नेपालमा कहाँ, किन र कसरी प्रयोग हुनसक्छ फाइभजी ?

5G challenges of nepal article by ved p kafle

डा. वेदप्रसाद काफ्ले, फाइभजी विज्ञ

हामीले निरन्तर सुन्दै आएका छौं कि फोरजी नेटवर्कको तुलनामा फाइभजी नेटवर्कमा धेरै  ‘क्यापाबिलिटी’ (क्षमता) हुन्छ । फोरजीको तुलनामा फाइभजीले धेरै क्षमताको काम गर्न सक्छ ।

जस्तो फोरजीमा १ गिगाबिट प्रति सेकेन्डसम्मको अधिकतम दर हुन्छ भने फाइभजीमा २० गुणा बढी अर्थात् २० गिगाबिट प्रति सेकेन्डसम्मको पिक रेट हुन्छ । एक प्रयोगकर्ताले आफ्नो मोबाइल फोनमा साधारणतया १०० मेगाबिट प्रति सेकेन्डसम्मको अनुभव गर्न वा डेटा डाउनलोड र अपलोड गर्न सक्छं ।

हामीले यस्तो सेलुलर नेटवर्कमा बुझ्नुपर्ने अर्को कुरा भनेको ‘कनेक्टिभिटी डेन्सिटी’ हो । जस्तो कि एक किलोमिटरको दुरीमा कति डिभाइसहरु कनेक्ट गर्न सकिन्छ भन्ने कुरा यसमा हुन्छ ।

यो क्षेत्रफलमा फोरजीभन्दा फाइभजीमा दश गुणा बढी अर्थात १० लाख डिभाइसहरु कनेक्ट गर्न सकिन्छ । त्यस्तै मोबिलिटीको कुरा गर्दा फोरजीले ३५० किलोमिटर प्रति घण्टाको मोबिलिटी अर्थात गतिमा रहेको सवारीलाई सपोर्ट गर्छ ।

जब कि फाइभजीले ५०० किलोमिटर प्रति घण्टा स्पिडसम्म सपोर्ट गर्छ । यसको मतलब अहिलेको पछिल्लो बुलेट ट्रेनमा हिँडिराख्दा पनि फाइभजी सेवा राम्रोसँग प्रयोग गर्न सकिन्छं ।

त्यस्तै ‘एनर्जी इफिसियन्सी’ अर्थात ऊर्जा किफायतीको कुरा गर्दा फोरजीको तुलनामा फाइभजी १०० गुणा अगाडि छ । स्पेक्ट्रमको कुरामा पनि फाइभजीमा ३ गुणा बढी इफिसियन्ट अर्थात प्रभावकारी हुन्छ । यसको मतलब एउटै स्पेक्ट्रममा ३ गुणा बढी डेटा पठाउन सकिन्छ । 

फाइभजीमा उपलब्ध हुने सेवा 

अहिलेसम्म हामीले फोरजी प्रयोग गर्दा वा अहिलेसम्मको मोबाइल सेवाबाट हामीले पाउने सेवा भनेको एउटा भ्वाइस कल र अर्को इन्टरनेट सञ्चार हो । इन्टरनेटमा हेर्ने हो भने हामी डेटा डाउनलोड गर्न सक्छौं ।

भिडिओ हेर्न सक्छौं । हामीले बोकेका डिभाइसहरु जस्तै मोबाइल फोन, कम्प्युटर र हामीले सञ्चालन गर्ने डिभाइस इन्टरनटमा जोडिएका हुन्छन् । 

अब चौथो पुस्ता वा पाँचौं पुस्ताको नेटवर्क आइसकेपछि के हुन्छ त ? हामीले बोकेको डिभाइसका साथै हामीसँग म्यासिभ मशिन टाइप कम्युनिकेशन (एमएमटीसी) हुन्छ ।

जस्तै फ्याक्ट्रीका मसिनहरु, सेन्सरहरु, स्मार्ट मिटरहरु, स्मार्ट होम, स्मार्ट बिल्डिङ, मेडिकल उपकरण, स्वचालित गाडी, अग्मेन्टेड रियालिटी, भर्चुअल रियालिटी लगायत धेरै सेवा यसमा समावेश हुन्छन् ।

अहिले हामी विभिन्न ठाउँमा छरिएर भिडिओ कन्फ्रेन्समा भाग लिइरहेका छौं । अग्मेन्टेड र भर्चुअल रियालिटीका कारण हामी एउटै कोठामा बसेको भान पार्ने सूचना प्रविधिको विकास भइरहेको छ । 

