close

स्लिप टाइमर फिचर ल्याउँदै युट्युब, यसबाट के होला सुविधा ?

टेकपाना टेकपाना

साउन २८, २०८१ ११:६

स्लिप टाइमर फिचर ल्याउँदै युट्युब, यसबाट के होला सुविधा ?

 

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबमा ‘स्लिप टाइमर’ फिचर आउने भएको छ । युट्युबले हालै एक ब्लग प्रकाशित गर्दै स्लिप टाइमर फिचर ल्याउने घोषणा गरेको हो । 

कम्पनीका अनुसार यो फिचर २ सेप्टेम्बरभित्र उपलब्ध हुनेछ । स्लिप टाइमर भनेको प्रयोगकर्ताले आफूले चाहेको समयमा भिडिओ वा म्युजिक पज गर्न सक्ने सुविधा हो । यसमा सबैभन्दा पहिला कति समयपछि भिडिओ पज होस् भन्ने चाहनु भएको हुन्छ, त्यो छान्नुपर्ने हुन्छ । त्यसपछि निर्धारित समय पूरा भएपछि भिडिओ आफै रोकिन्छ ।  

हाल यो फिचर युट्युब प्रिमियमका केही सीमित प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाएका छन् । यदि तपाईं प्रिमियम प्रयोगकर्ता हो भने युट्युबको सेटिङमा गई स्लिप टाइमर खोजेर समय निर्धारण गर्न सक्नुहुन्छ । 

सीमित समयका लागि उपलब्ध गराइएको यस फिचरलाई कम्पनीले ‘डब्ड स्लिप टाइमर’ नाम दिएको छ । यो फिचर विश्वव्यापी रूपमा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन्छ वा हुँदैन भन्ने कुरा भने अझै स्पष्ट छैन । 

एन्ड्रोइड अथोरिटीले प्राप्त गरेको युट्युबको एपीके भर्सनमा यो फिचर उपलब्ध छ । उक्त सञ्चार माध्यमका अनुसार यो फिचर मोबाइल एप र डेस्कटप भर्सनमा प्रयोग गर्न सकिनेछ । 

हाल युट्यु‍बमा भिडिओ अटो प्ले गर्ने वा एउटा भिडिओ सकिएपछि एप बन्द गर्न सकिने सुविधा मात्र छ । आफूले चाहेको समयमै भिडिओ बन्द होस् भन्नका लागि युट्युबमा त्यस्तो उपयुक्त विकल्प छैन ।

प्रायः म्युजिक तथा भिडिओ स्ट्रिमिङ प्लेटफर्ममा यो सुविधा उपलब्ध हुन्छ । तर, युट्युबमा सबै प्रयोगकर्ताका लागि हालसम्म स्लिप टाइमरको फिचर दिइएको छैन । यो फिचर उपलब्ध भएको खण्डमा प्रयोगकर्तालाई झनै सहज हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८१ ११:७