सफ्टवेयर डेभलपमेन्ट सिक्न चाहनेका लागि लोकसको ८ दिने फेलोशिप, यसरी बन्नुहोस् सहभागी
असार २९, २०८३ १४:४
काठमाडौं । २३औँ राष्ट्रिय प्राविधिक महोत्सव ‘लोकस २०२७’ ले विद्यार्थीहरूको व्यावहारिक सीप विकासका लागि आठ दिने विशेष सफ्टवेयर फेलोशिप कार्यक्रमको घोषणा गरेको छ । सफ्टवेयर उद्योगमा लाग्न चाहने सुरुवाती र मध्यम स्तरका प्रोग्रामिङ ज्ञान भएका विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम यही जुलाई १५ देखि जुलाई २३ (३१ असारदेखि ७ साउन) सम्म सञ्चालन हुनेछ ।
विद्यार्थीहरूको सुविधाका लागि आयोजकले दैनिक दुई घण्टाका दरले दुईवटा शिफ्ट तय गरेको छ, जसमा बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्मका कक्षाहरू रहनेछन् ।
यसका साथै दिउँसो २ देखि ४ बजेको शिफ्ट पनि थप गर्ने योजना बनाइएको छ ।
फेलोशिपका सहभागीहरूले सिद्धान्त मात्र नभई एउटा पूर्ण सफ्टवेयर प्रोजेक्ट निर्माण गर्ने अवसर पाउने आयोजकले जनाएको छ । फेलोशिपको पहिलो दिन फ्रन्टइन्डका एचटीएमएल, सीएसएस, जाभास्क्रिप्ट लगायतका आधारभूत विषय सिकाइनेछ भने त्यसपछि गिट र गिटहबमार्फत प्रोजेक्ट म्यानेजमेन्टको तालिम दिइनेछ ।
तेस्रो र चौथो दिनमा सहभागीहरूले ‘FastAPI’ को प्रयोग गरी ब्याकइन्ड निर्माण गर्ने, डेटाबेस जोड्ने र युजर अथेन्टिकेसनजस्ता महत्त्वपूर्ण प्राविधिक पक्षहरू सिक्नेछन् ।
कार्यक्रमको उत्तरार्धमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई/एमएएल), प्रम्प्ट इन्जिनियरिङ, डकर र क्लाउड कम्प्युटिङ जस्ता आधुनिक प्रविधिहरूको प्रयोग गरी प्रोजेक्टलाई सार्वजनिक (डिप्लोय) गर्ने विधि सिकाइनेछ ।
पुल्चोक क्याम्पसका अनुभवी विद्यार्थी र उद्योगका विज्ञहरूद्वारा सहजीकरण गरिने यस कार्यक्रमले सहभागीहरूलाई व्यावसायिक सफ्टवेयर विकासको वास्तविक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमको अन्तिम दिन सहभागीहरूको ज्ञान परीक्षण गरिनुका साथै उनीहरूलाई करियर परामर्श, इन्टर्नशिपका अवसरहरू र प्रोजेक्ट पोर्टफोलियो निर्माणका बारेमा मार्गदर्शन दिइनेछ ।
सीमित सिट सङ्ख्या रहेको यस फेलोशिपका लागि जुलाई १४, २०२६ (असार ३०) सम्म आवेदन दिन सकिनेछ । इच्छुक विद्यार्थीहरूले लोकसले उपलब्ध गराएको आधिकारिक यस गुगल फर्म लिङ्कमार्फत आफ्नो आवेदन दर्ता गराउन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार २९, २०८३ १४:५
