close

अर्को चुनावमा पनि भोटिङ मसिन प्रयोग नभए हामी पछि हट्नुको विकल्प हुँदैन

राम रिमाल राम रिमाल

जेठ ३, २०७९ २१:३९

अर्को चुनावमा पनि भोटिङ मसिन प्रयोग नभए हामी पछि हट्नुको विकल्प हुँदैन

२०६८ मा भएको उप चुनावका क्रममा भारतबाट आयात गरेर पहिलो पटक नेपालमा भोटिङ मसिनको प्रयोग गरियो । दल तथा उम्मेदवारको सङ्ख्या थोरै भएका कारण त्यो सम्भव भएको थियो । तर पछि अर्को चुनावमा प्रयोग गर्ने सन्दर्भमा भोटिङ मसिनमा बटन नपुगेको समाचार आयो ।

भारतमा बनेको त्यो सिस्टमले दल ६४ भन्दा बढी हुँदा काम नगर्ने भयो । त्यतिखेर नेपालमा १२५ दलको सङ्ख्या । समानुपातिकमा सबै दल समेट्नुपर्ने । हाम्रो जस्तो चुनावी प्रक्रिया भएको परिस्थितिमा त्यसले काम गर्न सक्ने अवस्था थिएन । किन भने हाम्रो भर्खरै सम्पन्न स्थानीय चुनामा छ ठाउँमा सात भोट हाल्नुपर्ने हुन्छ ।

राष्ट्रिय सभामा एकल संक्रमणीय पद्धति अनुरूप मतदान हुने गर्छ । अनि संसदीय चुनावमा प्रत्यक्ष र समानुपातिकको व्यवस्था छ ।  नेपालको यस किसिमको मौलिक अभ्यास अनुरूप हुनेगरि विदेशमा भोटिङ मसिन बनेको हुँदैन ।

उनीहरूले नेपालको चुनावी प्रक्रिया बुझेका हुँदैनन् । जसले गर्दा त्यसपछि नेपालमा भारतीय भोटिङ मसिन प्रयोग हुन सकेन र त्यसको ‘च्याप्टर क्लोज’ भयो । यस किसिमको जटिलता र आवश्यकता बुझेपछि हामीले नेपालमै भोटिङ मसिन बनाउन थाल्यौँ । त्यसको पाँच छ महिनामै पाँच छ महिनामै प्रोटोटाइप तयार भयो ।

तत्कालीन समयमा शङ्कर कोइराला निर्वाचन आयोगमा सचिव हुनुहुन्थ्यो । उहाँलाई फोन गरेर मसिनको जानकारी दिँदै प्रयोग गर्न सक्ने सम्भावनाको बारेमा जानकारी गराएँ । उहाँले त्यही दिन समय मिलाएपछि मसिन देखायौँ । त्यस क्रममा आयोगका सबै आयुक्त र कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो । 

मसिनको बारेमा आएका जिज्ञासाअनुसार अनुसार सबै कुरा बतायौँ । त्यसमा स्वस्तिक छाप भर्चुअल रुपमा लगाइन्थ्यो । उहाँहरू सबै एकदमै प्रभावित हुनु हुन्थ्यो । त्यसपछि उहाँहरूकै सल्लाहमा प्रोटोटाइपलाई परिस्कृत गर्दै भोटिङ मसिनको दोस्रो संस्करण विकास गर्‍यौँ ।

निर्वाचन आयोगले उपलब्ध गराएका निर्वाचन पद्धति तथा प्रक्रिया अनुसार मत दान सुरु हुनेदेखि अन्त्य भएपछि सम्मका सबै प्रक्रियालाई त्यसमा समावेश गरेका थियौँ । आयोगमा त्यतिखेर निर्वाचन शिक्षा तथा सूचना केन्द्र थियो ।

त्यहाँ विभिन्न स्कुलका विद्यार्थीहरूलाई नेपालको निर्वाचन प्रक्रिया देखाउने र बुझाउने गरिन्थ्यो । केन्द्रमा नेपालमा चुनाव सुरु भएदेखिको इतिहास बारे जानकारी लिन पाइन्थ्यो ।  त्यही ठाउँमा हाम्रो एउटा मसिन पनि राख्यौँ ।

नयाँ हुँदा कहिले काहीँ हाम्रो भोटिङ मसिन देखाउँथे । पछि विस्तारै देखाउनै छोडे । त्यसको कारण के थियो, थाहा भएन । आयोगले प्राथमिकता नदिएपछि हामीले उक्त भोटिङ मसिन आफ्नै कार्यालयमा फिर्ता ल्यायौँ र परिष्कृत गर्दै लग्यौँ । त्यस पछिका हरेक चुनाव आउनु अगावै आयोगमा गएर के के चाहिन्छ त्यसै अनुसार मसिनलाई अपडेट तथा अपग्रेड गर्दै लग्यौँ । 

