close

स्मार्ट लाइसेन्सको लागि अनलाइन फाराम भर्नेको सङ्ख्या छ लाख नाघ्यो, कार्यालयमै पुगेर पनि आवेदन दिन सकिने

मेनुक्श मेनुक्श

कात्तिक २२, २०७८ १०:२४

स्मार्ट लाइसेन्सको लागि अनलाइन फाराम भर्नेको सङ्ख्या छ लाख नाघ्यो, कार्यालयमै पुगेर पनि आवेदन दिन सकिने

काठमाडौं । सवारी लाइसेन्सको आवेदन दिनेको सङ्ख्या छ लाख नाघेको छ । वैशाखमा आवेदन खुल्दा ३ लाख बढी आवेदन परेको र कात्तिक ८ देखि खुलेको आवेदनमा पनि ३ लाख बढीले फाराम भरेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए । 

विभागले दुवै पटक आवेदन खुला गर्दा अनलाइन प्रणालीमा पटक पटक समस्या देखिएको थियो । सिस्टममा समस्या देखिए पनि उल्लेख्य सङ्ख्यामा आवेदन परेको भुषालले बताए । 

अनलाइन सिस्टममा समस्या देखिएपछि मङ्सिर १५ सम्मका लागि पुरानै प्रणालीबाट आवेदन पनि खुला गरिएको प्रवक्ता भुषालले बताए । ‘लाइसेन्सको लागि आवेदन दिन चाहनेले मङ्सिर १५ गतेसम्म यातायात कार्यालयमै आएर फाराम बुझाउन पनि सक्छन्,’ उनले भने ।  

कोरोना महामारीलाई कारण देखाउँदै विभागले लामो समयसम्म लाइसेन्सको लागि आवेदन दिने सेवा रोक्दा लाइसेन्स बनाउनेको सङ्ख्या धेरै देखिएको छ । 

करिब छ महिनासम्म बन्द रहेको सवारी चालक अनुमति पत्रको लागि अनलाइन आवेदन दिन सकिने सेवा कात्तिक ८ गतेबाट खुलेको हो । सेवाग्राहीको सहजताका लागि अनलाइन आवेदन प्रणाली सुरु गरिएको भए पनि प्रणालीमा पटक पटक समस्या देखिदा सेवाग्राहीले सास्ती पाएका छन् ।  

‘हामीले सकेसम्म सेवालाई प्रभावकारी बनाउने प्रयास गरिरहेका नै हुन्छौँ । तर निषेधाज्ञाका कारण यति धेरै चाप बढ्यो कि सामान्य अवस्थामा काम गर्ने सफ्टवेयरले समेत काम गर्न मुस्किल पर्‍यो,’ प्रवक्ता भुषालले भने, ‘हामीले प्रयोग गरेको सफ्टवेयर २०१५ मा जडान गरिएको हो । बढेको चापलाई सफ्टवेयरले धान्न सकेन र यस्तो भयो । सिस्टममा समस्या आएपछि, हाम्रा कर्मचारीहरूले दुई रातसम्म नसुतेर रातदिन खटेर सिस्टममा भएको समस्या समाधान गर्नुभएको छ । अब भने फेरि यस्तो समस्या नआउला भन्ने विषयमा हामी आशावादी छौँ ।’

यातायात व्यवस्था विभागमा काम गरिरहेका इन्जिनियर सन्तोष पोखरेल सिस्टममा देखिएको अधिकांश समस्या समाधान भइसकेको दाबी गर्छन् । भन्छन्, ‘सिस्टममा आएको ८० प्रतिशत समस्या समाधान भइसकेको छ, बाँकी काम एक-दुई दिनमै समाधान हुने छ । 

आवेदन खुला भएपछि दैनिक १५ लाखले वेबसाइट भिजिट गरेको पोखरेलले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५