काठमाडौं । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि एसईई र प्लसटुको नक्कली शर्टिफिकेट बनाएको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महाराजगन्ज स्थित अमेरिकन दूतावास अघिबाट उनीहरूलाई गएको शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका ८ घर भई वडा नम्बर ४ इमाडोल बस्ने ३२ वर्षीय गोमा पाण्डे रहेकी छिन् । त्यस्तै सर्लाहीको लालबन्दी १० घर भई हाल ललितपुरको महालक्ष्मी ५ टीकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा झापा अर्जुनधारा ८ घर भई हाल ललितपुर इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभा खाँदबारी ९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी ५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् । नक्कली मार्क शिट, एकेडेमिक ट्रान्सक्रिप्ट लगायतका कागजातसहित पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।