close

सरकारी डेटा सेन्टरको सर्भर नै उडेको आशंका

शिव बस्नेत शिव बस्नेत

असार ६, २०८० १९:६

सरकारी डेटा सेन्टरको सर्भर नै उडेको आशंका

काठमाडौं । नेपाल सरकारको एकीकृत डेटा सेन्टर जीआईडीसीको सर्भर डिलिट भएको आशंका गरिएको छ । मंगलबार साँझ साढे ७ बजेदेखि जीआईडीसीमा होस्ट भएका सम्पूर्ण सरकारी वेबसाइट र अनलाइन सिस्टम डाउन भएका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले विद्युत आपूर्तिमा समस्या देखिँदा डेटा सेन्टरको सेवा अवरुद्ध भएको प्रस्टीकरण दिइरहँदा सुरक्षा जानकारहरूले सर्भर डिलिट भएका कारण ब्याकअप डेटाबाट ढिला गरी वेबसाइट सञ्चालनमा आएको आशंका गरेका छन् ।

साइबर सुरक्षा अनुसन्धानकर्मी विजय लिम्बू सरकारी वेबसाइट १६-१७ घण्टासम्म नचल्नुलाई देशकै ठूलो साइबर दुर्घटना मान्छन् । उनी भन्छन्, ''देशकै ठूलो र राष्ट्रिय डेटा सेन्टरले ब्याट्री तातिएर सेवा अवरुद्ध भयो भन्नु सरकारको असफलता हो । यो जस्तो लज्जास्पद कुरा अरु हुन सक्दैन ।''

डेटा सेन्टर नियमित अवस्थामा ल्याउँदा डोमेन नेम सिस्टम (डीएनएस) सर्भर डिलिट भएको र ब्याकअप डेटाबाट सर्भर अप गरिएको हुनसक्ने उनकाे भनाइ छ । 

लिम्बूका अनुसार वेबसाइटहरूको सर्भर राति साढे ११ बजेदेखि अप भइरहेको थियो । तर त्यतिबेला कुनै पनि वेबसाइट खुलेका थिएनन् ।

''सर्भर अप हुने बित्तिकै नेपाल प्रहरीको वेबसाइटमा ‘अन्डर मेन्टेनेन्स’ भन्ने पेज देखियो । त्यसको आधा घण्टापछि मात्रै मेन वेबसाइट खुल्यो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा पनि उबुन्टु सर्भरकाे पेज देखियो, त्यसको दुई घण्टापछि मात्रै मेन वेबसाइट खुल्यो । अन्य वेबसाइट पनि एकैपटक खुलेनन् । सबैभन्दा पछि बुधबार 'नेपाल डट जीओभी डट एनपी' वेबसाइट खुल्याे । यसरी हेर्दा एनआईटीसीले एक/एक गर्दै ब्याकअप डेटाले वेबसाइट पूर्वअवस्थामा ल्याएको हो कि भन्ने देखिन्छ,'' उनले भने ।

उनका अनुसार जीआईडीसीमा होस्ट भएका केही वेबसाइटहरू राति २-३ बजेपछि खुल्न थालेको र ५० प्रतिशत साइटहरू बिहान खुलेका थिए । पूर्ण रूपमा सबै वेबसाइटहरू २ बजेपछि मात्रै खुलेकाे उनी बताउँछन् ।

एनआईटीसीले सबैको डीएनएस सर्भर एउटै हो भनेपनि मंगलबारको घटनामा केही वेबसाइटहरूको डीएनएस रेकर्ड क्लियर भएको लिम्बूको दाबी छ ।

''आईपी र डोमेन बीचमा कन्भर्ट गर्न डोमेन नेम सर्भर राख्नुपर्छ,'' उनले भने, ''त्यसमा ' नेपाल डट जीओभी डट एनपी', 'आईआरडी जीओभी डन एनपी' र अरू ८-१० ओटा वेबसाइटको डीएनएस रेकर्ड नै गायब देखिएको थियो ।'' अरु साइटको डीएनएस रेकर्ड भएपनि यी वेबसाइटको रेकर्ड क्लियर भएकाले शंका गर्न सकिने उनको तर्क छ ।

डीनएस सर्भर नै पूर्ण रूपमा डिलिट भए मात्र डीएनएस रेकर्ड गायब हुने उनी बताउँछन् ।

''पावर (बिजुली) ले गर्दा सर्भर डाउन गरेर अप गर्दा यति लामो समय लाग्नु नपर्ने बताउँदै उनले सर्भर पूर्ण रूपमा वाइपआउट (wipeout) गरेर 'रि ब्याकअप' गरिएको हुनसक्ने धारणा राखे । ''बिजुली आएर सर्भर अप हुने काम त साढे ११ बजेपछि भएको हो । तर त्यत्रो समय सर्भर अप गर्न लाग्याे भन्नुमा अन्य कारण बताइएकाे छैन । पावरको कारणले गर्दा हो कि अन्य कारणले, त्यसबारे स्पष्ट जानकारी दिनुपर्छ,'' उनले भने ।

एकैपटक हुनुपर्ने ठाउँमा एक/एक वेबसाइट गरेर सर्भर अप गर्दा त्यो शंका गर्ने आधार रहेको उनको भनाइ छ ।

एनआईटीसीले भने विद्युतबाट सिर्जित समस्याबाहेक अन्य कुनै कारणले डेटा सेन्टर अवरुद्ध नभएको दाबी गरेको छ । केन्द्रका उपनिर्देशक एवं प्रवक्ता सफल श्रेष्ठले लामो समयसम्म जेनेरेटर चलाउँदा पावर केबलमा समस्या आएको बताए ।

