close

एप्पलको युट्युब च्यानल ह्याक: आईफोनको साटो टिम कुकले क्रिप्टो प्रचार गरेको डिपफेक भिडिओ लाइभ

टेकपाना टेकपाना

भदौ २५, २०८१ १३:३९

एप्पलको युट्युब च्यानल ह्याक: आईफोनको साटो टिम कुकले क्रिप्टो प्रचार गरेको डिपफेक भिडिओ लाइभ

काठमाडौं । सोमबार नेपाली समय अनुसार राति पौने ११ बजे एप्पल इभेन्ट सुरु हुने तयारीमा थियो । कम्पनीले उक्त कार्यक्रममा आफ्नो बहुप्रतिक्षित आईफोन १६ सिरिज घोषणा गर्ने सबै तयारी पूरा गरिसकेको थियो ।

भौतिक र अनलाइन गरी दुई तरिकाले एप्पल इभेन्ट हुने गर्छ । भौतिक कार्यक्रममा सीमित मानिसहरू मात्र हुन्छन् । भर्चुअल कार्यक्रममा भने विश्वभरका लाखौं व्यक्ति सहभागी हुन्छन् । 

कार्यक्रम लाइभ हुनु केही समयअघि एप्पलको अमेरिकाका अडियन्सका लागि केन्द्रित गरी खोलिएको युट्युब च्यानलबाट लाइभ भिडिओ प्रसारित भयो । भिडिओमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले बिटक्वाइनबारे जानकारी दिइरहेको देखिन्थ्यो ।

भिडिओमा आवाज अलि अस्वाभाविक थियो । भिडिओको अधिकांश भाग बिटकक्वाइनको प्रचारले ढाकिएको थियो । 

यसरी तोकिएको समयअघि नै एप्पलको आधिकारिक युट्युब च्यानलबाट नक्कली लाइभ भिडिओ आउँदा उक्त भिडिओ धेरैलाई वास्तविक लाग्यो । उक्त लाइभ भिडिओलाई सात लाख बढी दर्शकले हेरेका थिए । 

त्यस लगत्तै अन्य युट्युबरले युट्युब ह्याक भई त्यसबाट नक्कली भिडिओ लाइभ भइरहेको जानकारी दिए । बाहिरिएका रिपोर्ट अनुसार एप्पलको अमेरिकामा केन्द्रित युट्युब च्यानलमा प्रसारित सो भिडिओ डिपफेक प्रविधिको सहायताले तयार पारिएको भिडिओ हो ।

नक्कली भिडिओमा लिङ्क दिएर त्यसमा लगानी गर्न प्रेरित गरिएको थियो । यसबाट सयौं प्रयोगकर्ता झुक्किएर वेबसाइट भिजिट गरेको बताइएको छ । त्यसको केही समयमै उक्त भिडिओ युट्युबले डाउन गरेको थियो ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८१ १४:२७