close

सवारी चालक अनुमतिपत्रको नयाँ प्रणालीमा नागरिक एपमार्फत आवेदन दिन सकस, के होला कारण ?

टेकपाना टेकपाना

साउन ५, २०८३ १४:३

सवारी चालक अनुमतिपत्रको नयाँ प्रणालीमा नागरिक एपमार्फत आवेदन दिन सकस, के होला कारण ?

काठमाडौं । यातायात व्यवस्था विभागले कार्यान्वयनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को नयाँ आवेदन प्रणालीमा सेवाग्राहीले प्राविधिक कठिनाइको सामना गर्नुपरेको छ । विभागले १ साउनदेखि सातै प्रदेशमा लाइसेन्स आवेदन तथा नवीकरण र राजस्व भुक्तानीका लागि छुट्टाछुट्टै पोर्टल सञ्चालनमा ल्याएको छ । 

यसका लागि नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरणहरू स्वत: भर्न मिल्ने (अटो-फिल) व्यवस्था गरिएको दाबी गरे पनि आवेदन दिन खोज्दा समस्या देखिएको हो । प्राविधिक परीक्षणका क्रममा नागरिक एपबाट उक्त सिस्टममा रहेको क्यूआर कोड स्क्यान गर्दा ‘इरर’ (त्रुटि) देखाउने गरेको पाइएको छ । 

क्यूआर कोड स्क्यान नभए पनि राष्ट्रिय परिचयपत्रको विवरण राखेर आवेदन दिने विकल्प भने उपलब्ध छ । यद्यपि, यो प्रक्रिया अपनाउँदा नागरिकताको स्क्यान कपी अपलोड गर्नुपर्ने अनिवार्य व्यवस्थाका कारण सेवाग्राहीलाई थप झन्झट भएको छ ।

यसका साथै नयाँ प्रणालीमा सबै यातायात कार्यालय अझै पूर्ण रूपमा आवद्ध भइनसकेको देखिएको छ । हाल बागमती प्रदेशको हकमा आवेदन दिँदा दुई वटा मात्र यातायात कार्यालय सूचीमा देखिने गरेका छन् भने अन्य प्रदेशका हकमा पनि सबै कार्यालय प्रणालीमा सूचीकृत हुन बाँकी देखिएको छ ।

समस्याको कारण

सेवामा देखिएको यो सुस्तता र समस्याका सम्बन्धमा यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै डेटा माइग्रेसनको काम भइरहेकाले सेवा प्रभावित भएको जनाएको छ । यी सेवा ८ साउनपछि सञ्चालनमा आउने विभागको भनाइ छ । देशका विभिन्न यातायात कार्यालयका सूचना अधिकारीले पनि हाल डेटा माइग्रेसनकै काम जारी रहेकाले सेवा प्रवाहमा प्राविधिक समस्या देखिएको पुष्टि गरेका छन् ।

यसबारे सवारी चालक अनुमतिपत्र प्रणालीमा आवद्ध भएका एक डेभलपरले यो लगभग परीक्षणकै चरणमा रहेकाले केही त्रुटि भेटिन सक्ने बताए । “अहिले समस्या देखियो भनेर सेवाग्राही प्यानिक हुन भएन,” उनले भने, “सिस्टम नयाँ हो । प्रयोगमा आएपछि के कस्ता व्यवहारिक कठिनाइ आउँछन् त्यसलाई समाधान गर्दै जाने हो । सबै किसिमका सिस्टमलाई इन्टिग्रेट गरेर सेवा सरल बनाउँदा अहिले सामान्य त्रुटि भेटिन सक्छन् ।”

नयाँ प्रणाली वर्ग थप गर्ने, लाइसेन्स नवीकरण गर्ने र लाइसेन्स पुनः प्रिन्ट गराउने फिचर थप गरिएको देखिन्छ । यी सम्पूरण सिस्टमले अहिले भने प्रभावकारी रूपमा काम गरिरहेका छन् । यो नयाँ प्रणालीमा लाइसेन्सको अवस्था के छ भन्ने ट्रयाकिङ पनि गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ १४:४