मंगलबार बिहानदेखि नै विद्युत आउने, जाने भएको र दिउँसो सिंहदरबारस्थित विद्युत प्राधिकरणको केथ्री सबस्टेसनकाे ट्रान्स्फर्मरमा रहेकाे बसबार शर्ट सर्किट भई विस्फाेट हुँदा लामाे समयसम्म जेनेरेटर चलाएर डेटा सेन्टर सञ्चालन गरिएपनि ब्याट्री धेरै तातिएपछि सेवा बन्द गर्नुपरेकाे उनकाे भनाइ छ । 

''पावर (बिजुली) को इस्यु चैं समाधान भयो,'' उनले भने, ''सर्भर बुट गरेर नेटवर्कलाई मिलाउन समय लाग्छ । पावरको इस्यु भएपनि बुट हुँदा हार्ड डिस्कमा समस्या आउने, सर्भरको पावरमा समस्या आउने लगायत हुन सक्छ । बत्ती आउने बित्तिकै सर्भरले काम गर्दैन । फङसनमा आउन टाइम लाग्छ, सबैलाई एक-एक गरी हेर्नुपर्छ ।'' 

सुरुमा अध्यागमन विभाग, आन्तरिक राजस्व हुँदै विस्तारै विस्तारै अन्य वेबसाइट सुचारू गरिएको उनले बताए । जीआईडीसीमा कोलोकेसन सर्भर राखेका कार्यालयहरूले भने बुधबार बिहान आफैं आएर समाधान गरेको उनको भनाइ छ ।

सर्भर नै उडेर पछि ब्याकअपबाट वेबसाइट चलाएको भन्ने कुरालाई भने प्रवक्ता श्रेष्ठले अस्वीकार गरे । ''त्यस्तो होइन । भएको भए भन्थ्यौँ । हामीले किन लुकाउँथ्यौ र ! हिजोको केस विद्युतकै कारणले सुरु भएको हो । डेटा सेन्टरकाे सर्भर उडेको होइन,’ उनले भने । 

जे भएपनि यसलाई ठूलो 'साइबर इन्सिडेन्ट' मान्न सकिनेमा उनको स्वीकारोक्ति थियो । ‘यसअघि पनि यस्तो केस नआएको होइन । दुई वर्षअघि त्यतिबेला हामीसँग सानो जेनेरेटर (७४० किलोवाट)को थियो, १५-२० मिनेटभन्दा बढी समय बत्ती गयो भने आफैं बन्द हुन्थ्यो, नयाँ जेनेरेटर आएपछि त्यस्तो समस्या आएको थिएन,'' उनले भने । 

साथै उनले १६-१७ घण्टासम्म डेटा सेन्टर बन्द नभएको पनि दाबी गरे । ''तीन घण्टा पूरै डाउन भएकाे हाे । त्यसपछि अध्यागमन विभागको वेबसाइट केही समयमै फर्काइयो । अनि, एकपछि अर्को गर्दै समाधान गरिएको हो,'' उनले भने, ''बत्ती आउनासाथ यूपीएस चार्ज हुन दिनुपर्छ । बिजुली अप/डाउन हुँदा फेरि सर्भर डाउन हुनसक्छ ।'' 

यता निजी स्तरमा डेटा सेन्टर व्यवसाय चलाइरहेका एक्सेस वर्ल्ड प्रालिका प्रबन्ध निर्देशक किशोर पन्थले सरकारी डेटा सेन्टर चलाउने जिम्मा पाएका व्यक्तिहरू जिम्मेवार नभएको र काम गरेर देखाउनु पर्ने निकायलाई निकम्मा बनाएको धारणा राख्छन् ।

''जीआईडीसी त्यहाँ किन राखेको हो, त्यहीँकै मान्छेलाई थाहा छैन । नेतृत्व तहमा आएकाहरूलाई डेटा सेन्टरको 'डी' पनि थाहा छैन । अनि कसरी राम्रो काम होला ?,'' उनले प्रश्न गरे ।

एनआईटीसीलाई यसअघि भ्रष्टाचार गर्ने भाडाे बनाइएको र डेटा सेन्टर चलाउनुपर्छ, काम गर्नुपर्छ भनेर कुनै नेतृत्वले आशा नदेखाएको पन्थको बुझाइ छ ।

''हामीले त निजी तवरबाट एउटा स्केलमा काम गरिरहेका छौं,'' पन्थले भने, ''हाम्रोमा १२ घण्टा होइन, चौबिसै घण्टा बत्ती आएन भने पनि डेटा सेन्टर बन्द हुँदैन । १६-१६ घण्टासम्म लोडसेडिङ हुँदा पनि हामीले डेटा सेन्टर चलाएकै थियौं । तर त्यत्रो स्रोत भएको सरकारी डेटा सेन्टर बिजोग छ । सेवाग्राहीको डेटामाथि खेलवाड भइरहेको छ,'' उनले भने ।

अर्कोतर्फ बिजुली आपूर्तिमा समस्या भए हेटौंडाको डिजास्टर रिकभरी सेन्टरमार्फत किन सेवा पूर्ववत् अवस्थामा ल्याइएन र लामाे समय लगाइयाे भन्दै उनले प्रश्न गरे ।

पछिल्लो अध्यावधिक: असार ७, २०८० ११:१३