close

काठमाडौंमा आफ्नै पीओपी सर्भर राख्दै मेटा, फेसबुक-इन्स्टाग्राम अझै फास्ट चल्ने

टेकपाना टेकपाना

साउन १२, २०८३ १८:९

काठमाडौंमा आफ्नै पीओपी सर्भर राख्दै मेटा, फेसबुक-इन्स्टाग्राम अझै फास्ट चल्ने

काठमाडौं । विश्वकै अग्रणी प्रविधि कम्पनी मेटाले काठमाडौंमा प्रत्यक्ष रूपमा आफ्नै पोइन्ट अफ प्रेसेन्स (PoP) सर्भर स्थापना गर्ने घोषणा गरेको छ । काठमाडौंको म्यारियट होटेलमा आयोजित दक्षिण एसियाली क्षेत्रकै प्रतिष्ठित प्रविधि सम्मेलन सानोग ४४ को मञ्चबाट सोमबार यसको घोषणा गरिएको हो ।

यससँगै नेपालमा प्रत्यक्ष रूपमा आफ्नै भौतिक पूर्वाधार राख्ने मेटा पहिलो विश्वव्यापी दिग्गज प्रविधि कम्पनी बन्ने भएको छ । जुलाई २६-२८ सम्म काठमाडौंमा चलेको सानोग ४४ सम्मेलनको दोस्रो दिन आयोजित पियरिङ सम्बन्धी प्राविधिक सेसनका क्रममा मेटाका प्रतिनिधि म्याट जेन्सेनले यो विशेष घोषणा गरेका हुन् । जेन्सेनका अनुसार सन् २०२६ को अन्त्यसम्ममा काठमाडौंको मातातिर्थमा रहेको डेटा वर्ल्डको डेटा सेन्टरमा मेटाको आफ्नै पप पूर्वाधार स्थापना भई सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । प्राविधिक प्रक्रियाका कारण यसमा बढीमा एक-दुई महिना मात्र ढिलाइ हुन सक्ने उनले बताए ।

यसअघि गुगल, फेसबुक, टिकटक जस्ता विश्वचर्चित प्रविधि कम्पनीहरूले नेपालमा अप्रत्यक्ष रूपमा मात्र आफ्नो उपस्थिति जनाउँदै आएका थिए । उनीहरूले स्थानीय इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूसँग साझेदारी गरी उनीहरूकै डेटा सेन्टरमा आफ्ना क्याश सर्भरहरू राख्न लगाउने गरेका थिए । तर, मेटाले काठमाडौंमा सिधै आफ्नै भौतिक पूर्वाधार (PoP Server) स्थापना गर्न लागेपछि अब नेपालको इन्टरनेट ट्राफिक व्यवस्थापन र प्रयोगकर्ताको डिजिटल अनुभवमा व्यापक सुधार आउने निश्चित छ ।

हाल नेपालमा आयात हुने कूल अन्तर्राष्ट्रिय ब्यान्डविथको ठुलो हिस्सा मेटाका प्लेटफर्महरूले ओगटेका छन् । तथ्याङ्क अनुसार हाल नेपालमा करिब एक टीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ मेटा प्लेटफर्म (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर) ले खपत गर्दै आएका छन् । यो नेपालले आयात गर्ने कूल ब्यान्डविथ आयातको करिब २५ प्रतिशत जति हुन आउँछ ।

काठमाडौंमा मेटाको आफ्नै सर्भर स्थापना भए पश्चात् धेरैजसो डेटा स्थानीय स्तरमै स्टोर र आदानप्रदान हुनेछ । यसले गर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथमाथिको निर्भरता ह्वात्तै घट्नेछ र हाल भइरहेको ब्यान्डविथ आयातमा मेटा प्लेटफर्मको हिस्सा करिब ५ प्रतिशतमा सीमित हुने अपेक्षा गरिएको छ । यसले नेपाली इन्टरनेट सेवा प्रदायकहरूको ठुलो अन्तर्राष्ट्रिय ट्रान्जिट लागत बचाउनेछ । जसको लाभ नेपाली उपभोक्ताले सस्तो र तीव्र गतिको इन्टरनेटका रूपमा पाउन सक्नेछन् ।

स्थानीय स्तरमा मेटाको आफ्नै पूर्वाधार हुनुको अर्थ नेपाली प्रयोगकर्ताका लागि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्पिड निकै स्मुथ हुनु हो । जसका कारण फोटो, भिडिओ र रिल्स लोड हुँदा बफरिङ हुने समस्या हट्नेछ र लेटन्सी (डेटा आदानप्रदान हुन लाग्ने समय) समेत घट्नेछ ।

यसले नेपालभित्रको ट्राफिक विदेश घुमेर फेरि नेपालमै फर्किने ट्रम्बोनिङ (Tromboning) को प्राविधिक समस्यालाई कम गर्न ठुलो मद्दत गर्नेछ । जसले प्रयोगकर्ताको इन्टरनेट अनुभवलाई थप स्तरीय बनाउँछ ।

सानोग ४४ का क्रममा बोल्दै नेपाल इन्टरनेट एक्स्चेन्ज (एनपीआईएक्स) का अध्यक्ष रूपेश श्रेष्ठले मेटाको यस घोषणाले नेपाली इन्टरनेट समुदायलाई उत्साहित बनाएको बताएका छन् । उनले उपभोक्ताको अपेक्षा निरन्तर बढिरहेको र मेटाको आगमनले त्यसलाई सम्बोधन गर्न र नेपालको इन्टरनेट पूर्वाधारलाई थप सुदृढ बनाउन चुनौती र अवसर दुवै थपेको उल्लेख गरे ।

तीन दिने सम्मेलनमा देशी-विदेशी गरी प्रविधि क्षेत्रका सयौं सरोकारवालाहरू सहभागी छन् । मेटाको यो ऐतिहासिक कदमले आगामी दिनमा अन्य विश्वव्यापी प्रविधि कम्पनीहरूलाई पनि नेपालमै प्रत्यक्ष पूर्वाधार स्थापना गर्न आकर्षित गर्ने विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८३ १८:११