पछि २०७० तिर हाम्रो भोटिङ मसिनको विषयमा अध्ययन गर्न आयोगले एउटा कार्यदल बनायो । जुन आयोगका तत्कालीन सहसचिव तथा सूचना प्रविधि शाखाका प्रमुख मातृका श्रेष्ठको संयोजकत्वमा बनेको थियो । (पछि उहाँ बित्नु भयो)

मिटिङ बस्न पनि दबाव दिनुपर्थ्यो । उक्त कार्यदलले मुस्किलसँग दुई तीन मिटिङ गर्‍यो । उहाँहरूको समय नै नहुने । खासै उपलब्धि निस्किन सकेन । आयोगका तत्कालीन आयुक्त र सचिवहरूसँग अनेकौँ मिटिङ गर्‍यौँ । पछि उहाँहरूले राजनीतिक दलहरूमा जान र भातृ सङ्गठनको चुनावमा मसिन प्रयोग गर्न सुझाउनु भयो ।

सरकारले गर्ने निर्वाचनमा दलहरूको सहमति आवश्यक पर्ने  र यसबाट क्रमशः हाम्रो भोटिङ मसिनप्रति राजनीतिक दलहरूमा विश्वास पैदा गर्ने उहाँहरूको तर्क थियो । यस क्रममा तपाईँको सिस्टम पनि परिपक्व होस् भन्ने कुरा गरे । 

उहाँहरूकै सल्लाहमा दलका ससाना चुनावमा भोटिङ मसिन प्रयोग गर्न तर्फ थाल्यौँ । त्यस बखतसम्म हामीले विद्युतीय भोटिङ मसिनको तेस्रो संस्करण विकास गरिसकेका थियौँ । 

नेकपा एमालेको महाधिवेशनमा हाम्रो भोटिङ मसिन प्रयोग गर्ने निश्चित भयो । हामीले पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन पनि सुरु गरिसकेका थियौँ । त्यसैबीच माधव नेपाल पक्षले चुनावको अघिल्लो दिन एभरेष्ट होटलमा बोलाउनु भयो ।  उहाँले हाम्रो मसिनको विश्वसनीयता, मत बदर हुन सक्ने अवस्था आदि बारे बुझ्न खोज्नु भएको रहेछ ।

हामीले उहाँहरूकै आग्रहमा साथमा भोटिङ मसिन पनि लिएर गएका थियौँ । मसिनलाई एउटा टेबलमा राखेर हामी उहाँहरूका प्रश्न तथा जिज्ञासा मेट्ने प्रयासमा थियो । उहाँहरूले मसिन ह्याक हुने सम्भावनाको कुरा गर्नु भयो । हाम्रो उक्त मसिनमा इन्टरनेट तथा बाहिरको अन्य कुनै पनि डिभाइस जोड्न मिल्ने ठाउँ थिएन ।

जुन रियल टाइम अपरेटिङ सिस्टममा चल्ने गरी बनाइएको थियो । यही कारण देखाउँदै हामीले हाम्रो भोटिङ मसिन ह्याक नहुने कुरा गर्‍यौँ । तर उहाँहरूले ‘गुगल समेत ह्याक हुन्छ भने भोटिङ मसिन ह्याक हुँदैन भनेर हुन्छ ?’, भन्दै प्रश्न तेर्छ्याउनु भयो ।

तर उहाँहरूले हाम्रो मसिन छुँदा पनि छुनु भएन । हेर्दा पनि हेर्नु भएन । ‘हुन्छ, जानुहोस् हामीले तपाईँहरूको कुरा बुझ्यौँ’ भनेर उहाँहरूले हामीलाई बिदा गर्नु भयो  । भोलि पल्ट एमालेका नेता रघुजी पन्तले जुनसुकै बेला क्र्याश हुन सक्ने देखिएकाले महाधिवेशनमा भोटिङ मसिन प्रयोग गर्न नसकिने भनेको भन्दै  समाचार आयो ।

हामीले त्यही दिन रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गर्‍यौँ । त्यसक्रममा महावीर पुन, पुल्चोक क्याम्पसबाट डा नन्दविक्रम अधिकारी लगायत अन्य विज्ञ पनि हुनुहुन्थ्यो । हामीले रघुजी पन्तले भने जस्तो होइन भनेर स्पष्ट पार्‍यौँ । 

