close

टेकपाना समाचार प्रभाव: एनसेलले अटो रिन्युको नाममा उठाएको १ अर्ब ११ करोड ग्राहकलाई फिर्ता गर्नुपर्ने

रन्जन कोइराला रन्जन कोइराला

भदौ ४, २०७८ १६:१०

टेकपाना समाचार प्रभाव: एनसेलले अटो रिन्युको नाममा उठाएको १ अर्ब ११ करोड ग्राहकलाई फिर्ता गर्नुपर्ने

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको एक अर्ब ११ करोड रुपैयाँ तीन महिना भित्र प्रयोगकर्तालाई फिर्ता गर्नुपर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत सोमबारको बोर्ड बैठकले नियामक निकायको निर्देशन अवज्ञा गर्दै अटो रिन्यु गरिरहेको भन्दै यस्तो निर्णय लिएको हो ।

यसअघि ग्राहकको स्वीकृतिबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरी जस्ता भ्यालु एडेड सेवा तथा प्याक स्वतः नवीकरण गरेको ग्राहकले गुनासो गरेपछि पैसा फिर्ता दिने गरेको समाचार टेकपानाले सार्वजनिक गरेको थियो । उक्त समाचार र ग्राहकबाट आएको गुनासोका आधारमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले त्यसमाथि अध्ययन अनुसन्धान अगाडि बढाएको थियो ।

अध्ययनका क्रममा एनसेलले तीन दिनमा अटो रिन्यु हुने र साप्ताहिक अटो रिन्युअलका प्याकेज २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म सञ्चालन गरी कर बाहेक ११ करोड ३७ लाख आर्जन गरेको पाइएको थियो । त्यस्तै ह्वावे एप ग्यालरीको नाममा सोही अवधिमा कर बाहेक ९९ करोड ९२ लाख आम्दानी गरेको अध्ययनको निष्कर्ष थियो ।

सोही अध्ययन प्रतिवेदनकै आधारमा प्राधिकरणले गत भदौ १९ गते एनसेललाई कारबाही किन नगर्ने भन्दै पत्र काटेको थियो । त्यसपश्चात् प्राधिकरणले यही असार १७ गते पुनः यो विषयमा एनसेलसँग स्पष्टीकरण माग गरेको थियो ।

उक्त पत्रको जवाफमा एनसेलले भ्यास सेवा तेस्रो पक्षले प्रदान गर्ने सेवा भएको र ग्राहकले केवल सेवा खरिद वापतको शुल्क नगद रहित भुक्तानीका लागि मोबाइलमा भएको ब्यालेन्स उपयोग गर्ने मात्र भएको बताएको छ । ‘उक्त सेवा खरिद कार्यको सहजीकरण एवम् समन्वय गर्नका लागि मात्रै कम्पनीको मोबाइल सिम कार्डमा रहेको ब्यालेन्स प्रयोगसम्म हुने हो,’ कम्पनीले भनेको छ ।

एनसेलले प्राधिकरणको २०७५ असोज ६ गतेको पत्र पश्चात अटो रिन्यु नगरेको र पूर्व स्वीकृति लिने गरेको समेत बताएको थियो । तर अध्ययनमा भने एनसेलले अटो रिन्यु गरिरहेको र ग्राहकलाई म्यासेजमार्फत समेत जानकारी नगराएको पाइएको छ ।

यस हिसाबले कम्पनीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले कारबाही गर्ने निर्णय लिएको हो । ‘अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणको स्वीकृति नलिई त्यस्ता सेवा सञ्चालन गरेको र प्राधिकरणको निर्देशन विपरित सेवा सञ्चालन र अटो रिन्यु गरिरहेकाले एनसेल आजियाटालाई कारबाही गर्ने निर्णय गरिएको हो,’ प्राधिकरणको उक्त निर्णयमा भनिएको छ ।

ncell-techpana-news-1

प्राधिकरणले ६ बुँदामा एनसेललाई विभिन्न कारबाही गर्ने निर्णय गरेको छ । जसमा एनसेललाई २०७५ असोज ६ गतेदेखि २०७७ जेठ १८ सम्मको रकम १ अर्ब ११ करोड २९ लाखका साथै सेवा सञ्चालनमा रहको अन्तिम मितिसम्म हुन आउने रकम ग्राहकलाई उनीहरूको मोबाइल नम्बरमा फिर्ता गर्न निर्देशन दिएको छ ।

जसअनुसार एनसेलले अबको तीन महिनाभित्र उक्त पैसा ग्राहकको मोबाइलमा फिर्ता गरिसक्नुपर्ने छ । त्यसरी ग्राहकलाई फिर्ता गरेको रकमको विवरण एनसेलले हरेक महिना प्राधिकरणलाई बुझाउनु पर्नेछ ।

त्यसका साथै २०७७ जेठ १८ पश्चात अटो रिन्युको विवरण १५ दिनभित्र प्रस्तुत गर्न प्राधिकरणले निर्देशन दिएको छ । भने, अटो रिन्यु उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरित रहेको भन्दै कानुन बमोजिम ५० हजार जरिवाना गर्ने निर्णय समेत भएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१