सेक्सटोर्सनमा परेका एक युवकले त्यसैलाई बनाए आफ्नो धन्दा, ठगिए पूर्व मन्त्रीसहित ४०० जना
असार २४, २०८३ १९:३१
काठमाडौं । टिकटकमा सुन्दर देखिने युवतीको आईडीबाट ‘हाई’ भन्दै एउटा मेसेज आउँछ । कुराकानीकै क्रममा ह्वाट्सएप नम्बर मागिन्छ । अनि ह्वाट्सएपमा तुरुन्तै भिडिओ कल आउँछ र अनि सुरु हुन्छ, एउटा ब्ल्याकमेलिङको शृङ्खला, जसले पीडितलाई आफ्नो इज्जत जोगाउन पैसा सुम्पिनुबाहेक अर्को विकल्प बाँकी राख्दैन ।
नेपालमा पछिल्लो समय प्रविधिको दुरुपयोग गरी गरिने ‘सेक्सटोर्सन’ (यौनजन्य ब्ल्याकमेलिङ) का घटना कसरी डरलाग्दो रूपमा बढिरहेका छन् भन्ने एउटा प्रतिनिधिमूलक घटना हालै सार्वजनिक भएको छ ।
यो घटनामा लुम्बिनी प्रदेश सरकारका एक पूर्व मन्त्री नै सिकार बनेका छन् । तर, यो घटनाको सबैभन्दा अचम्मको पाटो के छ भने, यसका मुख्य योजनाकार र आरोपी युवक आफैँ पहिले सेक्सटोर्सनको सिकार बनेका थिए । आफू ठगिएपछि उनले प्रहरीमा उजुरी दिनुको साटो त्यसैको सिको गर्दै ठगी धन्दा अपनाए र पूर्व मन्त्रीसहित झन्डै ४०० जनालाई ठग्न भ्याए ।
पीडितबाटै सुरु भएको अपराध यात्रा
यो घटनाका मुख्य आरोपी हुन् कञ्चनपुरको पुनर्वास-११ का निरज ढकाल । ललितपुरको पाटनमा दाइसँग बस्दै आएका ९ कक्षा मात्र पढेका यी युवकको आर्थिक अवस्था कमजोर थियो ।
एकदिन टिकटक चलाउने क्रममा उनले एक अपरिचित महिलाको भिडिओ देखे, जहाँ भिडिओ कल (VC) का लागि विज्ञापन गरिएको थियो । उनले ती महिलाको ह्वाट्सएपमा मेसेज गरे । युवतीले डेमो कलका लागि ३०० रुपैयाँ र फुल भिडिओ कलका लागि २,००० रुपैयाँ मागिन् । निरजले माग अनुसारको २,००० रुपैयाँ पठाए । तर पैसा पाउने बित्तिकै ती महिलाले उनलाई ब्लक गरिदिइन् ।
आफू स्क्याम (ठगी) मा परेको कुरा निरजले तत्कालै बुझे । तर, उनले यसबाट पाठ सिकेनन्, बरु यसैलाई सजिलै पैसा कमाउने सजिलो माध्यमका रूपमा अपनाउने निधो गरे । उनले सोचे- “मैले त यसरी पैसा गुमाएँ भने, अरूलाई पनि यसै गरी फसाएर मैले किन पैसा नकमाउने ?”