यस्तो खालको सूचना प्रविधिका एप्लिकेशनमार्फत ठूलो मात्रामा डेटा पठाउनुपर्ने हुन्छ । अर्कोतर्फ त्यसको लेटेन्सी (एक विन्दुको इन्टरनेट सञ्चार अर्को विन्दुसम्म पुग्न लाग्ने समय) सानो हुनुपर्छ । त्यसका लागि फाइभजी आवश्यक हुन्छ ।

अहिले मानिसको संख्याभन्दा मसिन (डिजिटल उपकरण) को संख्या बढी छ ।  नेपालमै कूल जनसंख्याभन्दा ३० प्रतिशत बढी मोबाइल उपकरणको प्रयोग भएको पाइन्छ ।

साथै अन्य डिभाइसको प्रयोग उत्तिकै बढ्दो छ । यस्तो प्रणालीमा विभिन्न सेन्सर जोड्न सकिने भयो । जस्तो हाम्रो खेतीपाती गर्ने ठाउँमा माटोको स्तर नाप्ने सेन्सर, माटोको चिस्यान नाप्ने सेन्सर, बालीको अवस्था नाप्ने सेन्सर अथवा किरा फट्याङग्राको अवस्था नाप्ने सेन्सर राख्न सक्छौं ।

यस्तो अवस्थामा हामीले अनुमान गर्न सक्छौं कि कति धेरै डिभाइसहरु नेटवर्कमा जोडिन सक्छन् । यति धेरै डिभाइसहरलाई फाइभजी नेटवर्कले सपोर्ट गर्ने अनुमान गरिएको छ । 

प्राविधिक पाटो

अब अलिकति प्राविधिक पाटोको कुरा गरौं । फाइभजी नेटवर्क सिस्टमको प्राविधिक पक्ष फोरजीभन्दा धेरै नै फरक छ । जस्तै फाइभजी भनेको सफ्टवेयर डिफाइन नेटवर्क हो ।

यसमा नेटवर्क फङसन भर्चुअलाइजेशन (Network Function Virtualization) भन्ने कन्सेप्ट हुन्छ । यो भनेको एउटै पूर्वाधारमा विभिन्न खालका सेवाहरु दिन सकिन्छ । यसमा क्लाउड एज कम्प्युटिङ र कन्भर्जेन्स नेटवर्क हुन्छ ।

अहिलेसम्म सर्भरबाट प्रयोगकर्ताको डिभाइसमा डेटा डाउनलोड गर्ने‍ डमी पाइपजस्तो थियो भने अब फाइभजीमा गएपछि यो डम्मी पाइप नभएर ‘स्मार्ट कमन प्लेटफर्म फर डाइभर्स सर्भिसेस’ वा त्यहींभित्रै क्लाउड सर्भर नेटवर्क हुन सक्छ । त्यहीँ कम्प्युटेसनल सर्भरहरु हुन सक्छन् ।

त्यस्तै हामीले डाउडलोड गरेको ठूलो मात्राको डेटा (मिडिया) हुन सक्छ । यस्तो डेटा चाहिँ हाम्रो नजिकै एजमा राख्न सकिन्छ । यो समग्र इकोसिस्टम फाइभजी नेटवर्क सिस्टममा हुन्छ । 

रेडियो फ्रिक्वेन्सी

त्यस्तै रेडियो फ्रिक्वेन्सीको कुरा गरौं । अहिलेसम्म प्रयोगमा रहेको ६ गिगाहर्जभन्दा तलको फ्रिक्वेन्सीको कुरा गर्ने हो भने यसलाई हामीले वाईफाईमा वा सेलुलर सिस्टमका लागि प्रयोग गरिरहेका छौं ।

यसमा पनि फाइभजीको स्पेक्ट्रम छ । नेपालमा १८०० मेगाहर्ज वा १.८ गिगाहर्जको फ्रिक्वेन्सीलाई छुट्याउँदै छौं । फाइभजीका लागि ३.६ र ४.५ को फ्रिक्वेन्सी पनि छ ।

जापानमा २८ गिगाहर्जको फ्रिक्वेन्सी निर्धारण भइसकेको छ । समग्रमा ४०, ३९, ९० गिगाहर्ज सम्मको फ्रिक्वेन्सीमा फाइभजी चलाउन सकिन्छ ।

म अनुसन्धानको क्षेत्रलाई प्रतिनिधित्व गर्छु । अनुसन्धानको पक्ष हेर्दा पाँचौं पुस्ताको नेटवर्क व्यवस्थापन अहिलेको फोरजीभन्दा पूर्ण रुपले फरक छ ।

