राइड शेयरिङ गरेर रोकेको बाइकमा नगर प्रहरीले ह्विल लक लगाएपछि राइडरद्वारा आत्मदाहको प्रयास
असार २५, २०८३ १६:१७
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि विवाद हुँदा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । राइड शेयरिङका क्रममा रहेका २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार मुगुको सोरु गाउँपालिका वडा नं १ का स्थायी बासिन्दा नेपाली हाल भक्तपुरमा बस्दै आएका थिए । उनले राइड शेयरिङ गरेरराहदानी विभागको ३ नम्बर गेट नजिकै आफ्नो मोटरसाइकल रोकेका थिए ।
निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै नगर प्रहरीले ह्विल लक लगाएपछि उनीहरूबिच विवाद भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एसपी भट्टराईले जानकारी दिए ।
नगर प्रहरीसँगको विवादपछि आक्रोशित बनेका नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर दिउँसो करिब १:४५ बजे आफ्नै शरीरमा छर्किएर आगो लगाएका थिए ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो ।
प्रहरीका अनुसार आगोले जलेर गम्भीर घाइते भएका नेपालीको अवस्था चिन्ताजनक रहेको र हाल अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८३ १६:१७
