close

सानिमा बैंकले ल्यायो अनलाइन बैंक ग्यारेन्टी सेवा

टेकपाना टेकपाना

साउन ११, २०८० ११:१७

सानिमा बैंकले ल्यायो अनलाइन बैंक ग्यारेन्टी सेवा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवा ल्याएको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् ।

यसपछि बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले ईमेल मार्फत पाउने बैंकले जनाएको छ । उक्त सूचना प्राप्त गरेपछि सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ ।

आवेदनमा कुनै समस्या भएमा, कारणसहित ईमेल मार्फत समयमै सूचना पठाइने बैंकले जनाएको छ । यस प्रविधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ । 

के हाे बै‌क ग्यारेन्टी ?

बैंक ग्यारेन्टी बैंक, हिताधिकारी र ग्राहकबीच हुने त्रिपक्षीय सम्झौता हो, जसमा हितकारी (Beneficiary) लाई भुक्तानीको सुनिश्चितता गराउन बैंक, ग्यारेन्टी (जमानत) को लिखत जारी गराई माग्ने पक्ष (ग्राहक) र हिताधिकारीबीच सम्झौता हुन्छ ।

बैंकले हिताधिकारीलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ । सो वापत बैंकले ग्यारेन्टी जारी गर्न माग गर्ने पक्ष (ग्राहक) बाट निश्चित कमिसन लिन्छ ।

उदाहरणका लागि एक जना व्यापारी राम छ, जो अर्को व्यापारी श्यामसँग कारोबार गर्दैछ । यस्तोमा रामले श्यामबाट सामान पाइसकेपछि पैसा नदिने हो कि डर श्यामलाई भइरहन्छ । त्यस्तै रामले सामानका लागि पहिले नै श्यामलाई एड्भान्स दियो । तर, पछि सामान नआउने हो कि भन्ने डर रामलाई हुन्छ ।

यस्तोमा दुई पक्षबीच मध्यस्तकर्ताको भूमिका बैंकले निर्वाह गर्छ । बैंकले लिखित रूपमा तीन पक्षबीच गर्ने एक सम्झौता नै बैंक ग्यारेन्टी हो । बैंक ग्यारेन्टीको लिखत बमोजिमको रकम हिताधिकारीको माग बमोजिम बैंकले भुक्तानी गरेपछि उक्त रकम बैंकले कर्जामा परिणत गरी बैंक ग्यारेन्टी लिखत गरिदिनेबाट ग्यारेन्टी रकम तथा सो को ब्याज असुल उपर गर्छ ।

बैंक ग्यारेन्टीको प्रकृति, प्रक्रिया र उद्देश्यका आधारमा बैंक ग्यारेन्टी विभिन्न प्रकारको हुन्छ । यसमा फाइनान्सियल ग्यारेन्टी, फर्फमेन्स ग्यारेन्टी, डिफर्ड पेमेन्ट ग्यारेन्टी, अर्नियस्ट ममओ डिपोजिट बैंक ग्यारेन्टी, सेक्युरिटी बैंक ग्यारेन्टी, एड्भान्स बैंक ग्यारेन्टी पर्छन् ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १३:४७