काठमाडौं । टिकटकले नेपालका प्रयोगकर्ताहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना गरिएका सामग्रीहरू सजिलै चिन्न र बुझ्न मद्दत गर्ने उद्देश्यले एपभित्रै ‘एआई साक्षरता हब’ (AI Literacy Hub) सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
जेनेरेटिभ एआईले सामग्री निर्माण र सेयर गर्ने तरिकामा ठुलो परिवर्तन ल्याइरहेको बेला प्रयोगकर्ताहरूलाई झुक्किनबाट जोगाउन र सुरक्षित डिजिटल अनुभव प्रदान गर्न टिकटकले यो नयाँ पहल सुरु गर्न लागेको हो ।
आगामी केही साताभित्रै नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुने यस ‘एआई साक्षरता हब’ मार्फत विभिन्न शैक्षिक सामग्रीहरू प्राप्त गर्न सकिने टिकटकले जनाएको छ । जब प्रयोगकर्ताले टिकटकमा एआई वा यससँग सम्बन्धित विषयहरू खोज्नेछन्, उनीहरूलाई सिधै यस हबमा निर्देशित गरिनेछ ।
यहाँ एआई-जेनेरेटेड सामग्री चिन्ने तरिका, एआई टुलको जिम्मेवार प्रयोग र यस प्रविधिले सिर्जना गर्ने सम्भावनाबारे व्यावहारिक भिडियो तथा गाइडहरू उपलब्ध हुने बताइएको छ ।
यसका लागि टिकटकले न्युज एण्ड मिडिया लिटरेसी एलायन्स (NAMLE) र डिपफेक अनुसन्धानकर्ता हेनरी अज्डरसँग सहकार्य गरी विशेष निर्देशिका तयार पारेको छ ।
नेपालमा पछिल्लो समय एआईको प्रयोग गरेर सामग्री बनाउने क्रियटरहरूको संख्या बढ्दो छ । स्थानीय क्रियटरहरूलाई थप जिम्मेवार बनाउन र दर्शकहरूलाई सही सूचना प्रदान गर्न यो नयाँ हबले मद्दत पुर्याउने टिकटकको विश्वास छ ।
एआईको दुरुपयोग गरी फैलाइने भ्रामक सामग्री (स्पाम) विरुद्ध पनि टिकटकले आफ्नो सुरक्षा प्रणालीलाई थप सुदृढ बनाएको छ । कम्पनीले यस वर्षको पहिलो तीन महिनामा मात्रै विश्वभरबाट ८ करोड ६० लाखभन्दा बढी नक्कली खाताहरू हटाएको छ । अब नयाँ प्रणालीमार्फत विशेष गरी राजनीति, जनस्वास्थ्य र आर्थिक सल्लाहसँग जोडिएका विषयमा एआई प्रयोग गरेर फैलाइने गलत सूचनालाई कडा निगरानी गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
टिकटकले एआईबाट बनाइएका सामग्रीमा स्पष्ट ‘लेबल’ लगाउने प्रविधिलाई पनि अनिवार्य बनाउँदै लगेको छ । ‘Content Credentials’ प्रविधिमार्फत हालसम्म तीन अर्बभन्दा बढी भिडियोमा एआई सम्बन्धी जानकारीमूलक लेबल लगाइसकिएको छ । यसले गर्दा प्रयोगकर्ताले कुन भिडियो वास्तविक हो र कुन एआईको सहायताले बनाइएको हो भन्ने कुरा छुट्याउन सक्नेछन् ।
टिकटकले एआई साक्षरता अभियानका लागि विश्वभर ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ ।
पछिल्लो अध्यावधिक: साउन १, २०८३ ९:१८
