३१ करोड खर्चेर टेलिकमले किनेको बिजनेस इन्टेलिजेन्स सिस्टम ५ वर्षपछि बल्ल सञ्चालनमा
जेठ २५, २०८३ २१:५७
काठमाडौँ । नेपाल टेलिकमले करिब ५ वर्षअघि खरिद गरेको बिजनेस इन्टेलिजेन्स सिस्टम अन्ततः पूर्ण रूपमा सञ्चालनमा आएको छ । महालेखा परीक्षकको कार्यालयले विगतका प्रतिवेदनहरूमा यो प्रणाली प्रयोग विहीन रहेको भन्दै प्रश्न उठाउँदै आएकोमा कम्पनीले सबै प्राविधिक र सुधारात्मक कार्यहरू सम्पन्न गरी यसलाई व्यावसायिक सञ्चालनमा ल्याएको हो ।
टेलिकमले यो प्रणालीका लागि ११ मङ्सिर २०८२ मा प्रोभिजनल एक्सेप्टेन्स सर्टिफिकेट जारी गर्दै यसलाई संस्थाको केन्द्रीय विश्लेषणात्मक प्लेटफर्मको रूपमा प्रयोगमा ल्याएको छ । १३ नोभेम्बर २०२० मा करिब ३१ करोड ६७ लाख रुपैयाँ (२६ लाख ६१ हजार अमेरिकी डलर) खर्चेर खरिद गरिएको यो उपकरण लामो समयसम्म जडान र सञ्चालन नहुँदा कम्पनीको आय सुनिश्चिततामा जोखिम रहेको भन्दै आलोचना भइरहेको थियो ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले साढे पाँच वर्षअघि खरिद गरिएका उपकरणहरू प्रयोग विहीन अवस्थामा रहेको र आयमा हुन सक्ने क्षतिको जोखिम न्यूनीकरण गर्न यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएको थियो ।
टेलिकमका अनुसार यो प्रणाली अहिले पूर्ण रूपमा सञ्चालनमा रही विभिन्न व्यावसायिक तथा प्राविधिक विश्लेषणात्मक कार्यहरूमा नियमित रूपमा प्रयोग भइरहेको छ ।
के-के काम गर्छ यो प्रणालीले ?
यो प्रणालीले संस्था भित्रका विभिन्न निर्देशनालय र विभागहरूलाई तथ्यमा आधारित निर्णय लिनका लागि आवश्यक विश्लेषणात्मक प्रतिवेदनहरू र ड्याशबोर्डहरू उपलब्ध गराइरहेको छ । यस प्रणालीमार्फत मुख्य रूपमा कलहरूको प्रवृत्ति र गुणस्तरको विश्लेषण, आम्दानीको प्रवृत्ति र राजस्व सुनिश्चितताको परीक्षण, कुन सेवा वा प्याकेज ग्राहकले बढी मन पराएका छन् भन्ने विश्लेषण र कार्यकारी तहमा तत्काल निर्णय लिनका लागि एक्जुकेटिभ ड्याशबोर्ड प्राप्त गर्न सकिन्छ ।
यो प्रणालीले व्यवस्थापनदेखि सञ्चालन तहसम्मलाई ग्राहकको व्यवहार, सेवा उपयोग र नेटवर्क कार्यसम्पादन सम्बन्धी तत्काल (Real-time) र ऐतिहासिक (Historical) विश्लेषण उपलब्ध गराउँछ । कम्पनीले आफ्नो आवश्यकता अनुसार यसबाट कस्टमाइज्ड प्रतिवेदनहरू समेत प्राप्त गरिरहेको छ ।
१७० वटा भर्चुअल मसिन सञ्चालनमा
बिजनेस इन्टेलिजेन्स क्लाउड पूर्वाधार अन्तर्गत अहिले १७० वटा भर्चुअल मसिनहरू (VMs) सफलतापूर्वक सञ्चालनमा रहेका छन् । यो क्लाउड पूर्वाधारमा बीआई सिस्टमका साथै राजस्व सुनिश्चितता प्रणाली (Revenue Assurance System - RAS) लगायतका अन्य महत्त्वपूर्ण एप्लिकेसनहरू पनि सञ्चालन भइरहेका छन् । यी पूर्वाधारहरूले नेपाल टेलिकमका विभिन्न व्यावसायिक तथा प्राविधिक सेवाहरूलाई आवश्यक पर्ने कम्प्युटिङ शक्ति र विश्लेषणात्मक आधार प्रदान गरेका छन् ।
कम्पनीका अनुसार यो प्रणालीको पूर्ण सञ्चालनले संस्थाको तथ्याङ्कमा आधारित निर्णय प्रक्रिया, राजस्व मूल्याङ्कन र डिजिटल रूपान्तरण अभियानलाई थप मजबुत बनाएको छ । लामो समयको पर्खाइ र ठुलो लगानीपछि सञ्चालनमा आएको यो प्रणालीले कम्पनीको व्यावसायिक कार्यसम्पादन सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ २२:२९
