सञ्चालनमा ल्याएको ‘डेभ्स नेपाल’ नामक प्लेटफर्ममा यो ‘हल अफ फेम’ को सुविधा थपिएको छ । यसअघि सरकारी प्रणालीका सुरक्षा कमजोरी पत्ता लाग्दा त्यसलाई औपचारिक रूपमा रिपोर्ट गर्ने वा रिपोर्ट गरेबापत अनुसन्धानकर्तालाई सम्मान गर्ने व्यवस्थित संयन्त्र नभएकाले यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।

यस प्लेटफर्म सञ्चालनका लागि गठित कार्यकारी परिषद्को अध्यक्षमा प्रधानमन्त्रीका सचिवालय सदस्य विवेक मिश्र रहेका छन् । परिषद्को सदस्यमा आदेश खड्का, महादेव खनाल र सन्दीप अर्याल रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी राम थापाले सम्हालेका छन् ।

यस प्लेटफर्ममा प्राविधिक प्रतिभा (ट्यालेन्ट्स)लाई समेट्न एउटा ‘ट्यालेन्ट’ अप्सन राखिएको छ जसमा हालसम्म ३९ जना डेभलपर आबद्ध भइसकेका छन् । त्यस्तै, प्रणालीका कमजोरी औंल्याएर ‘हल अफ फेम’ मा स्थान बनाउन सफल ४ जना साइबर सुरक्षा अनुसन्धानकर्ता (ह्वाइट ह्याकर) को सूची पनि सार्वजनिक गरिएको छ ।

यस सूचीमा ‘१३३७मिक्की’ (1337mickey) उपनाम रहेका साइबर सुरक्षा अनुसन्धानकर्ता सुशिल फुयाल अनुसन्धानकर्ता २० अङ्कका साथ पहिलो स्थानमा छन् भने ८ अङ्कका साथ माइरा खनाल दोस्रो र ४ अङ्क प्राप्त गरी तेस्रो स्थानमा एक अज्ञात साइबर सुरक्षा अनुसन्धानकर्ता रहेका छन् । 

यसैगरी ३ अङ्कका साथ ‘tukbdr1’ नामका प्रयोगकर्ता चौथो स्थानमा रहेका छन् । साइबर सुरक्षा अनुसन्धानकर्ताले यही ‘हल अफ फेम’ को पेजमार्फत सरकारी प्लेटफर्ममा फेला परेका सुरक्षा कमजोरी सिधै सरकारलाई रिपोर्ट गर्न सक्नेछन् ।

उक्त वेबसाइटमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सन्देश पनि समावेश गरिएको छ । उनले आफ्नो सन्देशमा नेपाल एआई, नवप्रवर्तन र प्रविधिको नेतृत्वमा नयाँ युगमा प्रवेश गर्दै गरेको उल्लेख गर्दै अब जनशक्ति मात्र निर्यात गर्ने देशका रूपमा नभई नेपालले विश्वमा प्रविधि, उत्पादन र विचार निर्यात गरोस् भन्ने चाहना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री शाहले भनेका छन्, “डेभ्स.नेपाल देशको डिजिटल भविष्यलाई आकार दिइरहेका निर्माता, नवप्रवर्तक र क्रियटरको एक राष्ट्रिय मञ्च हो । नेपाली युवाको प्रतिभा र क्षमता पहिले नै विश्वस्तरमा पुगिसकेको छ । अब, हामी सबै मिलेर नेपालबाटै विश्वका लागि निर्माण गर्नेछौँ ।”

यस प्लेटफर्ममा प्रयोगकर्ताका लागि ‘फिड’ को विकल्प पनि उपलब्ध गराइएको छ, जहाँ प्रमाणित सदस्यले विभिन्न जानकारी पोस्ट गर्न सक्छन् । सरकारी कार्यालयका लागि सूचना प्रविधिसम्बन्धी कुनै नयाँ अवधारणा वा आइडिया भएमा प्रयोगकर्ताले यसैमार्फत बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

साथै, प्रयोगकर्ताले यस प्लेटफर्ममा अकाउन्ट बनाई आबद्ध डेभलपरलाई फलो गर्न, उनीहरूका आइडियामा भोट गर्न र कमेन्ट गर्न समेत सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असार १८, २०८३ १५:४५