एनसेललाई गुणस्तर र वातावरणीय व्यवस्थापनका लागि आईएसओ ९००१ र १४००१ को मान्यता
जेठ १३, २०८३ १६:५१
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आईएसओ ९००१ र आईएसओ १४००१ अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणालीको एक विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता र नियामक निकायका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानले अपनाउनुपर्ने आवश्यक प्रक्रिया र गुणस्तर सुनिश्चित गर्दछ ।
त्यसैगरी, आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणालीको मापदण्ड निर्धारण गर्दछ । यसले संघ-संस्थालाई वातावरणप्रतिको जिम्मेवारी वहन गर्न, फोहरमैला व्यवस्थापन गर्न र विद्यमान वातावरणीय कानुनको प्रभावकारी पालना गर्न मार्गदर्शन गर्दछ ।
यी उपलब्धिबारे बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, “यसअघि डेटा सुरक्षा र गोपनीयताका लागि 'आईएसओ २७००१:२०२२' र 'आईएसओ २७७०१:२०१९' प्राप्त गरिसकेको अवस्थामा अब आईएसओ ९००१ र १४००१ को मान्यता पाउनु हाम्रा सेवाहरूको गुणस्तरप्रति अटुट प्रतिबद्धताको प्रमाण हो ।”
उनले अगाडि भने, “बिजनेस टु कन्ज्युमर, बिजनेस टु बिजनेस वा बिजनेस टु गभर्मेन्ट- हामीले प्रदान गर्ने जुनसुकै सेवा पनि विश्वव्यापी रूपमा मान्य मापदण्डअनुसार सञ्चालित छन् भन्ने कुरा यी प्रमाणीकरणले पुष्टि गरेका छन् ।”
एनसेलले पुस २०८१ मा आईएसओ २७००१:२०२२ (आईएसएमएस) र आईएसओ २७७०१:२०१९ (पीआईएमएस)को मान्यता प्राप्त गरेको थियो । उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १६:५१
