close

ड्राइभिङ लाइसेन्सका लागि डाक्टरले अनलाइनबाटै स्वास्थ्य अवस्था प्रमाणित गर्ने पोर्टल तयार

टेकपाना टेकपाना

साउन ७, २०८३ १५:४६

ड्राइभिङ लाइसेन्सका लागि डाक्टरले अनलाइनबाटै स्वास्थ्य अवस्था प्रमाणित गर्ने पोर्टल तयार

 

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को नयाँ प्रणाली अन्तर्गत स्वास्थ्य परीक्षणको रिपोर्ट चिकित्सकले अनलाइनबाटै पठाउन सक्ने गरी नयाँ पोर्टल तयार भएको छ । यातायात व्यवस्था विभागले १ साउनदेखि सुरु गरेको डिजिटल प्रणालीलाई थप व्यवस्थित बनाउन यो पोर्टल तयार पारिएको हो । 

विभागका सूचना अधिकारी केशव खतिवडाका अनुसार हाल प्रणालीको प्राविधिक पक्ष र चिकित्सकलाई यसमा आबद्ध गराउने कार्य भइरहेको छ । “यसमा डाक्टर अनबोर्डिङ र प्रणाली परीक्षणको काम भइरहेको छ, सम्पूर्ण तवरबाट सफल भएपछि हामी यसलाई औपचारिक रूपमा सार्वजनिक गर्नेछौँ,” उनले टेकपानासँग भने ।

यस प्रणालीमार्फत सेवाग्राहीको स्वास्थ्य अवस्था प्रमाणित गर्ने चिकित्सक अनिवार्य रूपमा नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा दर्ता भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

पोर्टल प्रयोगका लागि चिकित्सकले यहाँ क्लिक गरेर रजिस्टर पोर्टलमा जानुपर्ने हुन्छ । त्यसपछि एनएमसी नम्बर (सामान्यतः डाक्टरको मोबाइल नम्बर), एनएमसी युजरनेम र नागरिकता नम्बर राखेर रजिस्ट्र गर्नुपर्ने हुन्छ । यो मिलेर प्रमाणित भइसकेपछि यहाँ क्लिक गरेर एनएमसी युजरनेम राख्नुपर्ने हुन्छ । 

त्यसपछि चिकित्सकको मोबाइलमा ओटीपी कोड आउँछ । र, उक्त ओटीपी कोड राखेर ड्याशबोर्डमा जान सकिन्छ । त्यसपछि सेवाग्राहीको एप्लिकेसन आईडी राखेर सबै अवस्था ठिक भए नभएको जानकारी दिन सक्छन् । सेवाग्राही सवारी चलाउन सक्षम भएको भनी प्रमाणित भएको खण्डमा यता सेवाग्रीको पोर्टलमा पेन्डिङबाट सफल हुन्छ । र, लिखित परीक्षाको प्रक्रिया अगाडि बढ्छ ।

विभागले १ साउनदेखि नै सातै प्रदेशका लागि छुट्टाछुट्टै इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स पोर्टल सञ्चालनमा ल्याइसकेको छ, जसले गर्दा बायोमेट्रिक्स प्रमाणीकरणका लागि केही सहजता मिलेको थियो । यद्यपि, स्वास्थ्य परीक्षणका लागि भने सेवाग्राही यातायात कार्यालयमै पुग्नुपर्ने वाध्यता थियो (नयाँ प्रणालीमा प्राविधिक समस्या आएपछि रोकिएको) ।

यही बाध्यतालाई हटाउन विभागले यो नयाँ पहल थालेको हो । विभागका सूचना अधिकारी खतिवडाले भने, “नेपाल मेडिकल काउन्सिलको सिस्टमलाई एपीआईमार्फत हाम्रो प्रणालीमा इन्टिग्रेट गरिएको छ, जसले गर्दा स्वास्थ्य प्रमाणीकरणका लागि यातायात कार्यालय धाइरहनु पर्दैन ।”

विभागले यसअघि नै सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवाका लागि यातायात कार्यालयमा नजान आग्रह गरेको थियो । प्रदेश अनुसार करको दर मिलाउन र डेटा माइग्रेसनका कारण तत्काल सबै सेवा पूर्ण सञ्चालन नहुने विभागले जनाएको थियो । शुक्रबारपछि भने सेवा क्रमिक रूपमा सञ्चालनमा आउने विभागको दाबी छ । सोहीअन्तर्गत परीक्षणका लागि भए पनि डाक्टर पोर्टल बिहीबारदेखि सञ्चालनमा आएको छ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८३ १५:४६