close

मेटाको एआईलाई हाइज्याक गरेर ह्याकरले यसरी हत्याए बाराक ओबामासहितका सयौं इन्स्टाग्राम अकाउन्ट

टेकपाना टेकपाना

जेठ १९, २०८३ १५:६

मेटाको एआईलाई हाइज्याक गरेर ह्याकरले यसरी हत्याए बाराक ओबामासहितका सयौं इन्स्टाग्राम अकाउन्ट

काठमाडौँ । ह्याकरले मेटाको एआई सपोर्ट च्याटबटलाई झुक्याएर कैयौं इन्स्टाग्राम अकाउन्ट कब्जा गरेको घटना बाहिरिएको छ । सुरक्षा अनुसन्धानकर्ताले यो कमजोरी बाहिर ल्याएपछि मेटाले सोमबार यस समस्याको समाधान भइसकेको पुष्टि गरेको छ ।

४०४ मिडिया’ नामक प्रविधि सम्बन्धी सञ्चार माध्यमका अनुसार यस साइबर आक्रमणको चपेटामा बाराक ओबामा अमेरिकी राष्ट्रपति हुँदाखेरिको अकाउन्ट (@ObamaWhitehouse), कस्मेटिक ब्रान्ड सेफोरा र अमेरिकी स्पेस फोर्सका चिफ मास्टर सार्जेन्टका अकाउन्ट परेका छन् ।

साथै कैयौँ सर्वसाधारण प्रयोगकर्ताले पनि गत साताको अन्त्यतिर रेडिट र एक्समार्फत आफ्ना अकाउन्ट यसैगरी ह्याक भएको गुनासो गरेका थिए ।

सुरक्षा अनुसन्धानकर्ता र ह्याकिङ समूहले टेलिग्राम तथा एक्समा अकाउन्ट कसरी ह्याक गरियो भन्ने भिडिओ र स्क्रिनशट‍ शेयर गरेका छन् । सार्वजनिक भएको एक भिडिओमा ह्याकरले मेटाको एआई असिस्टेन्टलाई लक्षित अकाउन्टमा नयाँ ईमेल एड्रेस लिङ्क गर्न प्रम्प्ट दिएको देखिन्छ ।

एआई बटले उक्त नयाँ ईमेलमा भेरिफिकेसन कोड पठाइएको जानकारी दिँदै च्याट इन्टरफेसमा सो कोड राख्न आग्रह गर्छ । ह्याकरले नयाँ ईमेलमा आएको कोड राख्नासाथ एआई बटले पासवर्ड रिसेट गर्ने बटन उपलब्ध गराउँछ । बाहिर आएकामध्ये एक भिडिओमा ह्याकरले सुरक्षा प्रणालीलाई छल्न र वास्तविक अकाउन्टधनीकै लोकेसन देखाउन भीपीएन प्रयोग गरेको देखिएको छ ।

मेटाले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो समस्या समाधान भइसकेको छ, हामी प्रभावित अकाउन्टलाई सुरक्षित बनाउँदैछौँ ।” यद्यपि यस कमजोरीका कारण कति अकाउन्ट ह्याक भएका थिए भन्ने स्पष्ट संख्या कम्पनीले खुलाएको छैन ।

मेटाले पछिल्लो समय आफ्ना कर्मचारीको कार्यशैलीलाई एआई-केन्द्रित बनाउँदै लगेको छ । र, आफ्ना प्लेटफर्ममा एआई फिचरको प्रयोग तीव्र पारेको छ ।

यसै वर्षको सुरुतिर कम्पनीले फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी रूपमा एआई सपोर्ट असिस्टेन्ट सुरु गरेको थियो । यस नयाँ फिचरको घोषणा गर्दा कम्पनीले यो एआई असिस्टेन्टले फेसबुक र भविष्यमा इन्स्टाग्राममा प्रयोगकर्ताका विभिन्न अनुरोधमा सोझै काम गर्न सक्ने बताएको थियो । ​यसअन्तर्गत स्क्याम रिपोर्ट गर्ने, नक्कली अकाउन्ट वा आपत्तिजनक सामग्रीको गुनासो गर्ने र पासवर्ड रिसेट गर्नेसम्मका सुविधा उपलब्ध गराइएको थियो ।

गत मार्चमा जारी गरिएको प्रेस विज्ञप्तिमा मेटाले भनेको छ, “मेटा एआई सपोर्ट असिस्टेन्ट हाम्रा एपमा बलियो सुरक्षा र सहयोग प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो ।”

पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ १६:४५