close

जोडी खोज्न सघाउने ‘बिहे नेपाल’ मा सबै शार्कको संयुक्त १ हजार रुपैयाँ लगानी

टेकपाना टेकपाना

साउन ९, २०८२ ९:१४

जोडी खोज्न सघाउने ‘बिहे नेपाल’ मा सबै शार्कको संयुक्त १ हजार रुपैयाँ लगानी

काठमाडौँ । टेलिभिजन रियालिटी शो शार्क ट्याङ्क नेपालमा म्याट्रिमोनियल एप ‘बिहे नेपाल’ले हालसम्मकै कम लगानी पाएको छ । बुधबार हिमालयन टेलिभिजनमा प्रसारण भएको एपिसोडमा कम्पनीका संस्थापक दिदीबहिनी श्रेया र श्रद्धा कटुवालले कम्पनीको एक लाख मूल्यांकन गर्दै एक प्रतिशत इक्विटीमा एक हजार लगानी प्रस्ताव गरेका थिए ।

एप सञ्चालनका क्रममा अनुभवी व्यक्तिको सहयोग खोज्दै उनीहरूले सांकेतिक रूपमा उक्त रकम मागेका हुन् । उक्त प्रस्ताव स्वीकृत गर्दै पाँचै जना शार्कले कम्पनीमा संयुक्त रूपमा एक हजार रुपैयाँ लगानी गरेका हुन् ।

आमाको आइडियालाई स्टार्टअपको स्वरूप दिँदै कटुवाल दिदीबहिनीले १२ फागुन २०७८ मा ‘बिहे नेपाल’ सार्वजनिक गरेका थिए । हालसम्म उक्त एप एक लाख ५५ हजारभन्दा धेरै पटक डाउनलोड भइसकेको छ । ५० लाखभन्दा बढी म्याच रिक्वेस्ट र प्रयोगकर्ताबिच ८० हजारभन्दा धेरै कुराकानी प्रयोगकर्ताले एपमार्फत गरेको बताइएको छ ।

नेपालसहित १२० भन्दा बढी देशमा रहेका नेपालीहरूले यो एपको प्रयोगमार्फत आफ्नो पार्टनरहरू खोज्न सक्छन् ।

अधिकांश नेपालीले अझै पनि मागी बिहे गर्ने भएकाले यो एपको प्रयोग गरेर आफूले चाहेजस्तो जीवनसाथी खोज्न सकिने उनीहरूले बताएका छन् । यो एपमा महिलाहरू डेटिङ साइटमा जान सहज महसुस नगर्ने अवस्थालाई बुझेर प्रयोगकर्ताको गोपनियतामा विशेष ध्यान दिइएर तयार गरिएको बताइएको छ । प्रयोगकर्तालाई आफ्नो फोटो ब्लर गर्न सक्ने सुविधा दिइएको छ । आफूले सहज महसुस गरेपछि म्याच भएको पार्टनरलाई मात्र फोटो देखाउन सकिने विकल्प प्रयोग गर्न पाउँछन् ।

क्याटफिसिङ र फेक प्रोफाइलबाट बच्न एपमा प्रोफाइल बनाउने क्रममा फेस रिकग्निसनलाई अनिवार्य गरिएको छ ।

ब्लाइन्ड डेट फिचर पनि एपमा राखिएको छ । यो फिचर प्रयोगकर्ताको रुचिसँग मिल्दो व्यक्तिसँग म्याच गरेर आफ्नो पहिचान नै नखुलाएर कुराकानी गर्नेछ । एक अर्कासँग कुराकानी गर्दा थप कुरा गर्न रुचाएमा एक अर्काको पहिचान खुलाउन सक्नेछन् । कुराकानी चित्त नबुझेमा एक अर्कासँग परिचय नै नखुलाइ कुराकानी बन्द गर्न सक्छन् ।

कुण्डली मिलान गर्ने सुविधा पनि एपमा उपलब्ध छ । यसमा एक अर्कासँग कुण्डली शेयर नगरी कुण्डली मिल्छ कि मिल्दैन थाहा पाउन सकिन्छ । यस एपमा लैङ्गिक अल्पसंख्यक (LGBTQIA+) समुदाय र सम्बन्धविच्छेद भएका व्यक्तिहरूका लागि पनि सुविधा उपलब्ध छ ।

यो एपका सबै फिचर महिलाका लागि निःशुल्क उपलब्ध छन् भने केही फिचर पुरुषका लागि सशुल्क उपलब्ध छन् ।

कम्पनीकी सहसंस्थापक श्रद्धाका अनुसार हाल बिहे नेपालका ७० हजारभन्दा बढी प्रयोगकर्ता छन् । पछिल्लो समयमा नयाँ भर्सन ल्याउनमा ध्यान दिँदा बिहे नेपाल एप सञ्चालन भए पनि खासै प्रयोगकर्ताले चलाइरहेका थिएनन् । हाल भने नयाँ अपडेट भएको भर्सनसहित एप सक्रिय रहेको उनले बताइन् ।

गत जुनदेखि नयाँ फिचरसहितको बिहे नेपाल २.० भर्सन ल्याइएको हो । अहिले बिहे नेपालको बजारकरणमा ध्यान दिइरहेको उनले सुनाइन् । “नयाँ भर्सनमा अहिले एक्टिभ युजर १० हजार हुनुहुन्छ ।” शार्क ट्याङ्क नेपालको पछिल्लो एपिसोड सार्वजनिक भए यता नै पाँच हजार सक्रिय प्रयोगकर्ता थपिएको उनले सुनाइन् ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८२ ९:१४