close

एमबीएस प्रश्नपत्र लिक प्रकरणमा हालसम्म ३ पक्राउ: परीक्षा हलबाटै फोटो खिचेर लिक गरिएको खुलासा

टेकपाना टेकपाना

साउन १२, २०८३ १५:५४

एमबीएस प्रश्नपत्र लिक प्रकरणमा हालसम्म ३ पक्राउ: परीक्षा हलबाटै फोटो खिचेर लिक गरिएको खुलासा

काठमाडौं । गत शुक्रबार त्रिभुवन विश्वविद्यालयको एमबीएस (मास्टर्स इन बिजनेस स्टडिज) को प्रथम सेमेस्टरको परीक्षा सुरु भएको पाँच मिनेटमा नै प्रश्नपत्र लिक भएको घटनामा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वीरगञ्जबाट थप एक जना पक्राउ गरेसँगै पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको हो । 

पक्राउ पर्नेमा बाराको लिपनीमाल घर भई पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिम छन् । उनलाई सीआईबीले सोमबार पक्राउ गरेको हो । 

यसअघि आइतबार रौतहटमा राजदेवी नगरपालिका वडा नं ४ घर भएका अतुलकुमार मिश्र र कैलालीको घोडाघोडी नगरपालिका-११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ बस्ने ३३ वर्षीय सन्दीप सिंह पक्राउ परेका थिए । 

पक्राउ परेका मध्ये अब्दुल सानि विद्यार्थी रहेको खुलेको सीआईबीका प्रवक्ता अनुपम शमसेर जबराले बताए । उनले भने, “सानिले परीक्षा दिने क्रममा प्रश्नपत्र पाएपछि फोटो खिचेर पठाएको देखिएको छ । त्यो प्रश्नपत्र अतुलकुमार मिश्रले पाएको देखिएको छ ।” अतुलकुमार पनि विद्यार्थी नै रहेको तर एमबीएस प्रथम सेमेस्टरको विद्यार्थी भने नरहेको उनले बताए । 

उनले भने, “ह्वाट्सएप ग्रुपमा जो सुकैलाई पनि जोड्न मिल्ने भएकाले धेरै थरिकामा मानिसहरू जोडिएको देखिएका छन् ।” यस्तै ह्वाट्सएप ग्रुपमा ‘Sulab sir’ नामले विद्यार्थीहरू माझ चर्चित सन्दीप सिंह भने कोटेश्वरको हिमालय कलेज र बागबजारको केएमसी कलेजको शिक्षक रहेको पाइएको सूचना अधिकारी जबराले बताए । 

आरोपीहरूलाई शिक्षा ऐन, २० अन्तर्गत प्रश्न पत्रको गोपनियता भङ्ग गरेको कसुरमा सम्बन्धित अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उनले बताए । सूचना अधिकारी जबराले भने, “अहिलेसम्म कक्षामा प्रश्नपत्र पाएपछि विद्यार्थीले मोबाइलबाट प्रश्नपत्र खिचेर पठाएर लिक गरेको देखिएको छ । घटनाको विस्तृत अनुसन्धान हुन बाँकी छ ।” 

गत बिहीबार (७ साउन)बाट एमबीएस प्रथम सेमेस्टरको परीक्षा सुरु भएको थियो । परीक्षाको दोस्रो दिन अर्थात् शुक्रबार ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा भइरहेको समयमा ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र लिक भएको स्क्रिनशट त्रिवि स्टुडेन्ट्स नामको फेसबुक पेजमार्फत सार्वजनिक भएसँगै अनुसन्धान अघि बढाइएको थियो । 

उक्त विषयको परीक्षा दिउँसो १२ बजे सुरु भएको थियो । परीक्षा सुरु भएको पाँच मिनेटपछि दिउँसो १२:०५ मा पीडीएफ फाइल बनाएर ‘MBS 1st Sem Section C’ नामको एक हजार बढी विद्यार्थी भएको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र लिक भएको उक्त स्क्रिनशटमा देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८३ १५:५५