सङ्घीय मामिला मन्त्रालयको कर्मचारी आचारसंहिताः पिरमर्का सामाजिक सञ्जालमा होइन, सुपरिवेक्षकलाई
असार २४, २०८३ ११:५०
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता जारी गर्दै कर्मचारीहरूले आफ्नो गुनासो सामाजिक सञ्जालमा नभइ सुपरिवेक्षक समक्ष राख्नुपर्ने व्यवस्था गरेको छ । मंगलबार सार्वजनिक “मन्त्रालयका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३” मा उक्त व्यवस्था गरिएको हो ।
आचारसंहितामा भनिएको छ, “आफूलाई परेको पिरमर्का वा गुनासो आम सञ्चार माध्यम वा सामाजिक सञ्जालमा नराखी मन्त्रालयको सुपरिवेक्षक वा गुनासो सुनुवाइ संयन्त्र समक्ष प्रस्तुत गर्नु पर्दछ ।”
आचारसंहिताले कर्मचारीलाई कार्यालय समयमा वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाक लगाएर अनावश्यक रूपमा फोटो खिच्न, भिडिओ बनाउन र सामाजिक सञ्जालमा सार्वजनिक गर्न रोक लगाएको छ । यद्यपि, कार्यालयको कामसँग सम्बन्धित प्रवर्धनात्मक गतिविधि वा शिक्षामूलक सामग्री निर्माणका लागि भने यस्ता माध्यमहरूको प्रयोग गर्न सकिने छुट दिइएको छ ।
कार्यालय समय बाहेकको व्यक्तिगत समयमा समेत सामाजिक सञ्जाल प्रयोग गर्दा कर्मचारीहरूले सावधानी अपनाउनु पर्नेछ । फेसबुक, एक्स, ह्वाट्सएप, लिंक्डइन र टिकटक जस्ता प्लेटफर्म चलाउँदा सेवाको मर्यादा र सार्वजनिक आस्थामा कुनै पनि प्रकारको आँच नआउने गरी सतर्कता अपनाउनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै, सामाजिक सञ्जालको प्रयोग गर्दा सरकारी सेवाको गरिमामा नकारात्मक असर पुग्ने, अन्य कर्मचारीको मानमर्दन हुने, जनमानसमा भ्रम फैलिने वा अविश्वास पैदा हुने खालका कुनै पनि सामग्री, धारणा वा श्रव्यदृश्य फाइलहरू शेयर गर्न वा पोस्ट गर्न आचारसंहिताले निषेध गरेको छ ।
प्रचलित कानुन र व्यावसायिक मर्यादाले स्वीकार नगर्ने प्रकृतिका राजनीतिक पूर्वाग्रहयुक्त टिप्पणी वा कसैको व्यक्तिगत सम्मानमा आँच पुग्ने गरी व्यङ्ग्य गर्न समेत नपाइने व्यवस्था गरिएको छ ।
आचारसंहितामा कर्मचारीले आफ्नो पदीय अधिकारको दुरुपयोग नगरी व्यक्तिगत र पारिवारिक लाभभन्दा माथि उठेर निष्पक्ष रूपमा कार्य सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, शिष्ट र सहयोगी व्यवहार देखाउनुपर्ने तथा मन्त्रालयको अनुमति बिना कुनै पनि प्रकारको उपहार, आतिथ्य वा फाइदा स्वीकार गर्न रोक लगाएको छ ।
कार्यालयका गोप्य सूचनाहरू सुरक्षित राख्नुपर्ने, सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्ने र समयको पूर्ण पालना गर्दै तोकिएको जिम्मेवारी गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने कर्तव्य समेत आचारसंहितामा समेटिएको छ । मन्त्रालयका कर्मचारीहरूले यी नियमहरूको पालना गरे वा नगरेको विषयमा मन्त्रालयका सचिव वा निजले तोकेको अधिकृतले नियमित रूपमा अनुगमन गर्ने आचारसंहितामा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८३ ११:५८
