बैतडीमा निर्ममतापूर्वक कुटपिट गर्दै गोरुलाई भिरबाट खसाएको भिडिओ भाइरल, एक नाबालक पक्राउ
साउन १२, २०८३ १९:३१
काठमाडौं । सामाजिक सञ्जालमा मङ्गलबारदेखि एक नाबालकले गोरुमाथि निर्ममतापूर्वक कुटपिट गरेर भिरबाट खसालेको भिडियो भाइरल भइरहेको छ । भाइरल भिडियोमा भिरालो जङ्गलमा शान्त रूपमा चरिरहेको गोरुमाथि एक नाबालकले काठको मुङ्ग्रोजस्तो देखिने वस्तुले निर्ममतापूर्वक प्रहार गरेको देखिन्छ । उनले सुरुमा गोरुको खुट्टामा पटक–पटक प्रहार गर्छन् । त्यसपछि सोही वस्तुले गोरुको पेटमा घोच्ने र पिठ्यूँमा लगातार कुटपिट गर्दै गरेको देखिन्छ ।
यति धेरै कुटपिट हुँदासमेत गोरु चर्ने प्रयास गरिरहेको हुन्छ । त्यसपछि नाबालकले गोरुको टाउकामा लगातार प्रहार गर्न थाल्छन् । टाउकामा प्रहार भएपछि गोरु रन्थनिएर नियन्त्रण गुमाउँछ र अन्ततः भिरबाट तल खसेको दृश्य भिडियोमा देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार भाइरल भइरहेको उक्त घटना गत साउन ९ गते दिउँसो करिब साढे २ बजे पाटन नगरपालिकाको स्थानीय जङ्गलमा भएको हो । सिंहका अनुसार गोरुमाथि कुटपिट गर्ने व्यक्ति अन्दाजी १६ वर्षीय नाबालक हुन् र उनले कुटपिट गरेको गोरु उनकै स्वामित्वको रहेको खुलेको छ । भिरबाट खसालेपछि गोरुको मृत्यु भएको सिंहले जानकारी गराए ।
ती नाबालकलाई पशुपन्छीसम्बन्धी कसुरमा सोमबार नै पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले टेकपानासँग बताए ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८३ २०:१६
