टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जना नै निर्दोष ठहर
असार २५, २०८३ १८:४६
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्झौतामा भएको भनिएको भ्रष्टाचार मुद्दामा प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित सबै १८ जना प्रतिवादीलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब साढे ३३ करोड रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको मुद्दामा अदालतले बिहीबार दाबी नपुग्ने ठहर गर्दै सबै प्रतिवादीलाई निर्दोष सावित गरेको हो ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले गरेको संक्षिप्त फैसला अनुसार, सन् २०११ को मूल सम्झौता र ८ जनवरी २०२३ मा गरिएको अपग्रेडेड एएमसी (Upgraded AMC) को प्रकृति फरक रहेको पाइएको छ ।
अख्तियारले मूल सम्झौतामा भएको पाँच प्रतिशत छुट पछिल्लो सम्झौतामा नलिएर भ्रष्टाचार गरिएको आरोप लगाएको थियो । तर, अदालतले चिनियाँ कम्पनी एसिया इन्फोले उक्त छुटको सट्टा १३ वटा नयाँ हार्डवेयर मोड्युल र आवश्यक सफ्टवेयरहरू निःशुल्क उपलब्ध गराएको र त्यसको मूल्य छुट पाउने रकमभन्दा बढी देखिएकाले टेलिकमलाई कुनै हानि नोक्सानी नभएको निष्कर्ष निकालेको छ ।
फैसलामा भनिएको छ, “AsiaInfo ले AMC को अतिरिक्त १३ वटा Module का नयाँ Hardware तथा Software हरु Free of Cost मा उपलब्ध गराई System Upgraded गर्ने सहमती भई कार्यान्वयन समेत भएको देखिन्छ । उल्लिखित Hardware सामग्री तथा सफ्टवेयरको मूल्य annual basis को AMC मा ५% छुट लिँदा कायम हुने छुट रकम भन्दा वढी नै रहेको देखिन्छ । यसको साथै 8th January 2023 को संझौतामा AsiaInfo ले Free & Cost मा Data Migration एवं 5 G Service जडान समेतका कामहरु गरिदिने शर्त समेत रहेको देखिन्छ । तसर्थ, उक्त 8th January को Upgraded AMC को कारणबाट नेपाल टेलिकमलाई हानी नोक्सानी पुगेको भन्ने अवस्था समेत देखिएन ।”
फैसलामा टेलिकमका कर्मचारीहरूले पटक-पटकको वार्ता र छलफलबाट कम्पनीको हितमा काम गरेको र व्यक्तिगत लाभ लिने बदनियत नदेखिएको उल्लेख छ ।
“नेपाल टेलिकम सम्बद्ध पदाधिकारीहरुले उक्त Upgraded AMC गर्दा बदनियत चिताई नेपाल टेलिकमको हित विपरीत काम गरेको वा AsiaInfo सँग व्यक्तिगत लाभ लिएको भन्ने अवस्था समेत देखिएन,” अदालतले भनेको छ ।
यो फैसलासँगै भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेकी प्रबन्ध निर्देशक संगीता पहाडीलाई पुन: टेलिकमको जिम्मेवारीमा फर्कने बाटो खुलेको छ ।
सफाइ पाउने अन्यमा पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल, टेलिकमका उच्च अधिकारीहरू प्रतिभा वैध, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, नवल चौधरी, विनिता श्रेष्ठ, अमूल प्रधान, देवेन्द्र खतिवडा, राजिवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, हेमप्रभा कर्ण, मुक्तिप्रसाद अर्याल र परमात्मा भट्टराई रहेका छन् । साथै, ठेकेदार कम्पनी एसिया इन्फो र सोका प्रतिनिधिहरूले पनि सफाइ पाएका छन् ।
नयाँ बिलिङ प्रणाली खरिद प्रक्रियामा ढिलाइ भइरहेको अवस्थामा सेवा सुचारु राख्न एएमसी गर्नु बाध्यात्मक विकल्प रहेको समेत अदालतले ठहर गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८३ १९:११