चुनावको दुई दिन अघि मात्रै यस्तो कुरा आयो । त्यतिञ्जेलसम्म एमालेको चुनाव गराउने प्रयोजनका लागि भोटिङ मसिनमा हाम्रो लगानी भइसकेको थियो । पछि हामीले भोटिङ मसिन प्रयोग नभए पनि हामीलाई सम्झौता अनुसारको क्षतिपूर्ति चाहिन्छ माग गर्‍यौँ । पछि २० लाख रुपैयाँ क्षतिपूर्ति पनि पायौँ । 

तर त्यसपछि जहाँ गए पनि त्यही प्रश्नको सामना हामीले गर्नुपर्ने हुन्थ्यो । यद्यपि त्यसपछिको एमालेकै संसदीय चुनावमा हाम्रो भोटिङ मसिन प्रयोग भयो । एमालेकै कास्की जिल्लाको चुनावमा पनि त्यसलाई प्रयोगमा ल्याइयो ।  त्यसपछि क्रमशः कमल थापा नेतृत्वको राप्रपा नेपाल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ लगायतको चुनाव पनि सफलतापूर्वक सम्पन्न गरायौँ । 

नयाँ मसिन, के-कसो हो भन्ने कुरा आएका थिए । हामीले त्यसको जवाफ प्रयोगबाटै दिइसकेका थियौँ । यसरी अहिलेसम्म हामीले ९९ ओटा चुनाव सफलतापूर्वक सम्पन्न गरेका गरेका छौँ । सबैभन्दा बढी नेपाल जेसिजले लगातार सात ओटा चुनावमा हाम्रो भोटिङ मसिन प्रयोग गरेको छ । 

पछिल्लो पटक चितवनमा सम्पन्न एमालेको महाधिवेशनमा हाम्रो विद्युतीय भोटिङ मसिन प्रयोग भयो । हाम्रो मसिनले बढी ‘एक्सपोजर’ पायो । त्यसपछि हाम्रो मसिन धेरैले चिन्ने भए ।  यस्ता चुनावमा भोट गन्ने सन्दर्भमा धाँधलीका कुराहरू रहन्थे । भोटिङ मसिनले त्यस किसिमको सम्भावना दूर  गरिदिएको छ । 

एमालेको महाधिवेशन पछि राप्रपा नेपालको महाधिवेशनमा पनि यो भोटिङ मसिन प्रयोग भयो । जसबाट कुमार लिङ्गदेन राप्रपा नेपालको अध्यक्ष बने र त्यसपछि कमल थापा अलग भए । मसिन प्रयोग गर्ने सन्दर्भमा कमल थापा दृढ थिए । यद्यपि अध्यक्ष बाहेकका पदमा मात्रै मसिन प्रयोग भएको थियो । 

८० मसिनले हामीले राप्रपा नेपालको महाधिवेशनको चुनाव सम्पन्न गरेका थियौँ । राप्रपाको काठमाडौं जिल्ला अधिवेशनमा पनि पनि हाम्रै भोटिङ मसिन प्रयोग भएको थियो । पार्टीका एक जना कार्यकर्ता रक्सी पिएर आएका थिए ।

उनले हाम्रो मसिन निकालेर भुईँमा पछारिदिए । पछि कमल थापाले उनलाई कारबाही पनि गरे । तर उक्त मसिनमा भएको डेटामा क्षति पुगेन । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्न छुट्टै कार्यदल गठन गरिएको थियो ।

७ दिनको अध्ययन पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त संयोजकत्वको उक्त कार्यदलले आफ्नो प्रतिवेदन बुझायो । जसमा नेपाल गुणस्तर विभाग, कम्पनी रजिष्ट्रार, उद्योग विभाग आदिका महानिर्देशकहरू पनि कार्यदलमा सम्मिलित थिए । कार्यदलले चुनावमा हाम्रो भोटिङ मसिन प्रयोग गर्न सम्भव छ भन्ने रिपोर्ट दिएको थियो ।

तर रिपोर्ट गइसकेपछि यो मसिनको प्रमाणीकरण कसले गर्ने भन्ने प्रश्न उठाइयो । विद्युतीय भोटिङ मसिन प्रमाणीकरण नेपालका लागि नयाँ विषय थियो । त्यसका लागि नेपालमा कुनै आधिकारिक निकाय छैन । निर्वाचन आयोगले बनाएको कार्यदलको प्रतिवेदन लत्याउँदै भोटिङ मसिन प्रयोग हुन नसक्ने अवस्थामा पुर्‍याइयो । 

