close

एआईको युगमा सुरक्षित करिअर: भविष्यमा कुन कामबाट मिल्नेछ सफलता ?

टेकपाना टेकपाना

साउन ७, २०८३ १७:७

एआईको युगमा सुरक्षित करिअर: भविष्यमा कुन कामबाट मिल्नेछ सफलता ?

- शेरा मार्स

रोजगारीको संसारमा प्रवेश गर्दा केही अन्योल हुनु स्वाभाविक हो । तर अहिले त्यसमा अर्को प्रश्न पनि थपिएको छ-‘आफ्नो करिअरलाई एआईबाट कसरी सुरक्षित बनाउने ?’

यस प्रश्नको उत्तर खोज्न विभिन्न क्षेत्रका विज्ञ तथा पेशाकर्मीहरूसँग एआईले रोजगारीमा पार्ने प्रभाव र भविष्यमा कुन-कुन पेशा अपेक्षाकृत कम प्रभावित हुन सक्छन् भन्ने विषयमा उनीहरूको धारणा लिइएको छ । एआई प्रविधि अझै प्रारम्भिक चरणमै रहे पनि धेरैले यस नयाँ परिवेशमा सफल करिअर बनाउन आफूलाई कसरी तयार गर्ने भन्नेबारे आफ्ना सुझाव दिएका छन् ।

स्वास्थ्य

एआईका कारण सबैभन्दा बढी प्रभावित हुन सक्ने स्वास्थ्यसम्बन्धी पेशामा मेडिकल सेक्रेटरी, फार्मेसी सहयोगी कर्मचारी, प्रेस्क्रिप्सन (औषधि सिफारिस) प्रशोधन गर्ने कर्मचारी तथा कल ह्यान्डलिङ टोली पर्ने सम्भावना रहेको ओउश्क फार्मेसीकी सह-संस्थापक तथा सुपरिन्टेन्डेन्ट फार्मासिस्ट हिरा मलिक बताउँछिन् ।

उनका अनुसार एआईको प्रभाव मुख्यतः प्रशासनिक प्रकृतिका स्वास्थ्य सेवामा देखिनेछ, जहाँ कर्मचारीले निश्चित ढाँचाका फाराम, अभिलेख वा बिरामीका सामान्य जिज्ञासासँग काम गर्छन् तर प्रत्यक्ष चिकित्सकीय निर्णय लिँदैनन् । अनलाइन फार्मेसीमा यस्ता काममा परामर्श फाराम जाँच गर्ने, अपुग विवरण सङ्कलन गर्ने, औषधि प्रेस्क्रिप्सनका अनुरोध प्रशोधन गर्ने, बिरामीका सामान्य जिज्ञासाको प्रारम्भिक मूल्याङ्कन गर्ने तथा आवश्यक परे फार्मासिस्टकहाँ पठाउने जस्ता कार्य समावेश हुन्छन् ।

यस्ता पद पूर्ण रूपमा हट्ने सम्भावना कम भए पनि तीसँग सम्बन्धित धेरै नियमित र दोहोरिने काम भने एआईमार्फत स्वचालित हुने सम्भावना रहेको मलिकको भनाइ छ । मलिकका अनुसार फार्मासिस्ट, चिकित्सक, नर्स तथा औषधि सिफारिस गर्ने अन्य स्वास्थ्यकर्मी एआईबाट विस्थापित हुने सम्भावना निकै कम छ । किनभने उनीहरूले बिरामीको सुरक्षा र उपचारसम्बन्धी निर्णयको जिम्मेवारी वहन गर्नुपर्छ । उनी भन्छिन्, “एआईले सूचना व्यवस्थित गर्न र सम्भावित जोखिम औँल्याउन सहयोग गर्न सक्छ, तर उपचार सुरक्षित वा उपयुक्त छ कि छैन भन्ने निर्णय भने गर्न सक्दैन ।”

यसैगरी, प्लास्टिक सर्जरी जस्ता केही विशेषज्ञता भएका क्षेत्र बिरामीअनुसार अत्यन्त व्यक्तिगत र फरक हुने भएकाले एआईले प्रतिस्थापन गर्ने सम्भावना कम रहेको उल्लेख गरिएको छ । तर रेडियोलोजी जस्ता क्षेत्र भने तुलनात्मक रूपमा बढी जोखिममा रहेको छ ।

कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. रियाज आघा भन्छन्, “प्लास्टिक सर्जरी अत्यन्त व्यक्तिगत र बिरामीअनुसार फरक हुने क्षेत्र हो । हरेक बिरामी फरक हुन्छ ।” यद्यपि भविष्यमा एआईले विगतका केसहरूको विश्लेषण गरेर शल्यचिकित्सकलाई निर्णय लिन सहयोग गर्न सक्ने उनी बताउँछन् ।

आघाका अनुसार रेडियोलोजी यस्तो विशेषज्ञता हो, जुन विशेष रूपमा एआईको प्रभावमा पर्न सक्ने क्षेत्र हो । उनी भन्छन्, “अहिलेसम्म भएका धेरै अध्ययनहरूले एआईले अत्यन्त उच्च सटीकता र विश्वसनीयतासहित स्क्यानको व्याख्या गर्न सक्ने देखाइसकेका छन् । यसको अर्थ रेडियोलोजिस्टहरू नै हराउँछन् भन्ने होइन, तर उनीहरूको भूमिका भने उल्लेखनीय रूपमा परिवर्तन हुन सक्छ ।”

भविष्यका चिकित्सकले एआईलाई सही तरिकाले प्रयोग गर्न सिक्नुपर्ने र यसको क्षमता तथा सीमितता दुवैलाई राम्रोसँग बुझ्नुपर्ने उनको सुझाव छ ।

शिक्षा र प्रारम्भिक बालविकास

विज्ञहरूका अनुसार शिक्षा क्षेत्रमा एआईको प्रभाव मुख्यतः प्रशासनिक तथा नियमित शिक्षण सहयोगसम्बन्धी काममा पर्नेछ । शिक्षकलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने सम्भावना भने कम छ । अक्सफोर्ड विश्वविद्यालयको जेनेरेशनल सक्सेस ल्याबका संस्थापक शरथ जीवन भन्छन्, “करिअरको दृष्टिले शिक्षण उत्कृष्ट रोजाइ हो । विद्यार्थीलाई सिकाइमा सहयोग गर्न विश्वासिलो वयस्कसँगको सम्बन्ध सधैँ आवश्यक पर्छ ।”

बाल हेरचाह (चाइल्डकेयर) पनि भविष्यमा मानव जनशक्तिको आवश्यकता निरन्तर रहने क्षेत्रका रूपमा उल्लेख गरिएको छ । चाइल्डकेयर एजेन्सी टाइनीका संस्थापक तथा प्रमुख कार्यकारी ब्रेट विगडोर्ट्जका अनुसार बाल हेरचाह (चाइल्डमाइन्डिङ) एआई वा प्रविधिले प्रतिस्थापन गर्ने सम्भावना निकै कम छ । उनका अनुसार एआईले सञ्चार र व्यवस्थापनमा सहयोग गर्न सक्छ, तर आफ्ना बालबालिकाको हेरचाहका लागि मानिसहरूले अझै पनि वास्तविक व्यक्तिमाथि नै भरोसा गर्न चाहन्छन् ।

उनका अनुसार बाल हेरचाह सेवाको माग उच्च छ र उपलब्ध स्थानहरू छिट्टै भरिरहेका छन् । साथै, बाल हेरचाहले घरबाटै लचिलो रूपमा काम गर्ने अवसरका साथै राम्रो आम्दानीको सम्भावना पनि प्रदान गर्छ । यस क्षेत्रसँग सम्बन्धित अन्य पेशामा बालविकास केन्द्र (नर्सरी) सञ्चालन वा व्यवस्थापन गर्ने, तथा उच्चस्तरीय निजी हेरचाहकर्ता वा ट्युटर का रूपमा काम गर्ने अवसर पनि समावेश छन् ।

कानुन

कानुनी सहायक र कनिष्ठ वकिलका भूमिका एआईबाट सबैभन्दा बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । किनभने उनीहरूले गर्ने धेरैजसो काम कागजात समीक्षा गर्ने, कानुनी कागजातको प्रारम्भिक मस्यौदा तयार गर्ने, आवश्यक जानकारी सङ्कलन गर्ने तथा विभिन्न फाराम भर्ने जस्ता नियमित प्रकृतिका हुन्छन् ।

