close

ब्रेकअपपछि पूर्वप्रेमिकाकै फेसबुक आईडीबाट अश्लील फोटो-भिडिओ राख्ने युवक पक्राउ

टेकपाना टेकपाना

असार २९, २०८३ १५:५

ब्रेकअपपछि पूर्वप्रेमिकाकै फेसबुक आईडीबाट अश्लील फोटो-भिडिओ राख्ने युवक पक्राउ

काठमाडौं । प्रेमिकासँग बिछोड (ब्रेकअप) भएपछि उनको चरित्रहत्या गर्ने उद्देश्यले अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय सरोज कार्कीलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार कार्कीले पीडित युवतीको फेसबुक आईडी प्रयोग गरी अश्लील सामग्रीहरू पोस्ट गरेर उनलाई दुःख हैरानी र मानसिक तनाव दिने गरेका थिए । उनीहरू अध्ययनको सिलसिलामा चिनजान भई केही समयअघिसम्म प्रेम सम्बन्धमा रहेको खुलेको छ ।

पीडितको उजुरीका आधारमा ब्युरोको टोलीले कार्कीलाई गत असार २६ गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

यसैगरी, साइबर ब्युरोले अर्का एक भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । पीडित महिलाको अश्लील फोटो/भिडिओ दुरुपयोग गरी ब्ल्याकमेल गर्ने र कुरा नमानेपछि टिकटकमा अपलोड गरी चरित्रहत्या गर्ने भारत आसामका २६ वर्षीय जावरुल हकलाई पनि प्रहरीले काठमाडौँबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २९, २०८३ १५:१५