यसमा एआई र मसिन लर्निङमा आधारित नेटवर्क म्यानेजमेन्ट हुन्छ । फाइभजीमा नेटवर्क व्यवस्थापत जटिल भएर आउँछ । यसमा सेवा नै व्यक्तिगत वा क्षेत्रगत किसिमको हुन्छ ।

जस्तो कृषि क्षेत्रमा जडान भएको सेवा, हाम्रो घरमा टेलिभिजन जोड्न प्रयोग गरिने सेवा, अटो ड्राइभिङका लागि प्रयोग हुने सञ्चार सेवा फरक–फरक हुन्छ ।  फाइभजीको आवश्यकता, गुणस्तर, ब्याण्डविथजस्ता पक्षलाई व्यवस्थापन गर्न जटिल हुन्छ ।

यसमा स्रोत साधन पनि शेयर गर्न सकिने किसिमको हुन्छ । यसमा क्लाउड, अप्टिकल फाइबर, वायरलेस रेडियो लिंक यी सबैलाई भर्चुलाइजेसन प्लेटफर्ममा रिसोर्स एडजस्ट गर्ने, ब्याण्डविथ एडजस्ट गर्ने, डेटा कम्पिटेसन एडजस्ट गर्नुपर्ने हुन्छ ।

यदि यसमा रिसोर्स सीमित छ भने एर्बिट्रेशन (Arbitration) गर्नपर्ने हुन्छ । कुन सेवालाई बढी प्राथमिकता दिने, कसको बढाउने, कसको घटाउने, कुन बेला एडजस्ट गर्ने लगायतका काम यसमा हुन्छन् ।

यस्तो बेलामा मसिन लर्निङ सिस्टम र आर्टिफिसियल इन्टेलिजेन्सका टेक्निकहरु प्रयोग गरेर अटोमेसनमा जानुपर्छ । सेवाको गुणस्तरसँगै सेवाग्राहीलाई उत्कृष्ट अनुभव प्रदान गर्ने सेवा आवश्यक हुन्छ । 

नेपालका लागि फाइभजीमा अवसर र चुनौती

स्वभावतः नेपालमा पनि फाइभजीमा धेरै अवसर छ । यसमा मानिसले बोक्ने डिभाइस मात्रै होइन, मसिन सेन्सर, बस, कार, रेल सबै जोड्न सकिन्छ ।

अहिले नेपालको सहरी क्षेत्रमा रहेको ठूलो समस्यामध्ये प्रदुषण एक हो । प्रदुषण पहिचान गर्ने र यसलाई घटाउन फाइभजी नेटवर्कको प्रयोग गर्न सकिन्छ ।

त्यस्तै काठमाडौंमा ट्राफिक जामको समस्यालाई स्मार्ट रुपले व्यवस्थापन गर्न फाइभजीको भूमिका महत्वपूर्ण हुन सक्छ । दैवीप्रकोप व्यवस्थापन गर्न यो सहयोगी हुन सक्छ ।

फाइभजीको सन्दर्भमा अर्को अवधारणा पनि छ । यो हो लोकल फाइभजी । यो अहिले जापान लगायतका केही देशमा प्रयोग गर्न थालिएको छ ।

यस्तो अवधारणा भनेको एउटा निश्चित फ्याक्ट्री, अस्पताल, विद्यालय लगायतलाई अटोमेसन गर्न छुट्टै फाइभजी नेटवर्क बनाउनु हो । नेपालमा अहिले लोकल फाइभजी स्पेक्ट्रमको कुरामा चर्चा भइसकेको जस्तो लाग्दैन ।

जापानमा चाहिँ ४.५ गिगाहर्ज र २८ गिगाहर्ज ब्याण्डमा लोकल फाइभजी स्पेक्ट्रम छुट्याइएको छ ।नेपालको सन्भर्भमा दैवीप्रकोप व्यवस्थापन, स्मार्ट कृषि, ई–हेल्थ केयर लगायतका लागि फाइभजी प्रयोग गर्न सक्छौं ।

अहिले स्मार्ट फ्याक्ट्रीको कुरा पनि आइरहेको छ । नेपाल पनि विस्तारै औद्योगिक क्रान्तितर्फ जानुपर्छ ।

इन्डस्ट्रियल रोबोट कन्ट्रोल, टेलिमेडिसिन, ई–हेल्थ लगायतमा पनि फाइभजीको भूमिका महत्वपूर्ण हुन सक्छ । त्यस्तै हामीले एआर, भीआरको प्रयोग गरेर पर्यटन प्रवर्द्धन (भर्चुअल टुरिजम) समेत गर्न सक्छौं । 

