भारतीय पत्रिका ‘दैनिक जागरण’ले नेपालको पक्षमा समाचार लेखेको भन्दै भाइरल फोटो नक्कली
जेठ १८, २०८३ १२:३०
काठमाडौँ । भारतीय सञ्चार माध्यम ‘दैनिक जागरण’ले नेपालले भारतको भूमि मिचेको छैन भन्दै समाचार छापेको दाबीसहित सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिर नक्कली भएको पुष्टि भएको छ । ‘नेपाल ने कभी भी इंडिया का जमीन नहीं हडपा है।’ शीर्षक राखिएको उक्त पृष्ठको फोटो एआई मार्फत एडिट गरेको पाइएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार प्रतिनिधि सभाको बैठकमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछि निम्तिएको विवादको पृष्ठभूमिमा सामाजिक सञ्जालमा यो तस्बिर अचानक भाइरल गराइएको हो ।

उक्त भाइरल तस्बिरलाई विश्लेषण गर्दा यो नक्कली भएको प्रमाणित गर्ने थुप्रै भाषागत तथा प्राविधिक त्रुटिहरू फेला परेका छन् । तस्बिरमा देखिएका त्रुटिमध्ये पहिलो मुख्य त्रुटि व्याकरण र हिज्जेसँग सम्बन्धित छ, जहाँ शीर्षकमा ‘जमीन’ हुनुपर्ने ठाउँमा ‘जमीम’ लेखिएको छ ।
स्थापित सञ्चार माध्यमको मुख्य पृष्ठको शीर्षकमै यस्तो गम्भीर त्रुटि हुनु सामान्य मानिँदैन । त्यस्तै, पत्रकारिताको स्थापित नियम विपरीत समाचारको मुख्य शीर्षकको अन्त्यमा पूर्णविराम प्रयोग गरिएको छ । यो पत्रिका १२ अप्रिल २०१६ को भनेर उल्लेख गरिएको भए तापनि सो वर्ष दैनिक जागरणले प्रयोग गर्ने आधिकारिक लोगो र यस भाइरल फोटोमा देखिने लोगो आपसमा मेल खाँदैनन् ।

यसका साथै, पत्रिकामा ‘यथा प्रदेश संस्करण’ भनी लेखिएको छ, जबकी दैनिक जागरणको यो नामको कुनै पनि संस्करण वा ब्युरो अस्तित्वमा छैन ।
यस तस्बिरको अस्वाभाविक साजसज्जाले पनि यो नक्कली भएको स्पष्ट सङ्केत गर्छ । किनभने सामान्यतया दैनिक पत्रिकाका मुख्य समाचार सोही पृष्ठमा पूरा नभई भित्री पानामा बाँकी अंश दिइएको हुन्छ । तर, यस पृष्ठमा रहेका सबै समाचार अत्यन्त छोटा छन् र ती सोही पानामै सकिएको देखाइएको छ ।
समाचारमा नेपालका प्रधानमन्त्रीको बयान भनिए तापनि ती प्रधानमन्त्रीको नाम कतै खुलाइएको छैन । त्यसैगरी, भाषामा एकरूपता नहुँदा समाचारमा कतै ‘भारत’ त कतै ‘इंडिया’ शब्द प्रयोग गरिएको छ । समाचारमा नेपाल र भारतको जुन नक्सा देखाइएको छ, त्यो अत्यन्त साङ्केतिक र अस्वाभाविक रहेको छ । जबकी सीमा विवाद जस्तो संवेदनशील विषयमा राष्ट्रिय स्तरका सञ्चार माध्यमले यस्तो त्रुटिपूर्ण नक्सा प्रयोग गर्दैनन् ।
विभिन्न डिजिटल सञ्चार माध्यम र प्राविधिक विश्लेषणका साथै ओपन एआई टुलको ‘सिन्थ आईडी’ मार्फत जाँच गर्दा समेत यो फोटो डिजिटल रूपमा तोडमोड गरी तयार पारिएको अर्थात् नक्कली सामग्री भएको पुष्टि भएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ १२:३०
