महँगियो राइड शेयरिङ, आजदेखि ५ प्रतिशत बढी भाडा लाग्ने, राइडरलाई टीडीएस अनिवार्य
साउन १, २०८३ १७:३८
काठमाडौं । आजदेखि नेपाली बजारमा राइड शेयरिङ महँगिएको छ । सरकारले हरेक राइडबापत पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिने नीति ल्याए अनुसार आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै पाँच प्रतिशतले राइड शेयरिङ महँगिएको हो ।
राइड शेयरिङ प्लेटफर्म ‘पठाओ’ ले सरकारको नयाँ नियमअनुसार पाँच प्रतिशत कर बढाएको जानकारी दिएको छ । पठाओका सीईओ यशु थकालीले आजदेखि शुल्क बढाइएको जानकारी दिए । उनले भने, “सरकारको नियमअनुसार हरेक राइडबापत पाँच प्रतिशत भ्याट बुझाउनुपर्ने हुन्छ । त्यसको असुल ग्राहकबाट नै गर्ने भएकाले शुल्क बढाइएको हो । यसअघि एक सय रुपैयाँ शुल्क लाग्ने स्थानमा अब पाँच प्रतिशत कर थप भएर ग्राहकलाई १०५ रुपैयाँ शुल्क लाग्नेछ ।”
राइड शेयरिङ प्लेटफर्म याङ्गोले पनि आजबाट नै ग्राहकलाई लाग्ने शुल्क बढाएको छ । याङ्गोका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले सरकारको करसम्बन्धी नयाँ व्यवस्था अनुसार शुल्क बढाइएको बताए । उनले भने, “सरकारले उपभोक्ताबाट नै मूल्य अभिवृद्धि कर लिनुपर्ने व्यवस्था गरेपछि हामीले त्यही अनुसार शुल्क बढाएका छौँ । तर, यो शुल्क बढाउँदा राइड शेयरिङको उपभोगलाई लिएर उपभोक्ताको आकर्षणमा कस्तो असर पर्छ भन्ने बारेमा अहिले नै भन्न सकिन्न ।”
आर्थिक विधेयक, २०८३ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५५ मा संशोधन गर्दै सरकारले राइड शेयरिङमा पाँच प्रतिशत कर लाग्ने व्यवस्था गरेको हो । विधेयकमा भनिएको छ, “…बासिन्दा राइड शेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड शेयरिङ अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आवद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड शेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति र अन्तिम उपभोक्तालाई विद्युत सेवा प्रदान गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा पाँच प्रतिशतका दरले कर निर्धारण गरी असुल उपर गर्नु पर्नेछ ।”
सोही अनुसार लागु गर्न शुक्रबार आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै राइड शेयरिङ प्लेटफर्मलाई भ्याट कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ । राइड शेयरिङ प्लेटफर्मले आफ्नो प्लेटफर्ममा आबद्ध राइडरले यातायात तथा ढुवानी सेवाबापत लिने शुल्कको ५ प्रतिशत भ्याट सङ्कलन गर्ने व्यवस्था गर्न र त्यसको विवरण प्रत्येक महिना समाप्त भएको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।
सरकराले यही आर्थिक वर्षबाट राइडरले आफ्नो आम्दानीबाट एक प्रतिशत अग्रिम कर (टीडीएस) बुझाउनुपर्ने पनि व्यवस्था गरेको छ ।
भ्याट र टीडीएससहित राइडरले प्लेटफर्म शुल्क बुझाउनुपर्ने
यसैबिच नयाँ कर व्यवस्थाअनुसार अब राइडरले प्लेटफर्म शुल्क (कमिसन) सँगै मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर पनि जोडेर बुझाउनुपर्ने जानकारी पठाओले दिएको छ । सरकारको नियमअनुसार ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस थप भएको कम्पनीको भनाइ छ ।
हरेक राइडबापतको ५ प्रतिशत भ्याट र राइडरको तर्फबाट १ प्रतिशत टीडीएस पठाओले सरकारलाई बुझाउनुपर्ने हुन्छ । त्यसैले अबदेखि राइडरले पठाओलाई बुझाउनुपर्ने ‘ड्यु अमाउन्ट’ (प्लेटफर्म शुल्क एवं कमिसन) मा उक्त करको रकम पनि जोडिने कम्पनीले सूचनामार्फत प्रस्ट पारेको छ ।
पछिल्लो अध्यावधिक: साउन १, २०८३ १७:३८