एआईको सहायताले मानिसलाई वकिल खोज्न र कानुनी सेवा लिन सहयोग गर्ने कम्पनी ‘लहाइभ’ का प्रमुख कार्यकारी पिएर प्रोनर भन्छन्, “यी सबै काम एआई निकै राम्रोसँग गर्न सक्ने खालका हुन् ।” तर, उनको भनाइमा एआईले प्रवेश तहका कानुनी रोजगारी पूर्ण रूपमा समाप्त गर्ने छैन ।

उनी भन्छन्, “यी भूमिका रहनेछन्, तर तिनको स्वरूप परिवर्तन हुनेछ।” उनका अनुसार कनिष्ठ वकिलहरूले भविष्यमा दोहोरिने कानुनी तथा प्रशासनिक काममा समय खर्चिनुको सट्टा कानुनी निर्णय क्षमता प्रयोग गर्ने, ग्राहकसँग काम गर्ने सीप विकास गर्ने र एआईले गरेको कामको निगरानी तथा समीक्षा गर्ने कार्यमा बढी केन्द्रित हुनेछन् ।

प्रोनरका अनुसार, “एआईलाई अझै पनि मानवीय निगरानी आवश्यक पर्छ ।” इङ्ग्ल्यान्ड तथा वेल्सको ल सोसाइटीका उपाध्यक्ष ब्रेट डिक्सनका अनुसार नियमित प्रकृतिका काम स्वचालित हुँदा कनिष्ठ वकिलहरूले जटिल कानुनी विषयमा गहिरो रूपमा सोच्ने र आफ्नो विशेषज्ञता विकास गर्ने थप समय र अवसर पाउनेछन् ।

नियमित प्रकृतिका कामभन्दा फरक पारिवारिक कानुन (फ्यामिली ल) वा मुद्दा लड्ने प्रक्रिया (लिटिगेसन) जस्ता कानुनी क्षेत्रहरू एआईबाट प्रत्यक्ष रूपमा कम प्रभावित हुने अपेक्षा गरिएको छ । तर, प्रोनरका अनुसार एआई एजेन्टहरू अदालतमा प्रस्तुत हुने मुद्दाको तयारी गर्न तथा कानुनी फर्मको प्रशासनिक (ब्याक अफिस) कामलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न अत्यन्त सक्षम बन्दै गएका छन् ।

प्रोनरका अनुसार यस पेशासामु अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको “परम्परागत प्रशिक्षणका धेरै काम स्वचालित भइरहेका बेला कनिष्ठ वकिलबाट वरिष्ठ वकिल बन्ने करिअरको बाटो कसरी सुनिश्चित गर्ने ?” भन्ने हो । उनको भनाइमा, स्नातक तहका विद्यार्थीहरूले अहिलेदेखि नै एआईसम्बन्धी सीप विकास गर्नुपर्छ । उनी भन्छन्, आजको समयमा एआई प्रयोग गर्ने क्षमता विगतमा माइक्रोसफ्ट वर्ड वा एक्सेल चलाउन जान्नु जत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ ।

उनका अनुसार कानुनी फर्महरूले अहिले उम्मेदवार छनोट गर्दा एआई प्रयोग गर्ने क्षमता पनि मूल्याङ्कन गर्न थालेका छन् । उनीहरू सम्भावित कर्मचारीलाई “तपाईं एआई कसरी प्रयोग गर्नुहुन्छ ? एआई प्रम्प्टमार्फत एप बनाउनुहुन्छ ? एआई एजेन्टसँग काम गर्नुहुन्छ ?” भन्ने प्रश्नसमेत सोध्ने गरेका छन् ।

प्रोनरका अनुसार कानुनी सेवाको आवश्यकता भएका मानिसको सङ्ख्या, कानुनी फर्महरूले सेवा दिन सक्ने क्षमताभन्दा धेरै बढी छ । त्यसैले एआईका कारण कानुनी सेवा प्रदान गर्ने लागत घट्दै जाँदा यस क्षेत्रमै नयाँ रोजगारीका अवसरसमेत बढ्न सक्ने उनको विश्वास छ ।

आतिथ्य सेवा (Hospitality)

नोभा स्कुल अफ बिजनेस एन्ड इकोनोमिक्स अन्तर्गतको वेस्टमन्ट इन्स्टिच्युट अफ टुरिजम एन्ड हस्पिटालिटीका शैक्षिक निर्देशक प्रोफेसर ग्राहम मिलरका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) ले होटल उद्योगमा रोजगारीको वितरणलाई पुनःसंरचना गर्न सक्छ। उनका अनुसार एआईका कारण रोजगारीहरू होटलका पछाडिका प्रशासनिक (ब्याक-अफिस) कार्यबाट ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुने (फ्रन्ट-अफिस) भूमिकातर्फ सर्न सक्नेछन्। 

