close

थाहा पाइराख्नुहोस्, गाडीको टायरमा प्रयोग हुने टीपीएमएस प्रविधि र यसको काम

टेकपाना टेकपाना

चैत १८, २०७८ १२:३२

थाहा पाइराख्नुहोस्, गाडीको टायरमा प्रयोग हुने टीपीएमएस प्रविधि र यसको काम

काठमाडौं । गाडीको टायरमा आवश्यकता भन्दा कम प्रेसर छ भने टायर बिग्रिने सम्भावना त रहन्छ नै । सँगसँगै यसले गर्दा अन्य किसिमका दुर्घटनाका हुने जोखिम पनि उच्च रहन्छ ।

त्यसैले टायरहरूमा उचित प्रेसर छ कि छैन भनेर जाँच गर्ने एउटा विद्युतीय प्रविधि टीपीएमएस अर्थात् ‘टायर प्रेसर मनिटरिङ सिस्टम’को विकास भएको हो । 

यो प्रविधिले सेन्सरहरूको प्रयोग गरी प्रत्येक टायर भित्रको हावाको चापलाई मनिटर अर्थात् निगरानी गर्दछ । लामो दुरीमा चल्ने ट्रक, स्पोर्ट्स युटिलिटी भेइकल (एसयूभी) कारसँगै पछिल्लो समय सार्वजनिक हुने विद्युतीय कारहरूमा यस्तो प्रविधि प्रयोग गरिएको हुन्छ । 

गाडीमा जडान भएका सेन्सरले टायरको अवस्थाको बारेमा कारको कम्प्युटर प्रणालीमा जानकारी पठाउँछ र ड्यासबोर्डमा रहेको इन्डिकेटर लाइट ट्रिगर गर्दछ । अहिले केही गाडीहरूमा टीपीएमएसले ईमेल वा टेक्स्ट अलर्टबाट समेत सवारी चालकहरूलाई स्वचालित रुपमा अलर्ट गर्न सक्छन् ।

टायर भित्र राखिएका सेन्सरहरूले सवारी साधनमा रहेको एउटा वा एकभन्दा बढी मोड्युलहरूमा त्यसको जानकारी पठाउँदछन् । यस्ता मोड्युलहरूलाई टायर प्रेसर निर्धारण गरी पूर्ववत् रुपमा प्रोग्रामिङ गर्न सकिन्छ ।

जसको नतिजास्वरूप, गाडीको एक वा बढी टायर उक्त दायराभन्दा बाहिर गएमा तपाईँलाई अलर्ट आउँछ । केही प्रणालीहरूले टायरको तापमान दायराभन्दा बाहिर छ वा कुनै चुहावट वा क्रस एक्सल त्रुटि रहेको छ भने पनि पत्ता लगाउन सक्छन् ।

जसमा दुई फरक प्रकारका टायर प्रेसर मनिटरिङ सिस्टम राखिएका हुन्छन् :

१. डाइरेक्ट टीपीएसमएसः 

डाइरेक्ट टीपीएमएसले प्रत्येक टायरमा रहेको वाटरप्रूफ हार्डवेयर सेन्सरको प्रयोग गरेर टायरको प्रेसर नाप्ने काम गर्दछन् । हरेक टायरमा प्रेसर सेन्सर सहितको ब्याट्री भल्भ इस्टिममा रहेको हुन्छ ।

जसले प्रेसरको जानकारी ‘सेन्ट्रल कन्ट्रोल युनिट’ अर्थात सीपीयूमा पठाउँछ । यो एकाईले गाडीको सूचना प्रणालीमा टायरको चाप र तापमान उच्च वा कम जुन अवस्थामा छ, त्यसको डेटा रिपोर्ट गर्दछ । 

२. इन-डाइरेक्ट टीपीएमएसः

इन-डाइरेक्ट टीपीएमएसले भौतिक सेन्सरभन्दा सफ्टवेयरमा आधारित प्रणालीबाट टायरमा रहेको हावाको प्रेसर नाप्ने काम गर्दछ ।

त्यस्तै, सफ्टवेयरले टीपीएमएस, एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) मार्फत टायरमा रहेको हावाको चाप निगरानी गर्दछ । एबीएसले प्रत्येक टायरको व्यासमा रहेको भिन्नता मापन गर्दै टायरको चापको जानकारी संकलन गर्दछ । 

यसरी टायरमा प्रेसर कम वा बढी भएर हुन सक्ने जोखिम न्यूनीकरण गर्नुका साथै तपाईँले प्रयोग गर्ने गाडीमा सुरक्षा कायम राख्न र टायरको आयु लम्ब्याउनका लागि त्यसमा उपयुक्त प्रेसर रहेको कुरा सुनिश्चित गर्न आवश्यक हुन्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३