वास्तवमा आयोगले नै यसलाई जटिल बनायो । यो मसिनमा एउटा ‘ट्रान्जेक्सन’बाट अर्को ‘ट्रान्जेक्सन’को बीचमा चेन छ । जसलाई ‘ट्रान्जेक्सन चेन इफेक्ट सिस्टम’ भन्ने गरिन्छ । जसमा ह्यास (सिग्नेचर) प्रयोग गरिएको हुन्छ, जुन डिजिटल सिग्नेचरकै प्राथमिक रुप हो । त्यसो त हाम्रो भोटिङ मसिनमा डिजिटल सिग्नेचरको पनि व्यवस्था छ ।

ह्यासले गर्दा मतदाताले गरेको भोटिङ एकपछि अर्को नयाँ ह्यासमा थपिँदै जान्छ । एवम् रितले ह्यास हुँदै अन्त्यसम्म ह्यासले नै सम्पन्न हुन्छ । त्यस बीचमा जति ‘ट्रान्जेक्सन’ हुन्छन्, त्यसक्रममा बिगार्न खोज्यो भने ‘ह्यास’मा पहिरो जान्छ ।

यसको अर्थत पाईँले ‘क’मा भोट हाल्नु भएको थियो, तर मैले डेटा बेसमा गएर ‘क’ को भोटलाई ‘ख’ बनाएँ भने मसिनले रिजल्ट निकाल्ने बेला परिवर्तन भएको देखाउँछ ।  सिग्नेचर परिवर्तन भएको अवस्थामा त्यस अघिका सबै भोट बिग्रिने गर्दछन् । सम्भवतः भोटिङ मसिनमा यो प्रविधि नेपाल बाहिर पनि प्रयोगमा आएको छैन । (मेरो बुझाईमा)

विद्युतीय रेकर्ड मात्रै मान्य हुँदैन, सँगसँगै भौतिक रेकर्ड पनि आउनुपर्छ भनेर भारतीय अदालतले भनेपछि हामीले पनि त्यो कुरा राख्नुपर्‍यो भनेर हामीले त्यसमा पनि काम गरेका छौँ । त्यसअनुसार तपाईँले जुन दल वा उम्मेदवारलाई चिन्ह लगाउनु भयो, त्यसको प्रिन्ट प्रिभ्यु पनि देखिन्छ र भोट खसालेपछि त्यसको प्रिन्ट सानो बक्समा जम्मा हुन्छ ।

‘प्रिन्टिड ब्यालोट पेपर’ले ‘भोटर भेरिफायबल प्रिन्टेड पेपर अडिट ट्रेल’ तयार पारेको हुन्छ । कुनै बेला मसिन बिग्रियो वा आगजनी नै भयो भने पनि त्यस्तो अवस्थामा प्रिन्टको रुपमा बसेको मत गणना गर्न सकिन्छ । जसले गर्दा पुनः चुनाव गराइरहनु पर्दैन । यदि कसैलाई मसिनमा शङ्का नै लाग्यो भने पनि प्रिन्टेड भोट गणना गरेर यकिन गर्ने विकल्प रहन्छ । 

वास्तवमा हामीले जुन बेलामा यो सिस्ट विकास गर्‍यौँ, त्यसका लागि बजार तयार थिएन । अहिले पनि निर्वाचन आयोग नै तयार नभएकाले प्रयोगमा आउन नसकेको हो । हामीलाई कमिसन चाहियो त भनेका छैनन् ।

पहिले नै किनेको प्रिन्टिङ प्रेस थन्काएर नयाँ ठेक्का दिइएका समाचारहरू आइरहेका छन् । कतिपयले पैसा नदिएका कारणले तिमीहरूको मसिन प्रयोग नभएको हो भन्ने पनि गर्छन् । अहिले जनता र नेता सबैलाई चुनावको नतिजा चाँडो चाहिएको छ । त्यसमाथि १० प्रतिशतभन्दा बढी मत बदर हुने अवस्था छ । त्यसले धेरै ठूलो अर्थ राख्छ ।

एक दुई प्रतिशत मत बदर हुनु छुट्टै कुरा हो । यति धेरै मत बदर हुँदा पुनः चुनाव गराउनु पर्ने अवस्था पनि आउन सक्छ । भोटिङ मसिन प्रयोग गर्न सकेको भए तत्काल नतिजा आउँथ्यो । पचासौँ पटक गणना गर्दा पनि एउटै नतिजा आउने थियो । 