उनका अनुसार आतिथ्य उद्योगमा मानव कर्मचारीको भूमिका सधैं रहनेछ। उनी भन्छन्, “केही समयअघि म बार्सिलोनाको एउटा होटलमा बसेको थिएँ। त्यहाँका कर्मचारीहरू साँच्चिकै न्यानो व्यवहार गर्ने, मानवीय र अतिथि सत्कारमा उत्कृष्ट थिए । उनीहरू आफैं बसेर कफी बनाएर दिन्थे । यस्तो काम एआईले गर्न सक्दैन ।”

उनका अनुसार उत्कृष्ट होटलहरूको पहिचान नै अतिथि र कर्मचारीबीचको आत्मीय मानवीय सम्बन्ध हो र यस्तो सम्बन्धलाई एआईले प्रतिस्थापन गर्नु हुँदैन । उनी भन्छन्, “आदर्श रूपमा एआईले नियमित र दोहोरिने कामहरू, जस्तै इमेलको जवाफ दिने, सम्हाल्नुपर्छ। त्यसो हुँदा म तपाईंसँग बसेर इमेलको चिन्ता नगरी खुलेर कुराकानी गर्न सक्छु। यही नै एआईको सही भूमिका हो ।” 

मिलरका अनुसार आतिथ्य उद्योगमा सिर्जनात्मक भूमिका, विशेषगरी सेफ (शेफ), नियमित सञ्चालनसम्बन्धी कामको तुलनामा एआईबाट कम प्रभावित हुने सम्भावना छ ।

संगीत, कला र मनोरञ्जन क्षेत्रसँग तुलना गर्दै उनी भन्छन्, “अहिलेको अवस्थामा एआईले वास्तवमै सिर्जनशील मानवीय कामको नक्कल गर्न सक्दैन । तर यसले सामान्य वा औसत स्तरका कामलाई भने चुनौती दिन सक्छ । उनका शब्दमा, “कुनै काम मानिसले बनाएको भन्दैमा त्यो स्वतः सिर्जनात्मक हुन्छ भन्ने होइन ।”

उनका अनुसार बर्गर पल्टाउने वा पिज्जा बनाउने जस्ता दोहोरिने पाककलासम्बन्धी काम भविष्यमा स्वचालित हुन सक्छन् । तर साँच्चिकै नयाँ र सिर्जनात्मक परिकार तयार गर्ने क्षमतामा भने एआई अझै पुगेको छैन ।

दक्ष जनशक्ति

फेडेरेसन अफ मास्टर बिल्डर्सका प्रमुख कार्यकारी अधिकृत ब्रायन बेरीका अनुसार एआईले निर्माण (कन्स्ट्रक्सन) क्षेत्रमा केही कामको स्वरूप परिवर्तन गर्न थालेको छ । तर यसको प्रभाव सबै क्षेत्रमा समान हुने छैन । उनी भन्छन्, “इँटा लगाउने, काठको काम र प्लास्टर गर्ने जस्ता प्रत्यक्ष सीपमा आधारित पेशाहरू एआईबाट कम प्रभावित हुन्छन् । यी क्षेत्रमा अझै पनि दीर्घकालीन र भरपर्दो रोजगारीको अवसर छ ।”

उनका अनुसार यो कुरा विशेषगरी स्थानीय साना निर्माण कम्पनीहरूमा काम गर्नेहरूका लागि अझ बढी लागु हुन्छ । उनका अनुसार भविष्यमा ठुला निर्माण आयोजनामा केही प्रत्यक्ष सीपमा आधारित कामहरू पनि स्वचालित हुन सक्छन् । तर त्यस्तो प्रविधि व्यापक रूपमा कार्यान्वयन हुन अझै केही समय लाग्ने उनको भनाइ छ। 

उनका अनुसार योजना तर्जुमा (प्लानिङ), लागत अनुमान (इस्टिमेटिङ) तथा अन्य प्रशासनिक कार्यालयका केही ‘ह्वाइट-कलर’ रोजगारीहरू एआईको प्रभावमा परिसकेका छन् । तर आगामी दिनमा घर विस्तार (एक्सटेन्सन) जस्ता स्थानीय निर्माण कार्य गर्ने दक्ष निर्माणकर्मी (बिल्डर) जस्ता व्यावहारिक सीपमा आधारित पेशाको महत्त्वलाई मानिसहरूले अझ बढी बुझ्ने उनको अपेक्षा छ ।