फाइभजी भनेको अहिलेका दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले दिएको कनेक्टिभिटी मात्रै होइन । यो त क्लाउड सर्भर, इन्टरनेट सेवाप्रदायक, दूरसञ्चार कम्पनी, प्लेटफर्म प्रदायक र सेवा क्षेत्रका सरोकारवालाहरुको सम्मिश्रण वा एउटा इकोसिस्टम हो ।

यस्तो इकोसिस्टम सहकार्यमा आधारित हुनुपर्छ । बजारमा एक किसिमको व्यावसायिक प्रतिस्पर्धा हुन्छ । त्यो अर्कै कुरा हो ।

तर एउटा कानूनी प्रारुपमा बसेर सहकार्यमा आउनुपर्छ । अनि मात्र हामीले फाइभजी सिस्टमको अधिकतम उपयोग गर्न सक्छौं । 

त्यस्तै पूर्वाधारको कुरा गरौं । जापानमा पनि अहिले फाइभजी आइसकेपछि नयाँ दूरसञ्चार कम्पनी निस्केको छ, राकुटेन मोबाइल ।

यो कम्पनीले फाइभजीका लागि पूर्वाधार शेयरिङ गर्न सक्ने भर्चुअलाइजेसनको प्लेटफर्म प्रयोग गरेर काम गरिरहेको छ । नेपालमा अहिलेसम्म दुई/तीन वटा सेवाप्रदायको आधिपत्य छ । अब नयाँ क्यारियर पनि आउन सक्छ । 

हामीले दूरसञ्चारलाई व्यवस्थापन गर्ने हो भने कुन ब्याण्डविथलाई कसरी नियन्त्रण गर्ने, वेबलेन्थ कसले प्रयोग गरिरहेको छ, कसरी क्यापाबिलिटी एक्स्पोजर गर्ने भन्ने विषय प्रविधि र नीति दुवैमा भर पर्छ । 

फाइभजीमार्फत स्थानीय समस्याहरुलाई राम्ररी सम्बोधन गर्न सकिन्छ भन्ने मान्यता राखिएको छ । तर हामीकहाँ स्थानीय समस्यालाई एक्स्प्लोर (पहिचान) गर्न  रिसर्च टिम कमजोर छ ।

कमजोर हुने कारण अनेक होलान् । पहिलो कुरा त नियमित अनुसन्धानका लागि फण्डिङ नै छैन । ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) लाई अनुसन्धानको क्षेत्रमा प्रयोग गर्न सकिन्छ कि भन्ने आवाज पनि कहिलेकाहिँ उठ्ने गरेको छ ।

फाइभजीबाट नयाँ नयाँ सेवा दिन सकिन्छ भनिएको छ । तर यसका लागि हामीसँग पर्याप्त अनुसन्धान छैन । 

वास्तवमा नयाँ प्रविधि अवलम्बन गर्दा पर्याप्त अनुसन्धान आवश्यक हुन्छ । जापानमा सन् २०१० देखि नै फाइभजीको अनुसन्धान भइरहेको छ ।

फाइभजी भर्चुअलाइज पूर्वाधार हो । यसो भन्नेबित्तिकै क्लाउड नेटवर्क फङ्सन यसले सपोर्ट गर्नुपर्छ ।

जापानीहरुले फोरजीमा लगानी गर्दाखेरी नै भर्चुअलाइज पूर्वाधार सपोर्ट गर्ने र नोडहरु (स्वीच, राउटर आदि) लाई एसडीएन सपोर्ट गर्ने किसिमको बनाए । यस्तै गरी रणनीतिक र नीतिगत रुपमा नै नयाँ प्रविधिको सही र उत्कृष्ट प्रयोग गर्ने कुरा अनुसन्धानबाटट आउने हो ।

अर्कोतर्फ लोकल नलेज जेनेरेसन र शेयरिङका लागि प्राज्ञिक, पेशागत र प्राविधिक कमिटिहरु आवश्यक हुन्छन् । मैले नेपालमा यसको अभाव देखेको छु ।

यससँग सम्बन्धित विज्ञता, अनुभव, ज्ञानको कमीका कारण फाइभजी सेवाको पर्याप्त लाभ लिन सक्दैनौं कि भन्ने चुनौती रहन्छ । अर्को कुरा फाइभजीका लागि एउटा मात्र भेन्डरसँग भर पर्दा दीर्घकालीन असर पर्न सक्छ । यसबारेमा बेलैमा ध्यान दिन आवश्यक छ । 

माइग्रेसनको कुरा गर्ने हो भने फोरजीबाट फाइभजीमा जाँदा नेटवर्कमा विभिन्न किसिमका कनेक्सन, आईएस, स्वीचका कुराहरु आउँछन् । कुन ठाउँमा हामी फाइभजीको सेवा सोच्दै छौं, त्यसअनुसार यसको कार्यान्वयन फरक हुने हो ।

