close

मोबाइलबाटै छोराछोरीको पढाइ प्रगति हेर्न मिल्ने मोबाइल एप सार्वजनिक

टेकपाना टेकपाना

चैत २५, २०८० २०:४१

मोबाइलबाटै छोराछोरीको पढाइ प्रगति हेर्न मिल्ने मोबाइल एप सार्वजनिक

काठमाडौं । अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने एप सार्वजनिक भएको छ । ई-लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको आफ्नो प्लेटफर्ममा जोडिएका विद्यार्थीको पढाइ प्रगति हेर्न मिल्ने गरी यस्तो एप ल्याएको हो ।

कम्पनीका अनुसार यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाइबहिनीले एपमा कति समय बसेर पढिरहेका छन्, उनीहरूको पढाइमा कति प्रगति भइरहेको छ भनेर थाहा पाउने सकिनेछ ।

त्यस्तै यो एपबाट विद्यार्थीले कति ओटा लाइभ क्लास लिए, कति ओटा छुटाए, कुनकुन परीक्षामा सहभागी भए, नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहा पाउन सकिनेछ ।

परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि मोबाइलबाट नै हेर्न पाइने कम्पनीको भनाइ छ ।

''कुनकुन विषयमा अझ मेहनत गर्नुपर्ने छ, जस्ता कुरा अत्याधुनिक एआई प्रविधिले गाइड गर्नेछ,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ, ''यस्तै प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सक्नुहुनेछ । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्कम अवस्थामा रहनुभएका अभिभावकका लागि यो एप वरदान सावित हुने हाम्रो विश्वास छ ।'' 

एम्बिसन गुरु एप डाउनलोड गर्नेको संख्या एक लाखभन्दा बढी पुगेको छ । कम्पनीले एसईई, प्लस टु, साइन्स, मेनेजमेन्टका ब्याचलर र मास्टर्स लेभलका विभिन्न विषयका परीक्षाको तयारी अनलाइनबाटै गराइरहेको छ ।

त्यस्तै लोकसेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरबन्दीका लागि खुलेका आवेदनको तयारी कक्षाका साथै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १७:४३