close

टिकटकको मातृ कम्पनी बाइटडान्सले एआई विस्तारका लागि आफ्नै सीपीयु चिप विकास गर्दै

टेकपाना टेकपाना

जेठ १५, २०८३ ७:१६

टिकटकको मातृ कम्पनी बाइटडान्सले एआई विस्तारका लागि आफ्नै सीपीयु चिप विकास गर्दै

काठमाडाैँ । टिकटकको मातृ कम्पनी बाइटडान्सले आफ्नो बढ्दो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार आवश्यकताहरू पूरा गर्न आफ्नै सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयु) विकास गर्ने भएको छ । चिपको मूल्यमा तीव्र वृद्धि र लामो समयको आपूर्ति अभावका कारण कम्पनीको विस्तार योजनामा दबाब परेपछि आफ्नै सीपीयु विकासमा लागेको स्रोतहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले लेखेको छ ।

यो कदमले एआई उद्योग “इन्फरेन्स” तर्फ तीव्र रूपमा सर्दै गएको संकेत गर्छ । इन्फरेन्स भन्नाले एआई मोडेलहरूलाई व्यवहारिक तथा स्वचालित (एजेन्टिक) काममा प्रयोग गर्ने प्रक्रिया हो, जसले सीपीयु माथि थप दबाब सिर्जना गर्छ । यी सीपीयुहरूले एआई क्षेत्रमा प्रभुत्व जमाइरहेका एनभिडियाका ग्राफिक्स चिपसँग मिलेर काम गर्छन् ।

यस प्रवृत्तिका कारण पछिल्ला महिनाहरूमा सीपीयुको अभाव उत्पन्न भएको छ । गुगल, अमेजन, माइक्रोसफ्ट जस्ता विश्वका ठूला हाइपरस्केलर कम्पनीहरू पनि आफ्नै कस्टम सीपीयु विकास गरिरहेका छन् । यी कम्पनीहरु पनि लागत घटाउन तथा काम अनुसारको प्रदर्शन अनुकूल बनाउन आफ्नै सीपीयु निर्माणमा जुटेका हुन् ।

ठूला कम्पनीहरु आफ्नै कस्टम सीपीयु बनाउने तयारीमा लाग्दा प्रमुख सीपीयु निर्माता कम्पनीहरु इन्टेल र एएमडीलाई  पनि एआई क्षेत्रमा एनभिडियाको प्रभुत्वलाई चुनौती दिने मुख्य प्रतिस्पर्धीका रूपमा उभिन मद्दत गरेको छ । 

बाइटडान्सले एजेन्टमा आधारित उत्पादनहरूको ठुलो विस्तार गर्ने तयारी गरिरहँदा आफ्नै सर्भर र डाटा सेन्टरमा प्रयोग गर्ने गरी सीपीयु निर्माण गरिरहेको छ । कम्पनीले यस पहलमा सहयोग गर्नका लागि धेरै बाह्य साझेदारहरूसँग सम्पर्क गरेको पनि रोयटर्सको रिपोर्टमा उल्लेख छ । ती साझेदारहरूले चिपको डिजाइन कार्यका साथै उत्पादनका लागि आवश्यक क्षमता सुनिश्चित गर्न सेमिकन्डक्टर फाउन्ड्रीहरूमा स्थान सुरक्षित गर्न पनि सहयोग गर्ने अपेक्षा गरिएको छ । 

बाइटडान्सको सीपीयु परियोजना अहिले प्रारम्भिक चरणमै रहेको रोयटर्सले लेखेको छ । चिप अभाव र मूल्य वृद्धिका कारण ठूला प्रविधि कम्पनीहरु आफ्नै कस्टम चिप डिजाइन गर्न जटिल भए पनि त्यसको आर्थिक लाभ बढी हुने निष्कर्षमा पुगिसकेका छन् । बाइटडान्सको यो कदमले पनि सोही कुराको संकेत गर्छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १३:१