काठमाडौं । फुटबलर क्रिस्टियानो रोनाल्डो अहिले चर्चामा छन् । विश्वकै एक महान फुटबल खेलाडीका रूपमा दर्ज भइसकेका उनी सामाजिक सञ्जालका पनि ठूला सेलिब्रेटी हुन् ।
एक्स (पहिलेको ट्वीटर), इन्स्टाग्राम र फेसबुकमा उनका ९० करोड बढी फलोअर छन् । फेसबुक र इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर हुने व्यक्ति नै रोनाल्डो हुन् । एक्समा अर्बपति उद्यमी एलन मस्क र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामापछि रोनाल्डोले नै धेरै फलोअर पाएका छन् ।
रोनाल्डो सामाजिक सञ्जालमा कति चर्चित छन् भन्ने कुरा उनले हालै खोलेको नयाँ युट्युब च्यानलबाट पनि थाहा पाउन सकिन्छ । औपचारिक रूपमा बुधबारदेखि सञ्जालमा आएको उनको च्यानलले युट्युबमा कैयौं रेकर्ड बनाइसकेको छ ।
साउदी प्रो लिगकै सबैभन्दा महँगो खेलाडी रोनाल्डोले विभिन्न ब्रान्ड र विज्ञापन सम्झौताबाट अर्बौं रकम कमाउँदै आएका छन् । अब उनले ‘यूआर क्रिश्चियानो’ (UR Cristiano) नामक युट्युब च्यानललाई आफ्नो आयको स्रोतका रूपमा जोड्दैछन् ।
रोनाल्डोले युट्युब च्यानल सञ्चालनमा ल्याउने हल्ला थिएन । बुधबार एकाएक सुरु भएको सो च्यानलमा यो समाचार तयार पार्दासम्म १९ ओटा भिडिओ अपलोड भएका छन् । फुटबल मैदानमा ‘रेकर्ड ब्रेकर’का रूपमा चर्चित ३९ वर्षीय रोनाल्डोले अब ९० मिनेटको अवधिमा १० लाख सब्स्क्राइबर पुर्याउने पहिलो युट्युब च्यानलको रेकर्ड बनाए ।
सोसल मिडिया प्लेटफर्मबाट उनले कति पैसा कमाएका छन् भन्ने कुरा थाहा पाउन कठिन छ । तर उनले आफ्ना भिडिओहरूबाट अकल्पनीय रकम आर्जन गरिरहेको अनुमान लगाउन सकिन्छ । यो समाचार तयार पार्दा उनको च्यानलमा दुई करोड २० लाख सब्सक्राइबर पुगिसकेका छन् ।
यसो त मोनिटाइज भएको युट्युब च्यानलबाट क्रियटरले यति भ्युजबाट यति नै रकम कमाउँछन् भन्ने हुँदैन । युट्युब च्यानल कहाँदेखि सञ्चालन भएको छ अनि उसको च्यानलमा अडियन्स कुन देशबाट आएका छन् भन्ने विषयले आम्दानीमा फरक पार्छ । कम्पनीले विज्ञापन लिंदा फरक फरक देशबाट फरक फरक दरले विज्ञापन लिइरहेको हुन्छ । जसलाई सीपीआर (कस्ट पर रिच) वा सीपीएम (कस्ट पर मिल) भनिन्छ ।
त्यस्तै क्रियटरले आरपीएम (रेभेन्यु पर मिल) अर्थात् क्रियटरले हजार भ्युजबाट गरेको आम्दानीबाट कम्पनीले काटेको ५५ प्रतिशत शुल्कपछिको रकमका रूपमा आम्दानी गर्छन् । यी दुवै पक्ष देश अनुसार फरक-फरक पर्छ ।
औसतमा हेर्ने हो भने युट्युबमा १००० भ्युज बराबरमा एउटा क्रियटरले २ देखि १२ डलरसम्म कमाउन सक्छन् । यो एकल भ्यूजमा ०.००२ देखि ०.०१२ डलरसम्म आम्दानी हुन्छ । युट्युबमा १० लाख भ्युज बराबरमा क्रियटरले लगभग १२०० देखि ६००० डलर (करिब एक लाख ६० देखि आठ लाख रुपैयाँ) सम्म कमाउन सक्छन् ।
रोनाल्डोले अहिलेसम्म ४० मिलियन बढी भ्युज पाइसकेका छन् । माथि उल्लेख गरिएको तथ्याङ्कलाई आधार मान्ने हो भने रोनाल्डोले हालसम्म औसतमा एक लाख ४४ हजार डलर (करिब एक करोड ९२ लाख रुपैयाँभन्दा बढी) आम्दानी गरिसकेको देखिन्छ । तर, त्यति भ्युजमा पनि कतिले विज्ञापनसहितका भिडिओ हेरे, कति भिडिओमा विज्ञापन खुला गरिएको छ भन्ने विषयले आम्दानी निर्धारण गर्छ ।
यसबाट विज्ञापन दरको हिसाब नगर्दा पनि उनले निकै धेरै रकम कमाइरहेको आँकलन गर्न सकिन्छ ।
विज्ञापनदाताले युट्युबलाई निश्चित दरमा भुक्तान गर्छन् । जसमा क्रियटरले ४५ प्रतिशत र प्लेटफर्मले ५५ प्रतिशत पाउने गर्छन् । उनका सबै भिडिओले २० लाखभन्दा बढी भ्युज पाइसकेका छन् । अपलोड भएका १९ मध्ये तीन भिडिओले एक करोड बढी भ्युज पाइसकेका छन् । अन्य भिडिओमा पनि भ्युज बढ्ने क्रम तीव्र छ । यी सबै भिडिओमा आएको भ्युज हेर्ने हो भने रोनाल्डोले विज्ञापनबाट मात्र ठुलो रकम कमाउँदैछन् ।
युट्युबबाट गोल्डेन प्ले बटन पाइसकेपछि रोनाल्डोले आफ्नो एक्स ह्यान्डलमा एक भिडिओ पोस्ट गरेका छन् । उक्त भिडिओमा उनलाई गोल्डेन युट्युब प्ले बटन प्रदान गरिएको देखाइएको छ ।
युट्युबमा १० लाख सब्स्क्राइबर पार गर्ने युट्युब च्यानललाई सम्मान स्वरूप यो गोल्डेन युट्युब प्ले बटन दिइन्छ । यो उपलब्धि रोनाल्डोले दुई घण्टाभन्दा कम समयमा हासिल गरेका थिए । सो भिडिओमा रोनाल्डोबाहेक उनका छोराछोरी पनि खुसी भई रमाएको देख्न सकिन्छ । रोनाल्डोले फ्यानहरुलाई धन्यवाद दिँदै भनेका छन्, “सबै SIUUUbscribers लाई धन्यवाद !”
युट्युब च्यानलमा रोनाल्डो दिनमा कति पटक भिडिओ अपलोड गर्छन् भन्ने हेर्न बाँकी छ । उनले युट्युबमा पोस्ट गरेका भिडिओमा पनि अब आफ्ना समर्थकलाई उत्साहित बनाउने कन्टेन्ट ल्याउने प्रतिवद्धता दिएका छन् ।