चुनावमा हार्ने पक्ष धेरै हुन्छन्, जित्ने एउटा मात्रै हुन्छ । हार्नेलाई कथं कदाचित चलखेल गर्न पाएँ भने जित्छु भन्ने हुन्छ । त्यस्ता दलहरूले पनि भोटिङ मसिन प्रयोग गर्न चाहँदैनन् भन्ने लाग्छ । नेपालमा अझै प्रविधिमा विश्वास गर्ने वातावरण बनिसकेको छैन ।  नयाँ काम गरौँ भन्ने भावना आयोगका आयुक्तहरूमा देखिँदैन । 

प्राविधिक रुपमा हामी असक्षम होइनौँ । प्राविधिक भन्दा अरु पाटोको कारणले चुनावमा भोटिङ मसिन प्रयोग हुन नसकेको हो । आयोगले प्रमाणीकरणको प्रश्न उठाएपछि अहिले हामीले हार्डवेयरका लागि सीई सर्टिफिकेट (युरोपियन स्ट्यान्डर्ड) लिएका छौँ । यो मसिन प्रयोग गर्दा म्याग्नेटिक असर हुँदैन भन्ने सर्टिफिकेट पनि आएको छ ।

हाम्रो लक्ष्य त यसलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने हो । १० वर्षको अवधिमा यसमा हाम्रो थुप्रै पसिना खर्च भएको छ । हामीलाई नेपालमा यसको बिजनेस गर्नु छैन । हामीले एसिया-अफ्रिकासम्मको बजार हेरिरहेका छौँ । 

भीएपीटी, सोर्स कोड रिभ्यु पनि प्राप्त भइसकेको छ । अबको चुनावमा प्रमाणीकरणको कुरा रहँदैन भन्ने लाग्छ । नेपालमै प्रयोग नभएर हामीले हाम्रो भोटिङ मसिन विश्वका अन्य देशमा लैजान सकेका छैनौँ । यसमा ‘कन्ट्रिअफ ओरिजिन’ को कुरा आउँछ । त्यो नेपाल नै हो । नेपालको सरकारी चुनावमा प्रयोग भएको उदाहरण दिन सक्ने अवस्थामा हामी छैनौँ ।

आयोगले भोटिङ मसिन प्रयोग गरिदेओस्, बरु सफ्टवेयर हामी निःशुल्क रूपमा उपलब्ध गराउँछौ । हार्डवेयर सरकार आफैँले बनाओस् । हाम्रो लक्ष्य त यसलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने हो । १० वर्षको अवधिमा यसमा हाम्रो थुप्रै पसिना खर्च भएको छ । हामीलाई नेपालमा यसको बिजनेस गर्नु छैन । हामीले एसिया-अफ्रिकासम्मको बजार हेरिरहेका छौँ । 

चुनाव आउन दुई महिना बाँकी हुन्छ, तपाईँ कति मसिन दिन सक्नुहुन्छ भन्ने कुरा गर्नु हुन्छ । हामीले पछिल्लो पटक आयोगलाई १५०० मसिन दिन सक्छौ भनेका थियौँ । यो वर्ष कम्तिमा पनि २० देखि १०० मसिन भए पनि प्रयोग हुन्छ भन्ने आशामा थियौँ । हामी गर्छौँ भन्छौँ ।

अबको चुनावमा संसदीय चुनावमा पनि भोटिङ मसिन प्रयोगमा ल्याउन सकेनौँ भने हामी यसमा असफल भयौँ भनेर हात उठाउँछौँ । जेजे भए पनि हाम्रो सिस्टम अनुसार हामीले काम गर्न सकेनौँ भनेर चित्त बुझाउँछौँ ।

तर आयोगका मान्छे भ्याउँदैनौँ भन्ने जवाफ दिन्छन् । हामी जन्मे हुर्केको यहीँ हो । निराशाका कुरा गर्दैनौँ । तर अबको संसदीय चुनावमा पनि भोटिङ मसिन प्रयोगमा ल्याउन सकेनौँ भने हामी यसमा असफल भयौँ भनेर हात उठाउँछौँ ।

जेजे भए पनि हाम्रो सिस्टम अनुसार हामीले काम गर्न सकेनौँ भनेर चित्त बुझाउँछौँ । धेरै ठुलो अपेक्षा पनि छैन । हाम्रो मसिन किनेर राख्न पनि भन्दैनौँ । अब आउने आम चुनाव हाम्रो लक्ष्य हो । कुनै न कुनै स्तरमा प्रयोग हुन्छ भन्नेमा हामी आशावादी छौँ । 

(नेपालमै विद्युतीय भोटिङ मसिन बनाएका राम रिमालसँगको कुराकानीमा आधारित)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२