close

एप्पलले विद्युतीय कार उत्पादन नगर्ने, निकाल्यो ६०० कर्मचारी

टेकपाना टेकपाना

चैत २४, २०८० ११:५०

एप्पलले विद्युतीय कार उत्पादन नगर्ने, निकाल्यो ६०० कर्मचारी

काठमाडौं । एप्पलले आफ्ना ६०० कर्मचारीलाई कामबाट हटाएको छ । विद्युतीय कार र इन-हाउस रूपमा स्मार्टवाच डिस्प्ले बनाउने निर्णय रद्द गरेपछि एप्पलले ठूलो संख्यामा कर्मचारी कटौती गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गका अनुसार एप्पलले गत फेब्रुअरी र मार्चमा गरी ‍सो संख्या बराबारको कर्मचारी कटौती गरेको हो । जसमध्ये ८७ जना स्मार्टवाचको डिस्प्ले बनाउने र बाँकी रहेका एप्पल कार परियोजनामा संलग्न थिए ।

एक दशकको अनुसन्धान र अरबौं डलरको लगानी रहेको कार परियोजना एप्पलले दुई महिनाअघि मात्रै बन्द गर्न थालेको थियो । 

एप्पलको कार परियोजनालाई 'प्रोजेक्ट टाइटन'का नामले समेत चिनिन्थ्यो । यसबारे पहिलो पटक सन् २०१४ मा खबर बाहिरिएको थियो । तर विभिन्न समयमा यसबारे हल्ला आउने बाहेक वास्तविक उत्पादन आउन सकेन । यस परियोजनामा धेरै जनशक्ति र बजेट खर्च भएको थियो । 

त्यस्तै एप्पल वाचको लागि इन-हाउस डिस्प्ले विकास गर्ने आन्तरिक योजना पनि एप्पलले बन्द गरेको हो । आफ्ना प्रविधिहरू इनहाउस बनाउने उद्देश्य अनुरुप एप्पलले स्मार्टवाचको डिस्प्लेको परियोजना थालेको थियो । यस परियोजनमा तुलनात्मक रुपमा थोरै कर्मचारी थिए । हुन त एप्पलले स्मार्टवाचको डिस्प्ले आफुअकनुकूल तयार पार्ने गर्छ । तर ती एलजी र सामसङको डिजाइनमा आधारित छन् । यस परियोजनाबाट एप्पलले पातलो, रङ्गिन र चम्किलो डिस्प्ले बनाउन खोजेको थियो ।  

यी दुवै परियोजना एप्पलले गोप्य रुपमा गरिरहेको थियो । यी सँग सम्बन्धित कर्मचारी निष्कासन गरेको पुष्टि क्यालिफोर्निया रोजगार विकास विभागको रिपोर्टले पनि गरेको छ ।

त्यस्तै यी परियोजनासँग सम्बन्धित बाँकी रहेका अन्य कर्मचारीहरूलाई एप्पलले आफ्नो जेनेरेटिभ एआई परियोजनामा ल्याएको पनि बताइएको छ । हाल एप्पलले आफ्ना उत्पादनहरूमा एआई ल्याउन निकै प्रयास गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८० ११:५९