close

बाइक/स्कुटर चोरी भए तत्काल प्रहरीलाई सूचना दिने जीपीएस प्रविधि ‘लोकोमो’, कसरी गर्छ काम ?

टेकपाना टेकपाना

साउन २६, २०८० १८:२७

बाइक/स्कुटर चोरी भए तत्काल प्रहरीलाई सूचना दिने जीपीएस प्रविधि ‘लोकोमो’, कसरी गर्छ काम ?

 

काठमाडौं । मोटरसाइकलको चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसहित जीपीएस प्रविधिमा आधारित ’लोकोमो’ एप नेपाली बजारमा प्रवेश गरेको छ ।

पछिल्लाे समय दैनिक पाँच ओटासम्म दुई पाङ्ग्रे सवारीसाधन हराइरहेको प्रहरीकाे तथ्याकं छ । यस प्रविधिको मुख्य विशेषता मोटरसाइकल चोरीसम्बन्धी सूचना प्रहरीलाई दिनु रहेको कम्पनीकाे भनाइ छ ।

कुनै पनि ठाउँमा सवारी राखेर जान परे लोकोमो मोबाइल एपबाट ’स्मार्ट लक’ गर्न सकिने, अनधिकृत व्यक्तिले मोटरसाइकल चोर्न नसक्ने, चाेरी हाले एपबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने र मोबाइलमा हेरेरै आफ्नो सवारीसाधनको लोकेसन पत्ता लगाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लोकोमोले कसरी गर्छ काम ?

कुनै अनधिकृत व्यक्तिले कतै राखेको मोटरसाइकल चलाउन खोजेमा, तार काटेमा अथवा चोरी गर्ने प्रयास गरेमा यसमा रहेको सेन्सर सक्रिय भएर सवारी धनीलाई सूचना पुग्छ । चोरी भएको निश्चित भए सवारी धनीले मोबाइलबाटै नेपाल प्रहरीलाई मोटरसाइकलको लाइभ लोकेसन जानकारी गराउन सक्छन् ।

त्यसपछि नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्र्याक गरी कुन रुटमा, कति गतिमा गुडिरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने जनाइएको छ ।

मोटरसाइकल धनी आफैंले चोरी भएको आफ्नो सवारीको लोकेसन प्रहरीलाई नदिँदासम्म भने प्रहरीले कुनै पनि मोटरसाइकल तथा स्कुटरको लोकेसन हेर्न भने सक्दैनन् ।

अन्य विशेषता

रात्रिकालीन यात्रा गर्नेका लागि यसमा ’सेप्टी नेट’ नामक फिचर छ । यसबाट रातको समयमा यात्रा गर्ने चालकले आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सक्नेछन् । त्यस्तै यो प्रविधिको मद्दतबाट अभिभावकले आफ्ना परिवारका सदस्यको दिनभरको गति, गन्तव्य, रुट हेर्न सक्नेछन् ।

यीसँगै यात्रा गर्दा मोटर साइकल अथवा स्कुटर बिग्रिए एपबाट नै आफ्नो सबैभन्दा नजिकै रहेको वर्कशपबाट प्राविधिक बोलाउन सकिन्छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटर साइकल, स्कुटर र चार पाङ्ग्रे सवारीमा जडान गर्न सकिने विज्ञप्तिमा लेखिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८० १८:२७