close

स्न्यापच्याटमा चर्चित युवतीले बनाइन् आफ्नै एआई भर्सन, प्रतिमिनेट १ डलरमा प्रेमिका बनाउन मिल्ने

टेकपाना टेकपाना

बैशाख ३१, २०८० १७:४

स्न्यापच्याटमा चर्चित युवतीले बनाइन् आफ्नै एआई भर्सन, प्रतिमिनेट १ डलरमा प्रेमिका बनाउन मिल्ने

काठमाडौं । चित्र बनाउने, किताब लेख्ने, सारांश तयार पार्ने जस्ता काम अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि अब सामान्य हुन थालिसके । एआईलाई फरक फरक प्रयोजनमा लगाउन थालिएको छ । 

त्यस्तै अहिले अमेरिकन नागरिक केरिन मार्जोरीले एआई प्रयोग गरी आफ्नो भर्चुअल रूप बनाएको विषय चर्चामा छ । उनी एक सोसल मिडिया इन्फ्लुएन्सर हुन् । २३ वर्षीया उनको स्न्यापच्याटमा १८ लाख बढी फलोअर छन् । 

उनका अहिले एक हजार बढी प्रेमी छन् । जोसँग उनी हरेक दिन १० मिनेटदेखि कयौं घन्टासम्मको समय बिताउँछिन् । 

त्यसक्रममा उनी सामान्य दैनिकीदेखि भविष्यसम्मको कुराकानी गर्छिन् । त्यस्तै प्रेमिल, यौन लगायत अन्य कुराकानी पनि गर्छिन् ।

वास्तवमा ती एक हजार प्रेमीले मार्जोरीको भर्चुअल भर्सनसँग डेटिङ गरिरहेका हुन्छन् । मार्जोरीको भिडिओ रेकर्डिङ गरेर उनको भर्चुअल भर्सन तयार पारिएको हो ।

यसका लागि च्याटजीपीटी फोरको एपीआई प्रयोग गरिएको थियो । अर्थात् एआई प्रयोग गरी मार्जोरीको भर्चुअल रूप बनाइएको थियो ।

यसका लागि केरिन एआई नामक प्लेटफर्म नै बनाइएको छ । केरिन एआईलाई एआई कम्पनी फरएभर भोइसेस नामक कम्पनीले विकास गरेको हो ।

केरिन एआईले प्रयोगकर्ताहरूसँग मान्छे जस्तै भावनात्मक सम्बन्ध गाँस्ने बताइएको छ । खासमा यो एआई एक आवाजमा आधारित च्याटबट हो । यसको आवाज र व्यक्तित्व ठ्याक्कै मार्जोरीको जस्तै छ । 

यो एआईलाई भर्चुअल प्रेमिका बनाउन सकिने बताइएको छ । त्यसैले मान्छेहरू बटसँग सम्बन्ध राख्न प्रति मिनेट एक डलर तिर्न राजी भएका हुन् ।

केरिन एआईलाई गत मे महिनाको सुरुमा टेलिग्राम एप मार्फत ‘प्राइभेट लञ्च’ गरिएको थियो । त्यसपछि उनले आफ्नो सामाजिक सञ्जालमा केरिन एआई सार्वजनिक गरेकी थिइन् । 

यसको बेटा भर्सन सार्वजनिक भएसँगै शुल्क पनि लिन थालिएको थियो । यो एआईबाट उनले अहिलेसम्म ७१ हजार ६१० डलर (करिब ९३ लाख रूपैयाँ) बढी आम्दानी गरिसकेकी छिन् । 

यसका लागि खर्च गर्ने ९९ प्रतिशत पुरुष रहेका छन् । यो एआई बनाउन मार्जोरीको दुई हजार घण्टाको भिडिओ रेकर्डिङ गरिएको थियो ।

सो भिडिओलाई फरएभर भोइसेसका डेभलपरले एआईमा परिवर्तन गर्न प्रयोग गरेका थिए । सो भिडिओ उनको आफ्नै युट्युब च्यानलमा पनि राखिएको थियो । अहिले भने सो भिडिओ हटाइएको छ । 

केरिन मार्जोरीले आफ्ना फलोअरहरूसँग धेरै नजिक भएको र ती सबैसँग प्रत्यक्ष जोडिन नसक्ने भएकाले यो अवधारणाको जन्मिएको बताएकी छिन् । त्यस्तै उनले केरिन एआईमा ‘एक्लोपन निको पार्ने’ क्षमता रहेको समेत दाबी गरेकी छिन् । 

केरिन एआई सन् २०१३ मा प्रदर्शनमा आएको ‘हर’ चलचित्रबाट प्रभावित भएको बताइन्छ । उक्त चलचित्रमा मुख्य पात्र एक अपेरेटिङ सिस्टमसँग प्रेममा परेको देखाइएको छ । यद्यपि यो एआईको क्षमता बारे भने नैतिक प्रश्नहरू उठ्न थालेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८० १७:४