यदि सहरमा सोच्दै छौं भने सहरको कुन ठाउँमा नेटवर्कको कुन क्षमता प्रयोग गरेर सेवा दिने भन्नका लागि क्यापासिटी एक्सपोजर चाहिन्छ । अहिले अधिकांश स्ट्यान्डर्ड टेक्नोलोजीमा क्यापासिटी एक्सपोजर गरिएको छ । 

जापानमा मैले बुझेअनुसार ज्वाइन भेन्चरमा क्रमिक रुपमा फोरजीबाट फाइभजीमा सपोर्टिङ नोडहरुले प्रतिस्थापन गरियो । अहिले तिनै ठाउँमा फाइभजी सेवाहरु ‘प्लग एन्ड प्ले’ जस्तो गरेर अट्याच गर्न सकिएको छ । 

नेपालमा पनि यी कुराहरु हामीले नीतिगत रुपमा नै लक्षित गर्न सक्यौं भने फोरजीबाट फाइभजीमा जान सजिलो हुन्छ । फाइभजीको म्यानेजमेन्टमा प्याराडाइम सिफ्ट हुँदै छ ।

यस्तो अवस्थामा अटोमेसन नगरिकन हामी नयाँ सर्भिसको सुरुवात र कार्यान्वयन गर्न सक्दैनौं । त्यस्तै क्वालिटी अफ सर्भिस (सेवाको गुणस्तर) मनिटरिङ (अनुगमन) पनि गर्न सक्दैनौं ।

अनि रिसोर्स एडजस्टमेन्ट (श्रोत साधन व्यवस्थापन) पनि गर्न सक्दैनौं । फाइभजी पूर्ण रुपमा अटोमेसन र मार्केट–ड्रिभन (स्वचालित र बजारबाट निर्देशित) प्रविधि हो ।

विकसित देशमा निजी क्षेत्र बलियो छ । साथै निजी क्षेत्र, अनुसन्धान र सरकारका बीचमा समन्वय भएर अनुसन्धान फण्डिङ पनि उपलब्ध छ ।

नेपालमा पनि फाइभजीको परीक्षणको कुरा गरिरहँदा पाइलट प्रोजेक्टका रुपमा लोकल फाइभजीकै मोडलमा कुनै कार्यालयमा गर्‍यौं भने धेरै प्रभावकारी हुन सक्छ । यस्तो परीक्षणबाट हिडन च्यालेन्जहरु (लुकेका चुनौति) के के उजागर भए थाहा पाउन सकिन्छ । 

विकसित देशमा अनुसन्धान गर्न सजिलो हुँदो रहेछ । आईसीटी (सूचना तथा सञ्चार प्रविधि) का सन्दर्भमा अनुसन्धानको सुरुवात विकसित देशबाटै हुन्छ ।

जापानमा नभए अमेरिकामा हुन्छ । अमेरिकामा नभए युरोपमा हुन्छ । यसरी अरु देशमा भएका अनुसन्धान र विकास प्रायः यिनीहरुले एक अर्कामा प्रयोग गर्छन् ।

तर हाम्रो जस्तो विकासोन्मुख देशमा अनुसन्धान मौलिक हुनुपर्छ । हामीले जापानमा यस्तो भयो, यही गर्नुपर्छ भनेर हुँदैन । फाइभजी त सेवा प्रदान गर्ने प्लेटफर्म हो । जुन ठाउँमा जे सर्भिस चाहिन्छ, त्यही प्लेटफर्म चाहिन्छ ।

हाम्रो स्थानीय आवश्यकतालाई बुझेर त्यसको पूर्ति गर्ने सेवा यसमा भएकाले नेपालमै पर्याप्त अनुसन्धान हुनुुपर्छ । यसका लागि टेलिकम कम्पनी, नियामक, स्थानीय सरोकारवाला सहितको साझा प्लेटफर्म बनाएर अनुसन्धान कार्य गर्न सकिन्छ ।

यही वैशाख ११ मा टेकपानाको दूरसञ्चार नीतिगत बहस कार्यक्रममा फाइभजी विज्ञ विज्ञ डा. वेदप्रसाद काफ्लेले व्यक्त गरेको विचारको सम्पादित अंश । काफ्ले नेश्नल इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी टोकियोमा रिसर्च म्यानेजरको रुपमा कार्यरत छन् । साथै उनी जापान स्थित युनिभर्सिटी अफ इलेक्ट्रोकम्युनिकेसन्सका भिजिटिङ असोसिएट प्रोफेसर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team