काठमाडौं । आईफोन र आईप्याडमा अनौठो बग (सुरक्षा कमजोरी) फेला परेको छ । केही क्यारेक्टर टाइप गर्नासाथ डिभाइस अस्थायी रूपमा क्र्याश हुने समस्या देखिएको हो ।
तपाईंसँग आईफोन छ भने यो बग परीक्षण गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले एप लाइब्रेरीमा जानुहोस् । एप लाइब्रेरीको पेजमा जान स्क्रिनलाई बायाँपट्टि स्लाइड गर्नुहोस् । त्यसपछि एप लाइब्रेरीको पेजमा सर्च गर्ने अप्सन देखिन्छ ।
त्यसमा "": टाइप गरेपछि ; क्यारेक्टर टाइप गर्नुहोस् । यसपछि एप्पल डिभाइसको स्प्रिङबोर्ड इन्टरफेस अस्थायी रूपमा क्र्याश हुन्छ । र, प्रयोगकर्तालाई लक स्क्रिनमा फिर्ता पठाइन्छ ।
यस बगलाई सेटिङ एपको सर्चबार वा एप लाइब्रेरीको सर्चबारमा टाइप गर्दा डिभाइस क्र्याश हुने पाइएको छ । केही अवस्थामा डिभाइस सामान्य अवस्थामा फर्कनुअघि स्क्रिनमा कालो लोडिङ पेज देखिने गरेको पाइएको छ ।
यस बगले सुरक्षा खतरामा पार्ने सम्भावना नभए पनि प्रयोगकर्तालाई असुविधा पुर्याउन सक्ने बताइएको छ ।
हालसम्म एप्पलले यस बगबारे कुनै प्रतिक्रिया दिएको छैन । तर आगामी अपडेटमा यसको समाधान हुने अपेक्षा गरिएको छ । यसलाई तत्काल टार्न सेटिङ वा एप लाइब्रेरीको सर्च बारमा "": टाइप नगर्नु नै उपयुक्त हुन्छ ।