close

आन्तरिक रूपमा सुरु भयो टेलिकमको ई–सिम, आगामी हप्ता आम प्रयोगकर्ता माझ आउने

टेकपाना टेकपाना

भदौ १९, २०७९

आन्तरिक रूपमा सुरु भयो टेलिकमको ई–सिम, आगामी हप्ता आम प्रयोगकर्ता माझ आउने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजबाट आफ्ना कर्मचारीलाई इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउन थालेको छ । यसअघि नै आन्तरिक परीक्षण सफल भइसकेको ई-सिम सार्वजनिक गर्नु अघि कम्पनीले पहिलो चरणमा आफ्ना कर्मचारीलाई उपलब्ध गराएको हो ।

टेलिकमले हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई–सिम ल्याउन लागेको हो । “आजबाट कर्मचारीलाई ई–सिम उपलब्ध हुन थालेको छ,” टेलिकम स्रोतले टेकपानासँग भन्यो, “आगामी साताबाट सफ्ट लञ्चको रुपमा ई–सिम आम प्रयोगकर्तामाझ आउने छ । सफ्ट लञ्च भएको केही समय पश्चात मात्रै यसको व्यवसायिक सुरुवात हुनेछ ।”

यद्यपि टेलिकमले अघिल्लो साता नै यो सेवा सार्वजनिक गर्ने तयारी थालेको थियो । तर, कम्पनीको बोर्डलाई जानकारी गराउनु पर्ने भएकाले केही ढिलाई हुन पुगेको बताइएको छ । अघिल्लो साता टेलिकम बोर्डले ई–सिम सार्वजनिक गर्ने योजना अगाडि बढाउन अनुमति दिएसँगै आजबाट आन्तरिक रुपमा कर्मचारीबीच सेवा उपलब्ध गराउन थालिएको हो ।

टेलिकमका अनुसार आगामी साताबाट उपलब्ध हुने ई–सिमका लागि ग्राहक भौतिक रूपमै कार्यालयसम्म पुग्नु पर्नेछ । सुरुमा भौतिक उपस्थितिलाई नै मान्यता दिइए पनि क्रमशः अनलाइनमा रूपान्तरण गर्ने कम्पनीको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९