गर्मीबाट सर्वसाधारणलाई जोगाउन विराटनगरमा ३८ डिग्री तापक्रम नाघ्नासाथ सडकमा चिसो बाफ बर्सिने
असार २४, २०८३ १८:२५
काठमाडौं । बढ्दो गर्मी र तातो हावा (लु) बाट सर्वसाधारणलाई राहत दिन विराटनगर महानगरपालिकाले सडकमा पानीको मसिनो फोहोरा छर्कने ‘मिस्ट-स्प्रे’ प्रणालीको परीक्षण सुरु गरेको छ । महानगरले सहरका मुख्य चोक र अत्यधिक भिडभाड हुने स्थानहरूलाई लक्षित गरी यो प्रविधि सञ्चालनमा ल्याएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार शर्माका अनुसार पहिलो चरणमा विराटनगरस्थित काली मन्दिर क्षेत्रमा यो प्रणाली जडान गरिएको छ । मंगलबारदेखि उक्त क्षेत्रमा मिस्ट-स्प्रेको परीक्षण सुरु गरिएको हो । काली मन्दिर आसपासमा विद्यालय र अस्पतालसमेत रहेकाले मानिसहरूको चाप बढी हुने भएपछि परीक्षणका लागि यो स्थान छनोट गरिएको उनले जानकारी दिए ।
तराईमा चल्ने तातो हावाका कारण सर्वसाधारण बेहोस हुने र ‘लु’ लाग्ने जस्ता स्वास्थ्य समस्या बढ्दै गएका छन् । उच्च तापक्रम भएको समयमा सडकमा निस्कने पैदलयात्री र सर्वसाधारणलाई तत्काल शीतलता प्रदान गर्न यो प्रणाली प्रभावकारी हुने शर्माले बताए ।
यसरी काम गर्छ मिस्ट-स्प्रेले
यस प्रविधि अन्तर्गत सडकको निश्चित क्षेत्रमा पानीका पाइप र विशेष खालका ‘नोजल’ (पानी निस्कने प्वाल) जडान गरिएको हुन्छ । जब वायुमण्डलको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्छ, तब यो प्रणाली सक्रिय पारिन्छ । यसले पानीलाई निकै मसिनो बाफ वा कणका रूपमा वायुमण्डलमा फैलाउँछ, जसले वरपरको वातावरणलाई चिसो बनाउँछ ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, “३८ डिग्रीभन्दा माथिको तापक्रम मानव शरीरका लागि कष्टकर मानिन्छ । मिस्ट-स्प्रे व्यवस्थापन समितिले तापक्रमको निरन्तर मापन गरिरहेको हुन्छ । तोकिएको सीमाभन्दा बढी तापक्रम हुनासाथ मसिन चलाइन्छ र सडकमा मसिनो फोहोरा बर्सिन थाल्छ ।”

यो प्रविधि विराटनगरमा पहिलो पटक प्रयोग गरिएको हो । हिजो र आज गरिएको परीक्षण सफल भएमा यसलाई भोलिदेखि नियमित गरिने महानगरले जनाएको छ । हाल सो क्षेत्रमा काली मन्दिरकै पानी आपूर्ति प्रणाली प्रयोग गरी यो मसिन सञ्चालन गरिएको छ ।
यो हाल पाइलट प्रोजेक्टका रूपमा सुरु गरिएको हो । यदि यो प्रयोग सफल र प्रभावकारी देखिएमा आगामी दिनमा धेरै भिडभाड हुने सहरका अन्य मुख्य चोकहरूमा पनि यसलाई विस्तार गर्ने महानगरको योजना छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८३ १८:२७
