close

वर्ल्डलिङ्कका निर्देशक भन्छन्- इन्टरनेट शेयर गर्दा जेल जानुपर्नेसम्मको अवस्था आउन सक्छ

टेकपाना टेकपाना

चैत २०, २०७८ १६:२७

वर्ल्डलिङ्कका निर्देशक भन्छन्- इन्टरनेट शेयर गर्दा जेल जानुपर्नेसम्मको अवस्था आउन सक्छ

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सका निर्देशक मनोज अग्रवालले प्रयोगकर्तालाई आफ्नो इन्टरनेट तथा वाई-फाईको पासवर्ड अरुसँग शेयर नगर्न आग्रह गरेका छन् । पासवर्ड शेयर गर्दा अनावश्यक झन्झटमा पर्न सक्ने र असुरक्षाको स्थिति आउन सक्ने भन्दै उनले यस्तो आग्रह गरेका हुन् । 

‘यदि तपाईँले पासवर्ड शेयर गर्नुभयो र त्यसबाट कुनै किसिमको गैरकानूनी काम भयो भने सम्बन्धित निकायबाट अनुसन्धान हुँदा कहाँबाट त्यस किसिमको गतिविधि भएको हो भन्ने कुरामा छानविन अगाडि बढ्छ,’ उनी भन्छन् ।

‘त्यसक्रममा आईपी एड्रेस र युजर नेम आउँछ । यति भइसकेपछि प्रहरीले तपाईँलाई नै समात्छ । यस्तो अवस्थाबाट बच्नका लागि आफ्नो इन्टरनेटको पासवर्ड शेयर नगर्नुहोस् । नत्र तपाईँलाई अनावश्यक टाउको दुखाई हुने मात्र होइन, जेल जानुपर्ने सम्मको अवस्था आउन सक्छ ।’ 

कसैले नचाहिँदो काममा इन्टरनेट दुरुपयोग गर्‍यो र त्यो विषय सीआईबी अथवा साइबर ब्युरोसम्म पुग्यो भने छानविन हुँदा सम्बन्धित घरबेटी अथवा जसको नाममा उक्त इन्टरनेट कनेक्सन छ, उही अफ्ट्यारोमा पर्न सक्ने भन्दै अग्रवालले सचेत रहन आग्रह गरेका छन् ।

‘यदि कसैले ह्याकिङ गरिरहेको छ भने सामान्यतयाः त्यो हामीलाई थाहा हुँदैन,त्यसमा गम्भिर किसिमको अनुसन्धान नगरेसम्म,’ उनी भन्छन्, ‘त्यसैले वाई-फाई तथा इन्टरनेटको पासवर्ड अरुसँग शेयर नगर्न हामी बारम्बार ग्राहकलाई आग्रह गरिरहेका हुन्छौँ ।’

त्यसो त अहिलेका प्रयोगकर्ता अलिकति सचेत पनि भइसकेका छन् । त्यस्ता प्रयोगकर्ताले वाई-फाई वा इन्टरनेट शेयरिङका लागि आग्रह गर्दा आफ्नो छुट्टै कनेक्सन लिन सुझाउने गरेका हुन्छन् । किन भने त्यसबाट अर्को व्यक्तिले इन्टरनेटमा के गर्छ वा गर्दैन तपाईँलाई थाहा हुँदैन । 

‘शेयरिङ त भइरहेकै छ । वाई-फाई वा इन्टरनेट शेयरिङ सबै हिसाबले गलत भन्ने खोजिएको पनि होइन,’ अग्रवाल भन्छन् ।उदाहरणको लागि तरकारी बजार वा सार्वजनिक स्थानमा वाई-फाई शेयरिङ भइरहेको हुन्छ ।

तर घरायसी इन्टरनेटमा भने सुरक्षाकै कारणले शेयरिङ घटिरहेको र अझै घट्ने निश्चित रहेको उनी बताउँछड्ढन् । इन्टरनेट सदुपयोग भइरहेको छ कि दुरुपयोग भइरहेको छ भन्ने कुरा प्रयोगकर्तामा निर्भर हुन्छ । 

‘पहिले भाडामा बसिरहेको मान्छेलाई इन्टरनेट शेयरिङ गर्ने चलन निकै हुन्थ्यो । अहिले मूल्य निकै सस्तो भइसकेको छ,’ निर्देशक अग्रवाल भन्छन्, ‘यस्तोमा भाडामा बस्नेले पनि आफ्नो छुट्टै इन्टरनेट तथा वाई-फाई कनेक्सन लिन खोज्छन् ।’

इन्टरनेट सेवाप्रदायकहरूले  प्राधिकरणलाई लामो समयदेखि वाई-फाई शेयरिङ रोक्नुपर्ने र त्यसका लागि आवश्यक नियम बनाउनु पर्ने भन्दै आग्रह गर्दै आएको उनी बताउँछन् । ‘किन भने जथाभावी रुपमा इन्टरनेट तथा वाई-फाईको पासवर्ड शेयर गर्ने र सेकेन्डरी राउटर जोडेर इन्टरनेट चलाउन दिँदा सुरक्षाको खतरा रहन्छ,’ उनी भन्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३