close

खतरनाक 'नेपाली गर्ल' को सर्च अपरेसन

टेकपाना टेकपाना

माघ २८, २०७९ २२:२

काठमाडौं । अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटमा 'नेपाली गर्ल' नामको मालवेयर भाइरल छ । विशेषगरी मेसेजिङ एपमा लिङ्कमार्फत यो एपीके फैलिएको छ । गत साता जिल्ला प्रहरी परिसर ललितपुरले 'नेपाली गर्ल' नामको स्पाम लिङ्क फैलाएर ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको थियो ।

यस्तो लिंङ्कबाट नेपाल प्रहरीकहाँ आर्थिक वर्ष २०७९/८० को पुष महिनासम्म १७ जनाबाट दुई करोड आठ लाख ७ हजार ७७ रुपैयाँ बिगो ठगी भएको उजुरी आएको छ ।

यसरी ठगीमा पर्नुको प्रमुख कारण हो, हामीले अनाधिकारिक लिङ्क खोलेर एप डाउनलोड गर्नु । एप डाउनलोड गर्दैमा केही समस्या हुँदैन । तर, जब एपलाई पर्मिसन दिइन्छ, तब मात्र हामीलाई नोक्सानी हुन्छ ।

साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालका सह-संस्थापक तथा चिफ टेक्नोलोजी अफिसर निर्मल दाहाल र सोही कम्पनीका अफेन्सिभ टिम लिड निरज खरेलले उक्त एपको विश्लेषण गरेका छन् ।

टेकपानासँगको अन्तर्वातामा सीटीओ दाहालले भने, "हामी एपलाई अनावश्यक पर्मिसन दिइरहेका हुन्छौं । क्याल्कुलेटर एप इन्स्टल भएकाे छ । तर, त्यसले कन्ट्याक्टको पर्मिसन मागेको हुन्छ ।" त्यसैले अनावश्यक एप पर्मिसनमा शंका गर्नुपर्ने दाहालको भनाइ छ ।

उनका उनुसार 'नेपाली गर्ल'ले इन्स्टल भएपछि एक्सेसिबिलिटीको पर्मिसन माग्छ । यो पर्मिसन दिनासाथ एपले आफैं अन्य पर्मिसन लिने निरज खरेलको दाबी छ ।

"हामीले एक दुई ओटा पर्मिसन नदिएसम्म एपले केही गर्न सक्दैन," उनी भन्छन्, "तर, तीमध्ये एक्सेसिबिलिटीको पर्मिसन पायो भने एपले फोन आफ्नो नियन्त्रणमा लिन्छ । र, आफूले चाहे जसरी प्रयोग गर्न सक्छ ।"

फोनमा 'नेपाली गर्ल' एप इन्स्टल भएर डाउनलोड भइसकेपछि त्यसले हाम्रा हरेक गतिविधिमाथि निगरानी राखेको हुन्छ । विशेषगरी हाम्रो कन्ट्याक्ट, हामीले बोलेको आवाज, हाम्रो फोनबाट गएको कल, हामीले सेभ गरेको पासवर्ड हरेक विवरण उक्त एपको कब्जामा हुन्छ । जहाँबाट स्क्यामरले सहजै बैंक रित्याउन सक्ने उनीहरूको विश्लेषणले देखाएको छ ।

तसर्थ आफ्नो डिभाइसको आधिकारिक ठाउँ जस्तै एन्ड्रोइडका प्रयोगकर्ताले प्ले स्टोर, आईफोनका प्रयोगकर्ताले एप स्टोर, ह्वावेका प्रयोगकर्ताले ह्वावेको आधिकारिक एप स्टोरबाट एप डाउनलोड गर्नुपर्ने उनीहरूको सुझाव छ ।

यसैबीच खतरनाक बन्दै गएको नेपाली गर्ल मालवेयरबारे विस्तृत अनुसन्धान गरेका क्रिप्टाजेनका निर्मल र निरजले हामीसँग भिडिओ कुराकानी गरेका थियौं:

पछिल्लो अध्यावधिक: माघ २८, २०७९ २२:२