तर उनका अनुसार यस क्षेत्रमा समाजको धारणा (परसेप्सन) अझै पनि ठूलो चुनौती बनेको छ । फेडेरेसनले गरेको एक अध्ययनअनुसार ४७ प्रतिशतभन्दा कम अभिभावकले मात्र आफ्ना सन्तानलाई निर्माण क्षेत्रमा करियर बनाउन सिफारिस गर्ने गरेका छन् ।

बेरी भन्छन्, “यो अवस्था परिवर्तन हुनुपर्छ । दक्ष निर्माणकर्मीको माग निरन्तर बढिरहेको छ र एआईको प्रभावका बाबजुद पनि यस्ता पेशा टिकाउ छन् । त्यसैले निर्माण क्षेत्र भविष्य सुरक्षित र सन्तोषजनक करियर बन्न सक्छ, जसबारे धेरै मानिसले सोच्न आवश्यक छ ।”

बैंकिङ तथा वित्त 

ब्लुमबर्ग इन्टेलिजेन्सका वरिष्ठ बैंकिङ विश्लेषक टोमास नोएट्जेलका अनुसार एआईको प्रभाव सबैभन्दा बढी कल सेन्टर, ग्राहक सेवा, मिडल-अफिस सञ्चालन टोली, खुद्रा बैंक शाखाका कर्मचारी तथा आईटी सपोर्टसँग सम्बन्धित रोजगारीमा पर्ने सम्भावना छ ।

उनका अनुसार यी काममा धेरैजसो दोहोरिने र नियमित प्रकृतिका कार्य हुने भएकाले एआईमा आधारित सहायक प्रणालीले ती कामहरू क्रमशः सम्हाल्न सक्नेछन् । तर उनी थप्छन्, “यसको अर्थ यी रोजगारीहरू एकैचोटि वा रातारात समाप्त हुन्छन् भन्ने होइन ।”

उनका अनुसार आगामी दिनमा डेटा वैज्ञानिक (डेटा साइन्टिस्ट), एआई इन्जिनियर, सफ्टवेयर विकासकर्ता लगायतका प्रविधिसम्बन्धी पेशाको माग बढ्नेछ । बैंकहरूले विशेषगरी प्रविधि र डेटा-सम्बन्धी भूमिकामा रोजगारी वृद्धि हुने अपेक्षा गरेका छन् ।

उनी भन्छन्, “ग्राहकहरू आफ्नो लगानी पोर्टफोलियोबारे सधैं अद्यावधिक जानकारी चाहन्छन् । यस्तो सेवा एआईमार्फत प्रभावकारी रूपमा प्रदान गर्न सकिन्छ ।”

नोएट्जेलका अनुसार बैंकिङ क्षेत्रका थोरै मात्र रोजगारी एआईको प्रभावबाट पूर्ण रूपमा अछुतो रहनेछन् । तर उच्च स्तरको निर्णय क्षमता र विशेषज्ञता आवश्यक पर्ने भूमिकाहरू तुलनात्मक रूपमा सुरक्षित रहने देखिन्छ ।

ब्लुमबर्ग इन्टेलिजेन्सले युरोपेली बैंकहरूमाझ गरेको सर्वेक्षणअनुसार अनुसन्धान विश्लेषक (रिसर्च एनालिस्ट), अनुपालन तथा निगरानी विश्लेषक (कम्प्लायन्स एन्ड सर्भेलेन्स एनालिस्ट), जोखिम मोडलिङ विशेषज्ञ (रिस्क-मोडलिङ स्पेसलिस्ट) र आन्तरिक लेखापरीक्षक (इन्टरनल अडिटर) एआईबाट सबैभन्दा कम प्रभावित हुने रोजगारीमध्ये पर्छन् ।

यस्तै, ऋण मूल्याङ्कन (क्रेडिट अन्डरराइटिङ) मा पनि एआईको प्रयोग बढ्दै गएको भए पनि बैंकहरूले अन्तिम निर्णयमा मानवीय निगरानी र नियन्त्रणलाई अझै पनि अपरिहार्य मानिरहेका छन् ।

- द गार्डियन

पछिल्लो अध्यावधिक: साउन ७, २०८३ १७:४५