close

निजी डोमेन सरकारी नियन्त्रणमा पुग्नुमा मर्कण्टाइलको कमजोरी

टेकपाना टेकपाना

जेठ २, २०७७ ९:४८

निजी डोमेन सरकारी नियन्त्रणमा पुग्नुमा मर्कण्टाइलको कमजोरी

काठमाडौं । निजी डोमेन सरकारी निकायको कब्जामा पुग्नुमा डोमेन रजिस्टर गर्दै आइरहेको मर्कण्टाइल कम्युनिकेसन प्रालीकै कमजोरी देखिएको छ । वर्क फ्रम होमको समयमा कम्पनीले कर्मचारीको कमजोरीका कारण डोमेन नेम सर्भर नै परिवर्तन हुन पुगेको भन्दै गल्ती स्वीकार गरेको हो ।

ईलर्निङ प्रालीको नाममा रहेको ईलर्निङ डट ईडीयू डट एनपी डोमेन बुधबारदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नियन्त्रणमा पुगेको थियो । यस विषयमा टेकपानाले व्यक्तिको नाममा रहेको डोमेन सरकारी कब्जामा परेको भन्दै समाचार समेत प्रकाशित गरेको थियो ।

मर्कण्टाइलको डोमेन डिपार्टमेण्ट हेड थुप्तेन बज्राचार्यले आफ्नै कर्मचारी झुक्किँदा त्रुटिपूर्ण रुपमा डोमेन परिवर्तन हुन पुगेको बताए । टेकपानासँगको कुराकानीमा उनले भने, ‘हामी सबै यतिखेर लकडाउनका कारण वर्क फ्रम होमको रुपमा काम गरिरहेका छौं,’ उनले भने, ‘नेम सर्भर परिवर्तनको अनुरोध ठानेर हाम्रो स्टाफ झुक्किँदा डोमेन नेम सर्भर नै परिवर्तन हुन पुगेको देखियो ।’

उक्त कमजोरीलाई आफूहरुले सच्याइसकेको उनले जानकारी दिए । उनले भने, ‘अहिले हामीले जसको नाममा दर्ता छ, उसैको नाममा डोमेन फिर्ता गरिदिएका छौं । कमजोरीका कारण पर्न गएको समस्याप्रति कम्पनी क्षमा चाहन्छ ।’

नियतपूर्ण रुपमा गरिएको कार्य नभएर एउटा कमजोरी मात्र भएकाले यो विषयलाई हाइज्याक भन्न नमिल्ने बज्राचार्यको भनाई छ ।

अहिले ईलर्निङ डट इडीयू डट एनपी डोमेन नेम प्रोपागेट समेत भइसकेको छ । ईलर्निङ प्रालिका प्रबन्ध निर्देशक विभोर बरालले डोमेन नेम फिर्ता पाएकोमा खुशी व्यक्त गरे ।

* सच्याइएकोः यस अघि शिर्षकमा समावेश हाइज्याक शब्दावली परिवर्तन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१