नेपालमा राइड हेलिङ सेवा सुरु गर्न उबर र ट्याक्सीमाण्डुबिच रणनीतिक साझेदारी
जेठ ६, २०८३ ११:१९
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले नेपालमा सेवा विस्तार गर्न ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेको छ । यी दुई कम्पनीबिच एक साता अघि रणनीतिक साझेदारी भएको ट्याक्सीमाण्डुका एक अधिकारीले जानकारी दिए ।
उबरको आगमनलाई लिएर बजारमा विभिन्न अडकलबाजी चलिरहेका बेला ट्याक्सीमाण्डुसँगको सहकार्यमा नेपालमा आफ्नो सेवा विस्तार गर्न लागिएको उनले स्पष्ट पारे । उबरले यस साझेदारीको छिट्टै आधिकारिक घोषणा गर्ने पनि उनको भनाइ छ ।
उबरले मङ्गलबार (५ जेठमा) मात्रै आफ्नो आधिकारिक ईमेल एड्रेसमार्फत सन्देश पठाउँदै आफू काठमाडौँमा आइसकेको जानकारी गराएको थियो । साझेदारीको मोडेलबारे प्रस्ट पार्दै स्रोतले भन्यो, “नेपालमा उबरकै आधिकारिक प्रविधि र एप सञ्चालनमा आउनेछ । तर, नेपालका लागि ट्याक्सीमाण्डु आधिकारिक सञ्चालन साझेदारका रूपमा रहनेछ ।”
उबरको विश्वव्यापी स्थापित प्रविधिलाई नेपालको भौगोलिक अवस्था र यहाँको वातावरण सुहाउँदो बनाउने काम भइरहेको पनि स्रोतको भनाइ छ । सम्झौताअनुसार प्रविधि र प्रणाली उबरको हुनेछ भने नेपालभित्रको व्यवस्थापनको पाटो ट्याक्सीमाण्डुले सम्हाल्नेछ । जसमा Driver Onboarding देखि Technology Testing र Launching प्रक्रियाका कामहरू भइरहेका छन् ।
स्रोतका अनुसार यो सेवा सुरुवाती चरणमा काठमाडौँ उपत्यकामा मात्र उपलब्ध हुनेछ । काठमाडौँमा सेवा व्यवस्थित गरिसकेपछि छिट्टै देशका अन्य प्रमुख सहरहरूमा विस्तार गरिने रणनीति बनाइएको बुझिएको छ ।
विश्वका ७० भन्दा बढी देश र हजारौँ सहरहरूमा चलिरहेको उबर नेपाल आउने भएपछि विशेषगरी वैदेशिक पर्यटकहरूलाई सहज हुने विश्वास छ । पहिलेदेखि नै उबर एप प्रयोग गर्न अभ्यस्त भइसकेका विदेशी पर्यटकहरूलाई काठमाडौँमा यात्रा गर्न थप सहज हुने छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ ११:३६
