close

अनलाइन ठगी र मानव बेचबिखन रोक्न ‘एन्टि-साइबर स्क्याम सेल’ स्थापना गर्ने नेपाल प्रहरीको तयारी

टेकपाना टेकपाना

साउन १२, २०८३ १७:०

अनलाइन ठगी र मानव बेचबिखन रोक्न ‘एन्टि-साइबर स्क्याम सेल’ स्थापना गर्ने नेपाल प्रहरीको तयारी

काठमाडौं । नेपाल प्रहरीले अनलाइन विज्ञापन तथा डिजिटल सम्पर्कमार्फत हुने ठगी र मानव बेचबिखन रोक्न साइबर ब्युरो अन्तर्गत ‘एन्टि-साइबर स्क्याम सेल’ स्थापनाको प्रस्ताव अगाडि बढाएको छ । विश्व मानव बेचबिखन विरुद्धको दिवस, २०२६ को अवसरमा माइती नेपालको सहकार्यमा नेपाल प्रहरीले आयोजना गरेको “मानव बेचबिखन रोकथामः सबैको साझा जिम्मेवारी” विषयक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले अहिलेको डिजिटल युगमा अपराधको स्वरूप परिवर्तन भएको र अधिकांश पीडित अनलाइन विज्ञापन वा डिजिटल सम्पर्कमार्फत अपराधीको पहुँचमा पुग्ने गरेको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक कार्कीले भने, “स्क्याम सेन्टरबाट सञ्चालित यस्ता गिरोहलाई पहिचान गर्न नेपाल प्रहरीले साइबर ब्यूरोअन्तर्गत एन्टि-साइबर स्क्याम सेल स्थापना गर्ने प्रस्ताव पनि अगाडि बढाइसकेको छ ।”

आईजीपी कार्कीका अनुसार यस एन्टि-साइबर स्क्याम सेन्टरले साइबर स्लेभरी (अनलाइन दासता) र फोर्स्ड क्रिमिनालिटी (जबरजस्ती गराइने आपराधिक क्रियाकलाप) लाई न्यूनीकरण गर्ने बताए । यस संयन्त्रको माध्यमबाट वर्षमा हजारौँ नेपाली दिदीबहिनीहरू शोषित र पीडित हुने अवस्थालाई कम गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।

प्रविधिको प्रयोग गरी अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाइने उनले प्रतिबद्धता जनाए । आईजीपी कार्कीले अगाडि भने, “प्रविधिको माध्यमले एन्टि-साइबर स्क्याम सेल मार्फत अनुसन्धान र अभियोजनका कामलाई तीव्रता दिन सकिनेछ । पीडित भएका व्यक्तिलाई पीडित भइसकेपछि लामो समयको अनुसन्धानपश्चात पहिचान गर्नुभन्दा, लामो समयको अनुसन्धान गर्नुपर्ने अवस्थामै नपुर्‍याइकन सुरुमै रोक्न सक्ने अवस्था सिर्जना गर्नेतर्फ हाम्रो प्रयत्न रहनेछ ।”

पछिल्लो अध्यावधिक: साउन १२, २०८३ १७:४