close

‘हेलो सरकार’ मा प्राविधिक झमेला हटाउन आफ्नै एप र एआईको खाँचो

सच्चिदानन्द चौधरी सच्चिदानन्द चौधरी

जेठ १९, २०८३ १६:४८

‘हेलो सरकार’ मा प्राविधिक झमेला हटाउन आफ्नै एप र एआईको खाँचो

काठमाडौँ । नागरिकका गुनासा सुन्ने र सरकारप्रति जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालनमा रहेको हेलो सरकार संयन्त्रलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउन अपरिहार्य भइसकेको छ । हाल नागरिक एपमार्फत गुनासो दर्ता गर्दा बारम्बार प्राविधिक त्रुटि देखिने, प्रणाली ढिलो चल्ने, १० ओटाभन्दा बढी गुनासाहरूको सूची नदेखिने र विवरणहरू कपी गर्न नमिल्ने जस्ता समस्याले यो प्रणाली प्रभावकारी हुन सकेको छैन ।

त्यसैगरी, हेलो सरकारको वेब पोर्टल प्रयोग गर्दा प्रत्येक पटक ओटिपी मागिने, आफ्नै ठेगाना पटक-पटक भर्नुपर्ने र झन्झटिलो क्याप्चा प्रणालीका कारण सर्वसाधारणलाई गुनासो दर्ता गर्न निकै कठिनाइ भइरहेको छ ।

यस व्यवस्थालाई सुधार्दै हेलो सरकारको सेवा प्रवाहलाई आमूल परिवर्तन गर्न वेब पोर्टल र नागरिक एपको मात्र भर नपरी हेलो सरकारको आफ्नै छुट्टै र अत्याधुनिक मोबाइल एप निर्माण गरी देहायका सुविधा समावेश गर्न आवश्यक छ ।

१. छुट्टै हेलो सरकार एप 

नागरिक एपका प्राविधिक समस्या र वेब पोर्टलको झन्झटिलो प्रक्रिया (ओटिपी, क्याप्चा र बारम्बार ठेगाना टाइप गर्नुपर्ने बाध्यता) बाट मुक्ति दिन हेलो सरकारको आफ्नै स्वतन्त्र (डेडिकेटेड) र सरल एप निर्माण गरिनुपर्छ । यसका लागि हरेक मन्त्रालयले छुट्टाछुट्टै एप बनाउनु पर्दैन । बरु यही एउटै एपभित्र सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूलाई समेटिनुपर्छ र सबैका लागि एकीकृत प्रणाली (वन ईमेल/ग्रीड फर अल) हुनुपर्छ ।

२. गुनासो ट्र्याकिङ र प्रतिक्रिया 

एपभित्रै नागरिकले आफ्नो गुनासो कुन चरणमा पुग्यो भनी सजिलै ट्र्याक गर्न सक्ने, पुराना गुनासाहरूको सूची हेर्न मिल्ने र काम सम्पन्न भएपछि चित्त बुझे वा नबुझेको प्रतिक्रिया (फिडब्याक बटन) दिन सक्ने सहज व्यवस्था हुनुपर्छ ।

३. जिम्मेवार निकाय र अधिकारीको विवरण 

दर्ता भएको गुनासो कुन कार्यालयसँग सम्बन्धित छ र त्यसलाई सम्बोधन गर्ने जिम्मेवार अधिकारी को हो भन्ने विवरण पारदर्शी रूपमा एपमा देखिनुपर्छ । यसो गर्न सके कर्मचारीको जवाफदेहिता बढ्छ ।

४. परिमार्जन र हटाउने सुविधा (Edit & Delete Option)

गुनासो दर्ता गरिसकेपछि थप प्रमाण वा सूचना समावेश गर्नुपरेमा थप जानकारी राख्न मिल्ने, गल्ती भएमा सच्याउन मिल्ने र आवश्यक परेमा गुनासो फिर्ता लिन वा हटाउन मिल्ने विकल्प नागरिकलाई दिइनुपर्छ ।

५. एआईको प्रयोग

प्राप्त भएका हजारौँ गुनासालाई स्वचालित रूपमा वर्गीकरण गर्न, सम्बन्धित मन्त्रालय वा विभागमा तुरुन्तै पठाउन र गुनासोको गम्भीरता हेरी प्राथमिकता तोक्नका लागि एआई प्रविधिको प्रयोग गरिनुपर्छ ।

यस प्रकारको प्रविधिमैत्री र आधुनिक एपको विकासले हेलो सरकारको काममा गतिशीलता ल्याउने मात्र नभई शासकीय पारदर्शिता र नागरिक सन्तुष्टिलाई समेत नयाँ उचाइमा पुर्‍याउने विश्वास गर्न सकिन्छ ।

(लेखक चौधरी पिपरा, महोत्तरीका स्थानीय नागरिक हुन् ।)

पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ १७:७