close

२२ वर्षे नेपाली युवाले बनाएको मोबाइल एप ७० लाखमा बिक्री

सञ्जीवन राई सञ्जीवन राई

मंसिर २८, २०८० १२:५०

२२ वर्षे नेपाली युवाले बनाएको मोबाइल एप ७० लाखमा बिक्री

काठमाडौं । एक नेपाली युवा डेभलपरले बनाएको मोबाइल एप करिब ७० लाख रुपैयाँमा बिक्री भएको छ । बर्दिया बाँसगढी-५ का कर्णबहादुर बुढा क्षेत्रीले बनाएकाे एन्ड्राेइड एप पिक अप लाइन्स - फ्लर्ट मेसेजेज् (Pickup Lines- Flirt Messages) हालै याे रकममा बिक्री भएकाे हाे ।

क्षेत्रीले इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई ५३ हजार डलर (करिब ७० लाख रुपैयाँ)मा याे एप बेचेका हुन् । उनका अनुसार यो एपले साथीभाइ/आफन्तसँग मिठा, रमाइलो, सम्झनलायक कुराकानी गर्न सहयोग गर्छ । यसका लागि एपमा पिकअप लाइनहरूको संग्रह राखिएको छ ।

एन्ड्रोइड ५.१ भन्दा माथिको भर्सनमा चल्ने यो एपलाई कर्णले गत वर्ष अर्थात् २०२२ नोभेम्बर महिनामा गुगल प्ले स्टोरमा अपलोड गरेका थिए । तर छोटो समयमा नै एपलाई धेरैले मन पराएपछि डाउनलोड सङ्ख्या पनि ह्वात्तै बढेको उनले सुनाए । 

एपभित्र चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका पिकअप लाइन रहेका छन् । जसलाई सजिलै कपि गरेर एसएमएस, ईमेल अथवा मेसेन्जरमा प्रयोग गर्न सकिने उनले जनाए । एप खरिद गर्ने इजरायली कम्पनी राउन्ड्स एआईले अक्टोबर महिनामा उनलाई खरिदको प्रस्ताव पठाएकाे उनले बताए ।

“विशेष गरेर अफ्रिका र युरोपका प्रयोगकर्ताहरू एपमा बढिरहेका थिए । आम्दानी क्रमश: बढिरहेको थियो,” उनले अगाडि भने, “सोही समयतिर राउन्ड्स एआईले २५ हजार डलरमा एप किन्ने प्रस्ताव गर्‍याे ।”

एप खरिदको प्रस्ताव आएपछि स्क्याम जस्तो लागेर कम्पनीबारे अध्ययन गरेको र पछि वास्तविक भएको पत्ता लागेपछि छलफल अगाडि बढाएको कर्णले सुनाए । “एपलाई ८ लाख बढीले डाउनलोड गरिसकेका थिए । त्यस्तोमा किन्छुभन्दा शंका लागेको थियो । पछि कम्पनीबारे अध्ययन गरेपछि ढुक्क भएँ । अनि खरिदबिक्री सम्बन्धीको कुरा अगाडि बढ्यो,” उनले भने । 

त्यसपछि केही समयको कुराकानीमा राउन्ड्स एआई ५३ हजार डलर (करसहित) मा एप खरिद गर्न १४ नोभेम्बर (कात्तिक २९) मा राजी भएको उनले बताए ।

“मैले जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गरेर यो एप बनाएको थिएँ । एपको डाउनलोड अर्ग्यानिक (विज्ञापन नगरी प्राप्त भएको) थियो । एपको विज्ञापनमा लगानी शून्य थियो । एपमा कुनै कानूनी समस्या थिएन । रेभेन्यू दिनानुदिन बढिरहेको थियो । एप बिक्री गर्नुभन्दा एक महिना अगाडिको तुलनामा दुई गुणाले आम्दानी बढेको थियो । यिनै कारण मेरो एप त्याे कम्पनीले किनेको हुन सक्छ,” उनले भने ।

अहिले उनले एप इजरायली कम्पनीलाई हस्तान्तरण गरिसकेका छन् । साथै डिसेम्बर ८ (मंसिर २२) सम्ममा एप बेचेबापतको पैसा उनले पाइसकेका छन् । एप खरिद गर्ने कम्पनीले एप किनबेच गरिरहने भएकाले केही समय लागेको उनले सुनाए । 

हाल कर्ण ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा तेस्रो वर्षमा अध्ययनरत छन् । एसईईपछि सीटीईभीटीको तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेका उनी २०२० देखि एन्ड्रोइड एप डेभलपमेन्टमा लागेका थिए । सोही समयमा अर्को साथीसँग मिलेर ‘काकी डेभलपर’ मार्फत एप बनाउँथे । केही कारणवश साथी छुट्टिए । तर उनले सोही नाममार्फत एप बनाउने र प्ले स्टोरमा अपलोड गरिरहे ।

अहिलेसम्म उनले प्ले स्टोरमा दुई दर्जन बढी एप अपलोड गरिसकेका छन् । उनी नेपाकाे प्रविधि क्षेत्रमा योगदान दिने सोचमा छन् । यसअघि फ्रिल्यान्सिङ प्लेटफर्म अपवर्कमा समेत सक्रिय उनी विदेश जानुनपर्ने, बरु नेपालमै काम गरेर आम्दानी गर्न सकिने धारणा राख्छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८० १४:७