अनि सुरु गरे सेक्सटोर्सनको धन्दा
पैसा कमाउने धुनमा निरजले टिकटकमा Hina Xettri (@hinavc1) नामक नक्कली अकाउन्ट खोले । उनले इन्स्टाग्रामबाट विभिन्न विदेशी (विशेष गरी भारतीय) युवतीहरूका आकर्षक भिडिओहरू डाउनलोड गरेर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्न थाले । ती भिडिओहरूको क्याप्सनमा लेखिएको हुन्थ्यो- VC आऊ ।
यो पासोमा कैयौँ नेपाली पुरुषहरू सजिलै परेका छन् । टिकटकमा मेसेज गर्नेहरूलाई निरजले आफ्नो ह्वाट्सएप नम्बर दिन्थे । ह्वाट्सएपमा कुरा भएपछि उनले डेमो कलका लागि ३०० रुपैयाँ र फुल भिडिओ कलका लागि २,००० रुपैयाँ इसेवाको क्यूआर कोड पठाएर रकम जम्मा गर्न लगाउँथे ।
जब पीडितले पैसा पठाउँथे, निरजले अर्को मोबाइलमा टेलिग्रामबाट डाउनलोड गरिएका अश्लील तथा अर्धनग्न भिडिओहरू बजाएर आफ्नो मुख्य मोबाइलको क्यामेरा अगाडि राखिदिन्थे । पीडितले उताबाट वास्तविक युवती नै भिडिओ कलमा आएको ठान्थे । त्यही मौकामा निरजले पीडितको अनुहार स्पष्ट देखिने गरी अश्लील भिडिओसँगै जोडिएको अवस्थाको स्क्रिनशट र स्क्रिन रेकर्डिङ गर्थे ।
भिडिओ कल सकिने बित्तिकै सुरु हुन्थ्यो मुख्य खेल । निरजले तत्कालै ती स्क्रिनशटहरू पीडितलाई नै पठाउँथे र धम्कीपूर्ण मेसेज गर्थे- “जबरजस्ती भिडिओ कल गराउन लगायो, मलाई ब्ल्याकमेल गर्यो, यो भिडिओ प्रहरीसम्म पुग्छ । ५/६ लाख भ्युज जाने गरी टिकटकमा हाल्दिन्छु ।” आफ्नो सामाजिक प्रतिष्ठा गुम्ने डरले पीडितहरू डराउँथे र निरजले मागे अनुसारको रकम (५००, १००० देखि १०,००० रुपैयाँसम्म) इज्जत जोगाउन उनकै इ-सेवा खातामा तत्कालै पठाउँथे ।
आरोपी ढकालका अनुसार उनलाई हालसम्म करिब १,५०० जनाले मेसेज गरेका छन् । जसमध्ये करिब ४०० जनासँग उनले 'डेमो कल' र 'फुल कल' गरेको बताएका छन् । यसबाट झन्डै १ लाख रुपैयाँ मात्रै असुल गरेको दाबी उनको छ ।
पूर्व मन्त्री समेत परे पासोमा
यही ठगीको सञ्जालमा लुम्बिनी प्रदेश सरकारका एक पूर्व मन्त्री पनि पर्न पुगे । उनले टिकटक हेर्ने क्रममा Hina Xettri को अकाउन्ट फेला पारेका थिए । कुराकानी हुँदै जाँदा उनले पनि ह्वाट्सएपमा कुरा गरेर इ-सेवा मार्फत ३०० रुपैयाँ पठाए ।
भिडिओ कलमा उनलाई पनि अर्धनग्न युवती देखाइयो र उनको अनुहारसहितको स्क्रिनशट लिइयो । लगत्तै उनलाई पनि प्रहरीमा उजुरी गर्ने र टिकटकमा भिडिओ सार्वजनिक गरेर इज्जत फाल्दिने धम्की आयो । मन्त्री जस्तो गरिमामय पदमा रहिसकेका ती व्यक्तिले आफ्नो इज्जत जोगाउन दुई पटकमा गरी ५०० र ३०० रुपैयाँ पठाए । त्यसपछि १०,००० रुपैयाँ मागियो । तर, मानसिक तनाव बढ्न थालेपछि अन्ततः उनले इज्जत जोगाउनका लागि प्रहरीमा उजुरी दिने साहसिक कदम चाले ।
मुस्ताङमा पक्राउ परे युवक
पूर्व मन्त्रीको उजुरीपछि प्रहरीले प्राविधिक अनुसन्धान सुरु गर्यो । अनुसन्धानकै क्रममा मुस्ताङको घरपझोङ-४ जोमसोम क्षेत्रमा घुमिरहेको अवस्थामा प्रहरीले ढकाललाई शङ्कास्पद रूपमा फेला पारी पक्राउ गर्यो । उनको साथबाट एउटा आईफोन १४ र ठगीमा प्रयोग भएको सिमकार्ड बरामद भयो ।
मुस्ताङ जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम मुद्दा दायर गरेको छ । यो दफा अन्तर्गत कसुर प्रमाणित भएमा १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, पीडित पूर्व मन्त्रीले आफ्नो मानसिक प्रतिष्ठामा आँच पुगेको भन्दै क्षतिपूर्तिको माग समेत दाबी गरेका छन् ।
त्यसैले, अनलाइनमा आउने अनेकन् आकर्षक अफर वा अपरिचित प्रोफाइलका भिडिओ कलका पासोहरूबाट बच्न र समयमै सचेत हुन जरुरी छ । यदि कोही यसको सिकार भइहालेमा लुकेर बस्नुको साटो तुरुन्त साइबर ब्युरो वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क राख्नु नै यसको उचित समाधान हो ।
पछिल्लो अध्यावधिक: असार २४, २०८३ १९:३१
